आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

राजधानीमा साना हतियारको बिगबिगी, निर्वाचन सुरक्षामा थपियो चुनौती

बुधबार, ०८ कात्तिक २०७४, १४ : २१
बुधबार, ०८ कात्तिक २०७४


काठमाडौँ ।
घटना नम्बर १. चितवनकी सविना क्षेत्री ठमेलको सीएनआई क्लबमा नाच्दै थिइन् । क्लबमा पुगेका गोर्खाका कल्याण गुरुङ २३ वर्षीय लक्का जवान युवतीको नाच देखेर लोभिए । कात्तिक ५ गते बिहान करिब ४ बजे क्लब बन्द भएसँगै सविना बाहिरिन्, कल्याणले सविनालाई पछ्याए । 

पूर्व श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको भाञ्जा नाता पर्ने असुन गुरुङले सविनालाई आफ्नो गाडीमा राखेर ठमेलबाट म्हैपीतिर अगाडि बढे । सविनालाई पछ्याउने कल्याणको समूहले म्हैपी पुगेपछि गाडीलाई छेक्न खोजेका मात्र के थिए, असुनले आफ्नो कम्मरको पेस्तोल झिकेर फायर गरिहाले । कल्याणलाई गोली लाग्यो, असुन आफ्नो बाटो लागे । 

घटना नम्बर २. म्हैपीमा गोली चलेको करिब १० घण्टापछि नयाँबजारस्थित कृष्ण अटो वर्कसपमा लुकाइराखेको बा.५ च ९१७५ नम्बरको कारको सिटमुनिबाट २ थान गोली  भेटियो । महानगरीय प्रहरी वृत्त लैनचौरका डीएसपी दीपक पोखरेलको कमान्डमा खटिएको प्रहरी टोलीले टंकेश्वरस्थित खेतमा लुकाएको अवस्थामा १ थान पेस्तोल बरामद गर्न सफल भयो ।

घटना नम्बर ३. असोज २३ गते नयाँबानेश्वरको खरिबोटमा निर्माण महासङ्घका अध्यक्ष शरदकुमार गौचनमाथि गोली प्रहार भयो । ल्यान्डक्रुजर प्राडोमा सवार गौचनलाई गाडीको अघिल्तिरबाट दुई राउन्ड गोली हानिएको थियो । गोली लागेर गौचनको मृत्यु भयो, घट्नामा ९ एमएमको गोली प्रयोग भएको आशङ्का गरिएको छ । उक्त घटनामा प्रयोग भएको पेस्तोल अझै बरामद हुन सकेको छैन । 

घटना नम्बर ४. गौचनमाथी गोली प्रहार हुनुभन्दा करिब १५ मिनेटअघि काठमाडौँ प्रहरीले जोरपाटीबाट हतियार र केही राउन्ड गोलीसहित तीन युवलाई नियन्त्राणमा लिएको थियो । काभ्रेको रोशी नगरपालिकाका छिरिङ तामाङ, सञ्जय तामाङ र दिलिप तामाङलाई नियन्त्रणमा लिएको १५ मिनेटपछि गौचनमाथि गोली हानिएको थियो । 

घटना नम्बर ५. कात्तिक ३ गते गोंगबुको शान्ति चोकमा एउटा कटुवा पेस्तोल र एक राउन्ड गोलीसहित चार जना पक्राउ परे । पक्राउ परेका जीवन श्रेष्ठ, सुवास लामा, कुमार अधिकारी र टीका श्रेष्ठले भारतमा बनेको ‘७.६२ एमबीओ ओएफभी ३’ लेखिएको पेस्तोल बोकेका थिए ।

पछिल्लो एक महिनायता काठमाडौँ उपत्यकाभित्र प्रयोग भएका र बरामदी साना हतियारको सङ्ख्या क्रमशः बढ्दै छ । माथिल्ला ५ वटा घट्नालाई मात्र नियाल्ने हो भने पनि साना हतियारको बिगबिगी नै रहेको तथ्यलाई नकार्न सकिँदैन् । 

पछिल्लो समय साना हतियारको प्रयोग यत्तिसम्म सामान्य भइसक्यो कि युवती जिस्क्याएको निहुँमा दोहोरो संवादसमेत नगरीकन असुन गुरुङले कल्याण गुरुङलाई गोली हानिदिए । राजधानीमा अवैध रूपमा भित्रिएका साना हतियारले बिगबिगीले अपराधको ग्राफ मात्रै बढाएको छैन, आगामी मङ्सिरमा हुने सङ्घ र प्रदेशको निर्वाचनलाई सुरक्षा चुनौती थपिदिएको छ । 

कहाँबाट आए साना हतियार ? 
पछिल्लो समय राजधानीमा लगातारजसो प्रयोग हुन थालेका साना हतियारहरू धेरैजसो भारतबाट आएका छन् । त्यसबाहेक माओवादी जनयुद्धमा प्रयोग भएका हतियारहरू अहिले आपराधिक काममा प्रयोग हुने गरेको छ भने छिमेकी राष्ट्र चीनबाट पनि अपराधीहरूले सजिलै साना हतियार प्राप्त गर्न सक्छन् । ‘साना हतियारको मुख्य स्रोत चीन र भारत हो’ पूर्व एआईजी राजेन्द्रसिंह भण्डारी भन्छन्, ‘युद्धकालीन समयमा प्रयोग भएका हतियार पनी अहिले आपराधिक काममा प्रयोग हुनेगरेको छ, तराई क्षेत्रमा कटुवा पेस्तोलको प्रयोग बढी हुन्छ ।’ 

प्रहरीले बरामद गरेका साना हतियारमा जर्मन, चाइना तथा अमेरिका लेखिएको भए पनि सबै भारतमा बनेर आउने हतियार काठमाडौँमा आपराधिक कामका लागि प्रयोग हुने गरेको बताउँछन् पूर्व डीआईजी हेमन्त मल्ल । ‘खुल्ला सिमानाका कारण अधिकांश हतियार भारतबाट आउने गरेको छ’ पूर्व डीआईजी मल्लले भने– ‘नेपालसँग सिमाना जोडिएका भारतीय बजारमा सजिलै हतियार पाउन सकिन्छ ।’  

सङ्गठित अपराधीहरूले आफूलाई सुसज्जित गर्न र बलियो बन्न यस्ता हतियारको प्रयोग गर्दै आएका छन् । ‘धम्क्याएर पैसा यस्ता हतियारको प्रयोग हुन्छ’ पूर्व एआईजी भण्डारी भन्छन्, ‘कसैले आफूलाई सुरक्षित राख्न पनि हतियार राख्ने गरेको देखिन्छ ।’ 

सङ्गठित अपराधको दुनियाँमा रमाइरहेकाहरू कमाउनका लागि साना हतियार बोक्छन् । तर तिनै हतियारको माध्यमबाट कमाएर आफ्नो रङ्ग बदल्ने प्रयत्न गरिरहेकाहरूले आत्मरक्षाका लागि हतियार राख्ने गरेका छन् ।

निर्वाचन सुरक्षामा थपियो चुनौती
राजधानीमा छ्याप्छ्प्ती साना हतियारको किनबेच र प्रयोग भएसँगै आगामी मङ्सिरमा हुने केन्द्र र प्रदेशको निर्वाचनमा सुरक्षा चुनौती थपिएको छ । उपत्यकामा कार्यरत प्रहरीको नेतृत्व परिवर्तन भएसँगै बढेको हतियारको प्रयोग घट्नुको साटो दैनिक बढिरहेको छ । 

निर्वाचनको बेला अवैध हतियार बोक्नेहरूको मार्केट भ्यालुसमेत बढ्ने र यसले निर्वाचनमा सुरक्षा चुनौती थप्ने बताउँछन् पूर्व एआईजी राजेन्द्रसिंह भण्डारी । ‘प्रहरीको नेतृत्व परिवर्तन हुनुसँग हतियारधारीको सरोकार हुँदैन’ भण्डारीले भने– ‘तर निर्वाचनको बेला अवैध हतियार बोक्नेहरूको मार्केट भ्यालु बढ्छ ।’ 

साना हतियारको अवैध प्रयोगले निर्वाचन सुरक्षामा असर पार्ने स्विकार्छन् केन्द्रीय अनुसन्धान ब्युरोका निर्देशक डीआईजी पुष्कर कार्की । ‘अस्थायी राजनीतिमा खेल्ने आपराधिक समूहरूले पनि यस्तो बेलामा चलखेल गर्न खोज्छन्’ डीआईजी कार्की भन्छन्, ‘साना हतियारको अवैध प्रयोगले राष्ट्रिय सुरक्षा चुनौती पनि बढ्छ ।’
नेपाल–भारतको खुल्ला सिमाना हुँदै साना हतियार भित्रिनबाट रोक लगाउनका लागि सुरक्षा निकायको समन्वयमा काम हुनुपर्ने भए पनि गृह मन्त्रालयले समन्वयकारी नीति बनाउन नसक्दा यस्त अवैध हतियार भित्रिरहेका छन् । सीमा नाकामा नेपाल प्रहरी मात्रै छैन, हरेक नाकामा सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट छ । दुवै निकायले समन्वय गरेर अवैध हतियार भित्रिन नदिनका लागि मन्त्रालयले नीतिगत कुरामा लिड गर्नुपर्ने सुरक्षा अधिकारीहरू बताउँछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप