बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

हिउँभरिका डोबहरू

सोमबार, ०४ साउन २०७८, ११ : ५८
सोमबार, ०४ साउन २०७८

 

 

 

–साकारबाबु सुवेदी

 

लाग्थ्यो जिन्दगी पक्का पनि कालो वा सेतो नै हुनु पर्छ, एउटा मजबुत ढलान जस्तो । कुनै हावा, हुरी, आँधी र वर्षातमा पनि नडगमगाओस् । भोग्दै जाँदा जिन्दगी त खरानीको रङ्ग जस्तो देखिँदै गयो न कालो न सेतो । जिन्दगीको यो रङ्गलाई आत्मसात गर्न नसकेका मेरा मस्तिष्कका आवेगलाई थोरै शीतलता दिन एउटा यात्रामा निस्किएँ ।

हिउँका कपास रूपी डङ्गुरमा आफ्ना खुट्टा घुँडाघुँडासम्म गाड्दै अघि बढिरहेको ज्यान एक्कासि अनौठो आवाज सुनेर रोकियो, मनमा डर लागेजस्तो भयो । चिसो त सुरुदेखि नै पसिसकेको थियो । ‘हैट ! म पनि त्यसै डराउँछु’ मनले मनसँग संवाद ग-यो । कहिले पुगिएला र खै ? यस्तो चालाले रात प¥यो भने त भालु लाग्छ है भनेर सिकाएर पठाएका थिए जान्ने बुझ्नेहरूले ।

बर्फिला झ्याङहरूमा जम्न नसकेका मुखका बाफहरूलाई चुरोट बनाएर उडाउँदै अघाडि बढ्दै गए । बाटो रमाइलोसँग नै अघि बढ्यो । जङ्गल हे¥यो क्रिसमस ट्री जस्तो हिउँले सजिएका सल्लो, धुपी बग्न नसकेका खोलाहरू, मौसम हे¥यो सहरक मानिसहरूको मन जस्तो कठ्याङ्ग्रिने चिसो ।

केहीबेरपछि स्वाँ स्वाँ र फ्याँ फ्याँ गर्दै मधुरो घाम लागेको स्वर्ग जस्तो ठाउँ भेटेँ, सपनाजस्तै लाग्यो मलाई त । ओहो रारा ! मनले एक्कासि उनको नाम लियो, बाटाका सारा पीडा भुलेँछु । भर्खर विवाह गरेर घरमा बाटो कुरेर बसेकी श्रीमतीलाई हतार हतार अफिस सकेर भेटेझैँ भयो मलाई । धित मरुन्जेल आत्मसात गरेँ उनको सौन्दर्य ।

साह्रै थाकेको थिएँ । कता तराईको मान्छे म अनि मध्य पुस महिना त्यो पनि पाँच घण्टाको हिउँसँगको पौँठेजोरी, किनारको एउटा फलैँचामा थचक्क बसेँ ।

‘दाइ साह्रै नै थाक्नुभयो कि क्याहो ? बानी छैन होला’ । पल्लो पट्टिबाट एक स्त्रीको आवाज आयो । हरियो रङको मोटो ज्याकेट, बाक्लो सुरुवाल लगाएकी राम्रो अनुहार परेकी त्यस्तै २२ र २४ वर्षकी महिलाले आफ्नो उनीको टोपी मिलाउँदै मलाई सोध्दै थिई । ‘अँ अलि गाह्रो भयो, तराईको मान्छे न परियो’ मैले हाँसेरै जवाफ दिएँ ।

तपाईं त पक्कै यहाँको मान्छे हैन । यो अफ सिजनमा कताबाट घुम्न आउनुभयो त ? मैले आफ्नो अड्कल सही हुन्छ भन्ने विश्वासले उनलाई सोधेँ । प्रायः मेरा अड्कल मिल्छन् भन्ने मलाई सानो भ्रम छ ।

‘आफ्ना बारेमा सोच्दा, आफ्ना लागि निर्णय लिँदा पो सिजन अफसिजन दाइ, आफूलाई अरूका लागि समर्पित गर्नेका लागि कुनै सिजन नै हुँदैन नि’ उनले हाँसेरै उत्तरलाई दार्शनिक बनाई । उनको यो भनाइले मलाई उनको बारेमा जान्नका लागि बाध्य नै बनायो ।

के गर्नु हुन्छ यहाँ अरूका लागि ? मैले सतही देखिने तर गहकिलो प्रश्न तेस्र्याएँ । उनले उत्तर दिन नपाउँदै एउटा भाइले केहीबेर अघि अर्डर गरेको चिया ल्याइदिए, ‘भाइ अर्काे पनि एउटा ल्याइदेउन ।’ मैले अर्डर थप गरेँ । ‘भैगो भाइ हुन्देऊ, मलाई कालो चिया मन पर्दैन, यहाँ दूध हालेको पाइँदैन’ उनले मेरो अर्डर क्यान्सिल गरी दिइन् । 

म उनको रोचक चरित्रको बारेमा बुझ्न लालयित थिएँ । मानौँ मैले उनीमा एउटा बृहत् कथा भेट्दैछु । हुन त हरेक सुगम वा विकटतामा आआफ्नै कथा हुन्छन् जुन हरेक जीवनका व्यथाहरूबाट सिर्जत भइदिन्छ । अब मैले नजानीकन नजाने निर्णय गरिसकेको थिएँ । ‘केही भन्दै हुनुहुन्थ्यो नि,’ चिया सुरुप्प पार्दै सोधेँ ।

खास म पनि तराईकै बासिन्दा हुँ । काठमाडौँमा काम गर्थें । अहिले दुई वर्ष जति भयो यहाँ (मुगु) छु । युनिसेफमा काम गर्छु । उनले मुखले जति सहजतापूर्वक बताइरहेकी थिइन् । अनुहारले उत्ति नै असहज रूपले त्यसको प्रतिवाद गर्दै थियो । 

‘ए आईएनजीओमा’ मैले हल्का टिप्पणी गरेँ । उनले अलि असहज मान्दै मलाई थप विवरण दिँदै भनिन्, ‘खै दाइ हेड अफिसले के गर्छ, मलाई थाहा भएन, म त यहीँ आमा, दिदीबहिनीहरूको सेवा गर्दैछु । मातृशिशु स्वास्थ्यमा काम गर्दैछु । सबभन्दा ठूलो कुरा त यो कामले मैले मेरो परिवारको ख्याल राख्न सकेको छुु । अलि भाबुक हुँदै आफ्नो कुरा राखिन् । अनि तपाईं चैँ के गर्नु हुन्छ नि ? यहाँ घुम्न मात्र आउनु भएको ?

‘हैन नि । म त उपचार गर्न भनेर आएको ।’ मैले ठट्टा गर्दै जवाफ दिएँ । उनी मेरो कुराले अवाक भइन् । कसरी नि दाइ भन्दै मुसुक्क हाँसिन् । ‘सारा जीवन खुसी कसरी भेटिन्छ भन्दाभन्दै, त्यसकै पछि लाग्दा लाग्दै बित्दै छ । मस्तिष्कभित्र अटाइनअटाइ खुसी पाउने यत्न भरियो, अब तिनैले यान्त्रिक रूपमा रातबिहान मगज खेलाउने काम गर्दैछन् । सायद खुसीभन्दा केही पर जाँदा त्यसको उपचार भेटिन्छ कि ? एउटा सम्भावना न हो जीवन । एक पटक प्रयास गरिहेरेको मात्र हो ।’ मैले आफ्नो औचित्य बताएँ । सायद उनलाई मन परेको हुनुपर्छ भन्ने अड्कल लगाएँ ।

‘दाइ थाहा छ ? म मेरो अभिभावकको दशौँ सन्तान हुँ नि । तर हामी सिब्लिङ्ग चाहिँ जम्मा पाँच जना मात्र । दुईदिदी, एक बहिनी र भइ अनि म ।’ म चकित भएँ । गणितमा आफूलाई सधैँ अब्बल ठान्ने म यस पटक रणभुल्लमा परेँ । ‘अनि बाँकी पाँच जना चाहिँ ?’

पहिले नै दुई दिदीहरूलाई जन्म दिनुभएकी मेरी आमाले आठ पटक गर्भ फलेपछि म जन्मिएकी थिएँ रे । हेर्नु न मसँगै पनि बहिनी नै भई, आमाको हालत के भयो होला ?

मलाई साह्रै नमज्जा लागेर आयो । तिमीलाई जन्म दिन चाहिँ बुबा कसरी तयार हुनुभयो त ? सुक्दै गएको घाँटीलाई भिजाउन एक पटक घुटुक्क गरेर मैले उनलाई सोधेँ । ‘कहाँ तयार हुनु र दाइ मेरो र बैनीको जन्म त ज्योतिषीले गर्दा भएको हो । हामी जुम्ल्याहा दिदी बहिनी हौँ । त्यही बेला मात्र हो बुबाले इन्डिया लगेर आमाको पेटको अल्ट्रासाउन्ड नगरेको, पछि स्क्रिनमा भाइ देखिएपछि मात्र आमाले बर्सेनि बच्चा जन्माउन छाड्नुभयो । अहिलेको जमानामा मानिसले कल्पना पनि गर्न सक्दैनन् तर मैले त भोगेरै आएको छु’ ।’

उनी बोल्दै गइन्, म सुन्दै गएँ । कुनै चलचित्रको कथा जस्तो लाग्ने उनीभित्रको कथाहरूले मेरा वरपरका दृश्य धमिलो बनाउँदै गएँ । लग्यो म समयको त्यही कालखण्ड अनि त्यही भूगोलमा छु ती कथा म स्वयं नै देखिरहेको छु ।

सप्तरी जिल्लाको कल्याणपुर भन्ने गाउँमा २०५५ सालमा ठूलो बलिदानीपछि झुक्किएर जन्मिएकी थिइन् ज्योति । ‘बेटी नाही पढाओ, पराया धन नाही बढाओ’ भन्ने सोचहरूका बीच आमाको एकोहोरो जिद्दीले उनी भाइबहिनीसँगै विद्यालय जना त सकिनँ तर समस्या त तब आयो जब उनी एसएलसी प्रथम श्रेणीमा पास भइन् । बाँकी पढाइ उनी नर्सिङ विषयमा पूरा गर्न चाहन्थिन् तर परिवार उनको पढाइलाई लिएर त्यति चिन्तित थिएन । उनको परिवारको त्यत्रो सामथ्र्य पनि थिएन । आमासँग जान्थिन्, रुन्थिन्, कराउँथिन् तर आमा आफैँ निसाहाय थिइन् ।

अभावकै कारण पहिलो वर्ष नर्सिङमा भर्ना हुन सकिनन् तर पनि पढाइप्रतिको उनको मोह कम भएन । नर्सिङ तयारीका किताबहरू खोजेर पढ्ने गर्थिन् उनी । एक दिन अचानक दस वर्ष साउदी अरबमा कम गरेर फर्किएका उनका मामा विन्देश्वर घर आइपुगे । मामासँग हार गुहार गरिन्, मामाले आमासँग सल्लाह गरे । दिदीलाई बुबाले छुट्याई दिएको दस धुर जग्गाबापतको पैसा भन्जीको पढाइमा खर्च गरिदिने वाचाका साथ मामा आफ्नो घर बरमझियातिर फर्किए ।

जेठको प्रचण्ड गर्मी, सिटी रिक्साले उडाएको धुलो, तातो हावा चल्ने मौसम सबै उनलाई राम्रो लागिरहेको थियो । सायद जिन्दगीनै जिते जस्तो गरी उत्ताउली थिइन् राजविराजमा नर्सिङ क्याम्पसमा भर्ना हुन पाउँदा । उनी क्याम्पस जाने भइन् त उनका बुबा चाहिँ घर छाड्ने भए । कस्तो संयोग हो जीवन । धर्ती टेक्न पनि गाह्रो, विद्यालय टेक्न पनि ।

जसोतसो तीन वर्षमा स्टाफ नर्स भइन् तर पनि उनको पढाइको भोक मेटिएन । दुई दुई ठाउँ काम गर्दै जनकपुरमा बीएन पढ्न थालिन् । पुग नपुग खर्च जुटाएर पास पनि गरिन् । त्यसपछि दुर्गममा काम गर्न जाने सर्तमा अहिले राष्ट्रसङ्घीय विकास कार्यक्रमअन्तर्गतको मातृशिशु स्वास्थ्य कार्यक्रममा यहाँ काम गर्दै भाइबहिनी पढाइरहेकी रहिछन् । आमाको खर्च पनि उनको जिम्मेवारी रहेछ ।

सोचेँ जीवन एउटा युद्ध नै रहेछ । हरेक परिस्थितिले हरेक घडीमा हामी माथि घोषणा गरेको रणभूमिलाई हामी कति बहादुरीका साथ सामना गर्छाैं । त्यसैले निर्धारण गर्ने रहेछ कि हामीभित्र एक योद्धा पालिएको छ कि एक डरपोक मानव ।

दाइ दाइ... उनले जोड जोडसँग मलाई बोलाइन् । म त उनकै कथामा हराएँ छु । ‘बैनी, म त भावुक नै भएँ । तिम्रो सङ्घर्षका कथा सुन्दा त, अलिकति पनि विचलित भएनौँ यहाँसम्म आइपुग्दा ?’ मैले दुई हातले आफ्नो कपाल माथितिर सार्दै सोधेँ ।

हाम्रो तराइमा एउटा कहावत नै छ नि दाइ त्यही सुनेरै हुर्किएका हौँ । तपाईं पनि सुन्नुस् ः

अपनों ने जो फेंके पत्थर,

राखु सम्भाल्के आँगनमे,

दिन एक जब आए सपना,

उसिसे गड्डा भर्जाये अपना । ।

वहा ! साह्रै राम्रो । यत्रो उमेरमा पनि यति धेरै परिपक्वता ? म त अचम्मै भएँ । यस्तो चिसो हिमाली जिल्ला कसरी यहाँ नै काम गर्ने हौसला मिल्यो त ?

मेरो मनले उनलाई सेलिब्रेटी मानिसकेको जस्तो भयो र अन्तरवार्ता लिए जसरी मैले उनलाई सोधेँ । ‘यहाँ आउनु मेरो पनि बाध्यता थियो दाइ । अब आइसकेपछि जसरी पनि काम गर्नु नै थियो । एक पटक बिर्खबहादुर रोकाया दाइलाई भेटेपछि यहीँ बसेर काम गर्ने साहस बढ्यो ।

मलाई अघिसम्म उनको कथा सकिएजस्तो लागिरहेको थियो तर बाँकी कुरा पनि जान्न कौतूहल जाग्यो । ‘बैनी एक एक कप चिया पिऊँ है ?’ मैले उनलाई अड्काइराख्ने बहाना खोजेँ । ‘मलाई फिक्का चिया त मन पर्दैन तर दाइले भनेपछि एक पटकलाई नाइँ भन्न सकिन,’ उनले हातमा भएको फोन खेलाउँदै भनिन् ।

हामीले केही नबोलीकनै चिया पियौँ । ‘कतै बास बस्ने ठाउँ छ त बैनी, गाउँतिर ? मलाई यो होटलमा बस्नै मन लागेको छैन । यसो गाउँतिरको जीवन बुझ्न पनि सहज हुन्थ्यो ।’ मैले रारा तालको किनारमै रहेको होटललाई देखाउँदै भने । 

‘हिँड्नुस् दाइ म तपाईंलाई एउटा होमस्टे देखाइदिन्छु । त्यहाँ बस्दा राम्रै हुन्छु ।’ उनी जुरुक्क उठिन् र आफ्नो लुगा मिलाउँदै भनिन् । म उनको पछिपछि लाग्दै तालको पश्चिमपट्टिको बाटोतिर हिँडे । हिउँ अत्यधिक परेर रोकिएको थियो । जङ्गलका सारा रूखहरूमाथि हिउँका थुप्राहरू थिए । बाटो हिउँको सुरुङ जस्तो थियो । चिसो यतिसम्म थियो कि पूरा शरीर नै जमेजस्तो भयो । हिउँबाट चिप्लिने डरले बच्दै बच्दै हामी करिब आधा घण्टा जति हिँडेपछि चार पाँचवटा घर भएको एउटा बस्तीको एक घरभित्र छि¥यौँ । घरको तल्लो तलामा आगो बालेको थियो । तीनवटा चियादानीमा पानी तताई राखेको थियो । आगोको नजिकै दुई जना मानिस आगो तापिरहेका थिए । हामी पनि एक छेउमा आगो ताप्दै बस्यौँ ।

‘दाइ तपाईंलाई पाहुना ल्याइदिएको छु ।’ ज्योतिले भर्खर आगो भएतिर आइपुगेका एक व्यक्तिलाई भनिन् । जो त्यस होमस्टेका सञ्चालक रहेछन् । उनले मलाई सोधे ‘भाइ खाना रातो (लोकल) चामलको खाने कि सेतो ? मैले समय न लगाईकनै सेतो भनिदिएँ ।

आगो तापिरहेका दुई जना मध्येबाट एक जनाको आवाज आयो ‘यहाँ (मुगु) आउँदा त लोकललाई नै प्राथमिकता दिनुपर्छ सर । सेतो चामल त सधैँ खाएकै हो नि । मार्सी पनि खाएर हेर्नुस् न । हामी त चाउचाउ नखाऊँ, अग्र्यानिक खाऊँ भन्ने अभियान मै छौँ ।’ ती व्यक्तिले आफ्नो टोपी माथि उठाउँदै भने ।

ओहो ! बिर्खबहादुर दाइ, मैले चिन्दै नचिनेको तपाईंलाई, टोपीले गर्दा पो होला कि ? ज्योतिले हाँस्दै दुवै हत्केला जोडेर थप्पडी बजाएको जस्तो शैलीमा भनिन् । सबैजना एकै पटक हाँसे ।

हामीबीच परिचय आदान–प्रदान भयो । त्यसपछि ज्योति छुट्टिन खोजिन्, मैले रात पर्न लागेकाले अलि परसम्म पु¥याइदिने प्रस्ताव राखेँ तर उनले हाँसी हाँसी कडा स्वरमा प्रतिवाद गरिन् ‘दाइ म अवला नारी छैन अब । म मेरो रक्षा आफैँ गर्न सक्ने भइसकेँ । कृपया तपाईंहरू पनि यो सोचबाट मुक्त हुनुहोस् ।’

बैनी जो मानिसले पहिलो सन्तानका रूपमा छोरीलाई जन्म दिन्छ अनि त्यसपछि हाँसीखुसी बन्ध्याकरण गर्ने सहस गर्न सक्छ उसले कसरी त्यस्तो सोचलाई प्राथमिकता देला र ? मैले पनि हाँसी हाँसी जवाफ फकाएँ ।

उनी बिदा लिएर गइन् । म पछाडिबाट हेरिरहेँ उनका जुत्ताहरूले हिउँमा बनाएका डोबहरू अनि सुनिरहेँ । उनी हिंड्दा हिउँमा क¥याक क¥याक गर्दै आएको आवाज, कतै हाई अल्टिच्युड ट्रेनिङमा एउटा योद्धाले मार्चपास गरे जस्तो । जीवन यिनै डोबहरूबाट नै त सुरु हुन्छ अनि यस्तै कैयौँ डोबहरू पुर्दैमा सकिन्छ ।

मार्सी चामलको भात अनि च्याङ्ग्राको मासु कति स्वाद लिएर खाइयो । खानपिन पछि आगो ताप्दै बिर्खबहादुर दाइसँग गफिन थालेँ । मैलो पुरानो कोट, गलबन्दी, अलिअलि फाटेको ढाकाटोपी लगाएका तर साह्रै धेरै गफ गर्नुपर्ने । सुत्केरी हुँदा श्रीमतीलाई अस्पताल नजिक नहुँदा बाटोमै गुमाएका एक आम मानिस । बच्चा र आमा अस्पतालको अभावले बितेपछि आफ्नो गाउँमा पनि अस्पताल नभए पनि कम्तीमा एउटा स्वाथ्य चौकी वा प्रसूति केन्द्र भए हुन्थ्यो भनेर धेरै ठाउँ धाए । एक दिन घान्द्रुकमा पोखराभन्दा पनि औषधि र उपचार सस्तो देखेर आफ्नो गाउँमा पनि यो सम्भव छ भन्ने कुरा यकिन गरेछन् बिर्खबहादुर दाइले ।

मुगु किन यति धेरै पछाडि परेको होला ? मैले उनलाई अनविज्ञता देखाएँ । सायद उनको भूगोल उनैको विचारमा सुन्ने चाहना थियो मेरो मनभित्र किनकि अघि नै ज्योतिको मुखबाट उनको नाम सुनिसकेको थिएँ । ‘देशी हाकिम, जुम्ली कारिन्दा भएपछि केको विकास सिकास सर ।’ उनले यति छिटो भने मानौँ उनीसँग अगाडि नै उत्तर तयार थियो । एकछिन अडिएर उनले फेरि थपे ‘सचिवका घर राजा, जनताका घर बाँझा’ स्थानीय तहले राम्रोसँग काम गर्न नसकेको पीडा थप्दै गर्दा उनले आफ्नो गुनासो यसरी पोख्दै थिए ‘नगरपालिका नगर भन्छ, गाउँ पालिका कार्यकर्ता पाल भन्छ ।’

मलाई लाग्यो मुगु त एक उदाहरण मात्र हो, हामीले बुझेसम्म सुसाशनको समस्या त देशभरी नै व्याप्त छ । सोचेँ देशका यस्ताखाले समस्या त बग्रेल्ती भेटिन्छन्, यदि हामी विकट ठाउँहरूलाई बुझ्ने प्रयास ग¥यौँ भने । एक पटक बिर्ख दाइको निजी जीवन नै खोतल्न मन लाग्यो ‘अनि कसरी यो हेल्थपोस्ट निर्माण गर्नुभयो त दाइ ?’ चलिरहेको प्रसङ्गलाई एकछिन बिश्राम दिएर अर्कैतिर मोडिदिएँ ।

एउटा संस्थाले अलिअलि पैसा दिन्छु भन्यो स्वास्थ्यकर्मी राख्न । सबैसँग हार गुहार गरेँ । चन्दा उठाएँ । बल्लतल्ल एउटा घर त बनाइयो । अब त्यहाँ स्वास्थ्यकर्मी राख्नेबेलामा कतैबाट केही सहयोग भेटिएन । आफूसँग भएको पैसा सहयोग जुटाउने काममा काठमाडौँ धाउँदा धाउँदै सकिहाल्यो । अनि अन्तिममा एक पटक जोखिम मोल्न मन लाग्यो । आखिर जीवन यस्तै जोखिमहरूका शृङ्खला नै त हुन्, ठाउँमा प¥यो भने त सफल भइहालिएला नि ।

अन्तिम प्रयास गर्ने उद्देश्यले काठमाडौँ पुगेँ । हामीलाई वचन दिने संस्थाका सचिवसँग फेरि कुरा राखेँ । उनी आलटाल गर्न खोज्दै थिए । मैले भने ‘तिम्रा बाका जान्या छैन, मेरा बाका जान्या छैन, सही गरिदेऊ ।’ त्यसपछि ती सचिवले सही गरिदिए । उक्त संस्थासँग सम्झौता भयो र दुई स्वास्थ्यकर्मीलाई तलब दिएर काम लगाउने वातावरण बनेपछि हेल्थपोस्ट सञ्चालन भयो । उनले खुसी हुँदै सुनाए, ‘अब उपचार गर्न पाँच घण्टा हिँडेर जानु पर्दैन । बच्चा जन्माउँदा आमाले मर्नुपर्दैन ।’ सर यो बिर्खबहादुरको पीडा अरूले भोग्नुपर्दैन ।

कति पढ्नुभएको छ बिर्खबहादुर दाइ ? फेरि पनि म एक पत्रकार अनि उनी एक सेलिब्रेटी जस्तो झल्को दिन्थ्यो मेरो प्रश्नले । ‘के गर्नु सर, अलिकति याँहाको दुखस्ले पढायो,अलिकति अभावले, जीवको भोगाइले त मास्टर नै बनायो ।’ उनी आफू पढ्न नसकेको पीडा यसरी पोख्दै थिए ‘पहिला बाँचौँ पछि शिक्षित भइएला । हामीलाई त यस्तै लाग्छ हौ सर ।’

सर त पढेलेखेको मान्छे । मलाई एउटा कुरा बताइदिनु न । यस्तो राम्रो स्वर्गको अप्सरा जस्तो रारा, मानिस एक पटक हेर्न पाए जीवन धन्य हुन्छ भन्छन् । के यसको पिठ्युँ पछाडि लुकेर बसेको पीडा, भोक, अशिक्षा, गरिबीले यो अझ सुन्दर भएको हो र ? कुरूप नै कुरूपताको बीचमा अलिकति राम्रो पनि अत्यधिक सुन्दर देखिन्छ नि, हैन सर ? त्यही भएर रारा राम्रो भएको होला ? उनले सानो व्यङ्ग्य वाण कसे । म सँग ठ्याक्कै जवाफ त थिएन त्यही भएर मैले उनको त्यो वाणलाई सत्ताको शिरतर्फ फर्काइदिएँ ।

‘बिर्खबहादुर दाइ, यस्तो कुरा त सरकारले हेर्नुपर्ने हैन र ? के छ अहिले त तीन तहको सरकार छ । मैले त आफू बच्ने मेलो मात्र झिकेको थिएँ । उनी मुसुक्क हाँसे ‘कुन सरकारको कुरा गर्नुहुन्छ सर ? यहाँ त दुई किसिमका सरकार मात्र छन्, एउटा धनीको अर्काे गरिबको ।’ उनले पुरानो सत्ता फेर्ने अनि नयाँ सत्ता स्थापना गर्न सघाएको कुरालाई यसरी सुनाए ः

को छ र तमी सधैँ बाँधन्या

कति बाँधन्या हो चुपुक्क लाग्यार

कति सन्या कति भोग्न्या काजी ठालु

नौला ठालु फेरन्या कुरो मुनौदो राग्न्या

यही गरिबको सरकार आउँछ र हाम्रो भलो गर्छ भनेर आन्दोलन पनि गरियो तर हालत जस्ताको त्यस्तै छ । उनले लामो प्रयत्नपछि पनि सफल हुन नसकेको उनको परिवेशको दस्तान नै सुनाए ।

‘सर राति भइसक्यो । अब म जान्छुुु उनी दुई हात जोडेर बिदा भए । म चाहिँ त्यही घरको खाटमा पल्टिएर टाउको ठोक्किने उचाइको ढोकाबाट उनलाई हेरिरहेँ ।

म मेरा मस्तिष्कमा भरिएका दुःख फाल्न यहाँ आउँछु । कोही यहाँ भएका दुःखलाई एक एक गर्दै खुसी बनाउन सङ्घर्षरत छ । आखिर सुखको सन्त्रिप्तता अरू चिजबाट मानिसले कसरी प्राप्त गर्न सक्छ । यी त हिउँका डोबहरू जस्तै हुन्छन् हिँडदै जाँदा एउटा आकार लिने अनि घाम लागेपछि बिस्तारै बिलाउँदै जाने ।

‘मेरा मस्तिष्कका भण्डारबाट मैले ठानेका खुसीहरू चयन गर्छु अनि बाँकी मैले ठानेका सबै दुःखहरूलाई रारामा सिर्जन गरेर हिउँसँगै पग्लन छाडिदिन्छुुु । आखिर कहिलेकाहीँ पाउँदा पनि दुःख अनि गुमाउँदा पनि त मानिस खुसी नै हुने गर्छन् । यस्तै कुरा सोच्दासोच्दै म माइनस पन्ध्र डिग्रीको चिसोमा त्यस होमस्टेको साँघुरो खाटमा पनि आरामसँग निदाएँछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप