शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाले विश्वासको मत लिँदा देखिएका यी रोचक दृश्य

सोमबार, ०४ साउन २०७८, १० : ५१
सोमबार, ०४ साउन २०७८

असार २८ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापित गर्दै ७ दिनभित्र बैठक बोलाउन दिएको आदेशअनुसार सरकारले साउन ३ गतेका लागि संघीय संसदका दुबै सदनको बैठक बोलाएको थियो । आइतबार अपराह्न ४ बजे अधिकांश सांसद संघीय संसद भवन नयाँ बानेश्वर पुगिसकेका थिए ।

प्रतिनिधि सभाको बैठक बोलाएकै दिन असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवाले विश्वासको मत लिने निर्णय गरेपछि बिहानैदेखि विभिन्न राजनीतिक दलहरु संसदीय दलको बैठकमा छलफल गर्न व्यस्त थिए ।

कांग्रेसले बानेश्वरको ल्होत्से हलमा, एमाले ओली समूहले च्यासलमा, माओवादी केन्द्रले सिंहदरबारमा, जनता समाजवादी उपेन्द्र यादव पक्षले पार्टी कार्यालयमा, माधव नेपाल समूहले कोटेश्वरमा बैठक बसेका थिए ।

दिउँसो १ बजेतिर संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री विश्वासको मत लिने कार्यसुची तय गरेको थियो ।

प्रधानमन्त्री देउवाले आइतबार नै विश्वासको मत लिँदैछन् भन्ने शनिबारसम्म कुनै छेकछन्द थिएन । आइतबार मात्रै अकस्मात् कार्यव्यवस्था परामर्श समितिमा यो प्रस्ताव आएपछि दिनभरि जसो नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा चहल–पहल देखियो । अपरान्ह ४ बजेदेखि शुरु भएको बैठक सकिँदा रातको १० बजिसकेको थियो ।

अन्ततः प्रतिनिधि सभाको पहिलो बैठकमै एमालेभित्रको विवाद नमिल्दै छापामार शैलीले विश्वासको मत लिने देउवाको निर्णय फलदायी सावित भएको छ । प्रतिनिधिसभामा २४९ मत खस्दा देउवाले १६५ मत पाएर विश्वासको मत हासिल गरेका छन् भने उनको विपक्षमा ८३ र तटस्थमा १ मत परेको छ ।

​आइतबार करिब ६ घण्टासम्म बसेको बैठकका क्रममा संसद भवन वरपर देखिएका केही रोचक दृश्य यस्ता छन् :

भीम रावलको राजीनामा रोक्न सुरेन्द्र पाण्डेले पछाडिबाट ताने

संसद बैठक सुरु हुनै लाग्दा एमाले नेता भीम रावलले सांसद पदबाट राजीनामा दिएको खबर संसद भवनमा फैलियो । बेलुका ४ बज्नै लाग्दा रावल संसद भवन आइपुगेपछि पत्रकारहरुले उनलाई घेरे । उनले राजीनामा पत्र पढेर सुनाउनै लाग्दा पछाडिबाट सांसद सुरेन्द्र पाण्डेले कोट्याउँदै रोक्ने प्रयास गरे । तर, रावल रोकिएनन् ।

सुरेन्द्र पाण्डे उनलाई रोक्दै भित्र जाउँ भनिरहेका थिए । तर, रावल प्लिज प्लिज मलाई पत्रकारहरुसँग कुरा गर्न दिनुस्, पत्रकारसँग कुरा गर्न पाउनु मेरो नैसर्गिक अधिकार हो भन्दै राजीनामा वाचन गर्न अघि बढे ।

राजीनामा वाचनपछि उनी संसद भवन प्रवेश गरे र सभामुखलाई राजीनामा बुझाएर बानेश्वरबाट बाहिरिए । उनीसँगै सांसद झपट रावल पनि थिए ।

वामदेवले गरे राष्ट्रिय सभाको बैठक बंक, मिडियामा बोलेर घरतिर

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक चलिरहेको थियो । तर, एमाले नेता बामदेव गौतम अचानक प्रतिनिधि सभाको भवनको प्रवेशद्धार अगाडि देखापरे ।

राष्ट्रिय सभाका सदस्य प्रतिनिधि सभा अगाडि उभिएको देखेपछि सञ्चारकर्मीले उनलाई प्रश्न गर्न थाले । उनले राष्ट्रिय सभा सदस्यलाई पनि प्रधानमन्त्री हुने बाटो नखोलेका कारण राजनीतिक जटिलता आएको बताए ।

साथै सर्वोच्च अदालतले गत असार २८ गते गरेको फैसलाको सम्मान गर्नुपर्ने बताउँदै विश्वासको मत दिने विषयमा जुनसुकै पार्टीका सांसदले पनि स्वविवेक प्रयोग गर्न पाउने उल्लेख गरे । चलिरहेको राष्ट्रिय सभाको बैठक छोडेर गौतम घरतिर लागेका थिए ।

विश्वासको मत दिने बेलामा एमाले सांसद ‘आउट’

विश्वासको मत दिनुभन्दा अघि प्रतिनिधि सभाको बैठकमा दलका नेताहरु संबोधन गरिरहेका थिए । नेताहरुले बोल्ने अन्तिम अन्तिम समयतिर एमालेका केही सांसदहरु संसद भवनको पछाडिको ढोकाबाट बाहिरिन थाले । जनता समाजवादीको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेपछि एमालेको नेपाल समूहको मत बिनापनि बहुमत पुग्ने अवस्था सिर्जना भएको थियो ।

बैठकबाट बाहिरिन लागेका सांसद झपट रावलले नेपाल पक्षका १५ भन्दा बढी सांसदले भोट दिने बताउँदै ‘राजेन्द्र महतो र महन्थ ठाकुर जस्ता प्रतिगामीले पनि विश्वासको मत हाल्न आएकाले बाहिर निस्किएको’ प्रतिक्रिया दिए ।

गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, सोमप्रसाद पाण्डे, यज्ञराज सुनुवार, झपट रावल, राजबहादुर बुढा,दिपक भट्ट, नारायण खतिवडा तथस्थ बस्ने भन्दै विश्वासको मतदान प्रक्रियाभन्दा केही क्षणअघि संसद भवनबाट बाहिरिएका थिए ।

जब प्रेम आले र किसान श्रेष्ठ विश्वासको मत दिने लाइनमा देखिए

राति झन्डै साढे १० बजे विश्वासको मतको प्रक्रिया चलिरहेको थियो । ओली पक्षमा रहेका सांसद प्रेम आले अचानक विश्वासको मत दिने लाइनमा देखिएपछि संसद भवनको मिडिया सेन्टर हाँसोले गुञ्जिएको थियो ।

आलेपछि किसन श्रेष्ठ लगाएका ओली पक्षका सांसदहरु देउवालाई विश्वासको मत दिने लाइनमा देखा परे । देउवालाई विश्वासको मत दिएर सांसद आले र श्रेष्ठ छुट्टै लहरमा गएर बसेको दृश्य रोचक देखिन्थ्यो ।​

 

​बैठकको अन्त्यमा ओली प्रकट

दोश्रो पटक भंग गरेको संसद फेरि पनि पुनःस्थापित भएपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली संसदमा कसरी प्रस्तुत होलान्, सबैको चासो थियो । सभाको पहिलो बैठकमा नआएका ओली विश्वासको मत दिनका  लागि डाकिएको दोश्रो बैठकमा सहभागी हुन साढे ६ बजेतिर संसद भवन प्रवेश गरेका थिए ।

सदनभित्र एकछिन बसेर बाहिरिएका उनले दलको नेताका रुपमा आफूले सवोधन नगरी सांसद प्रदीप ज्ञवालीलाई बोल्न पठाएका थिए ।

दलका नेताहरुको सम्वोधन गर्ने क्रम सकिएर विश्वासको मत लिने बेला सभामा पुगेर उनले प्रधानमन्त्री देउवासँग हात मिलाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप