बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बागमती प्रदेश सरकार फेरि धरापमा

सोमबार, ०४ साउन २०७८, १० : ३०
सोमबार, ०४ साउन २०७८

केन्द्रीय तहमा फेरिएको राजनीतिक समीकरणले बागमती प्रदेशमा समेत तरङ्ग पैदा गरेको छ । सर्वोच्च अदालतले दोस्रो पटक प्रतिनिधिसभा विघटन बदर गरी काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेदेखि नै अंक गणितीय हिसाबमा बागमती प्रदेश सरकारको समेत आयु नाप्ने काम भइरहेको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदै आफ्नो नेतृत्वको सरकार सुरक्षित गरेका छन् । उनलाई नेकपा एमालेकै सांसदहरुले समेत विश्वासको मत दिएका थिए ।

प्रधानमन्त्री देउवा नेतृत्वको सरकार सुरक्षित भएसँगै बागमती प्रदेशमा पनि  सरकार परिवर्तनको लागि कसरत सुरु भएको छ । जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै गत पुस १० गते बागमती प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो ।

त्यसलगत्तै सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिने र नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रलाई साविककै अवस्थामा फर्काउने फैसला गरेपछि बागमती प्रदेशमा एमालेको माधव नेपाल समूहका सांसदहरुले पार्टी एकताको सन्देश प्रवाह गर्ने भन्दै मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिएर सरकारलाई सहयोग गर्न थाले ।

सोही अनुसार नेपाल समूहका सांसदहरुले बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम र बजेट बहुमतले पारित गर्न भूमिका निर्वाह गरेका थिए ।

पछिल्लो पटक केन्द्रमा एमालेभित्र व्यापक अन्तरविरोध सिर्जना भई एमालेकै सांसदहरुले देउवा नेतृत्वको सरकार जोगाउन विश्वासको मत दिएपछि प्रदेश सरकार पनि परिवर्तनको सँघारमा पुगेको छ ।

पार्टीभित्रको गतिविधिले प्रदेश सरकारको भविष्य निर्धारण गर्छ : खतिवडा

प्रतिनिधिसभा सदस्य एवम् नेकपा एमालेको माधव पक्षका नेता विरोध खतिवडाले बागमती प्रदेश सरकार परिवर्तन हुने वा नहुने भन्ने कुरा एमालेभित्रको गतिविधि र एकताले निर्धारण गर्ने बताएका छन् ।

उनले केन्द्रमा पार्टी एकता भए प्रदेश सरकार यथावत रहने अन्यथा प्रदेश सरकार पनि परिवर्तन हुने प्रतिक्रिया दिए । उनले केन्द्रीय राजनीतिको प्रत्यक्ष असर प्रदेशहरूमा पनि पर्ने भएकोले सरकार फेरबदलको सम्भावना उच्च रहेको बताए ।

उनले भने, ‘नेकपा एमाले आधिकारिक रुपमा विभाजन नभएको वर्तमान अवस्थामा सरकार के हुन्छ, कसरी जान्छ भन्नेबारे यकिन नभए पनि केन्द्रीय रुपमा पार्टी विभाजन भएमा प्रदेश सरकार पनि फेरिन सक्छ ।’

एमाले कानूनी रुपमै विभाजन नभइसकेकाले पार्टीभित्रको समस्या समाधान भएमा परिस्थिति बेग्लै हुने उनको भनाइ छ । उनले भने, ‘नेकपा एमाले फुट्यो भने प्रदेश सरकार परिवर्तन हुन्छ, नत्र यथावत रहन्छ ।’

अविश्वासको प्रस्ताव दर्ता गर्न तयार छौँः काँग्रेस सचेतक लामा

नेपाली काँग्रेस बागमती प्रदेशका सचेतक छिरिङ दोर्जे लामाले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध आफुहरु अविश्वास प्रस्ताव दर्ता गर्न तयार रहेको र केन्द्रीय निर्देशन प्राप्त हुनासाथ अविश्वास प्रस्ताव दर्ता गरिने बताए ।

रातोपाटीसँग कुराकानी गर्दै सचेतक लामाले प्रतिगमनकारी, स्वेच्छाचारी, संविधान र लोकतन्त्र विरोधी गतिविधि गर्नेलाई नेतृत्वबाट हटाउने क्रम जारी रहेको बताए । मुख्यमन्त्री पौडेल नेतृत्वको सरकारको आयु पनि धेरै दिन नरहेको उनको भनाइ छ ।

‘केन्द्रमा प्रतिगमनकारी केपी ओलीविरुद्ध सबै राजनीतिक दल एकजुट भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गर्नुभएको छ,’ उनले भने, ‘एमालेको माधव नेपाल पक्षको पनि महत्वपूर्ण सहयोग रह्यो । त्यसकारण अब विस्तारै प्रदेश सरकारहरु पनि परिवर्तन हुँदै जानेछ ।’

उनले आफुहरु प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता गर्न तयार रहेको र केन्द्रको निर्देशनको पर्खाइमा रहेको बताए । ‘हामी निर्देशन पर्खिरहेका छौँ, एमालेभित्र पनि मुख्यमन्त्री पौडेल नेतृत्वको सरकारविरुद्ध आवाजहरू उठिरहेका छन्,’ उनले भने, ‘अन्य विपक्षी दलहरु पनि सन्तुष्ट हुने आधार छैन । त्यसैले सरकार परिवर्तन हुन्छ ।’

एमालेकै नेतृत्वमा सरकार ५ वर्ष टिक्छ : प्रमुख सचेतक निरौला

नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले नेकपा एमालेकै नेतृत्वमा बागमती प्रदेश सरकार ५ वर्ष टिक्ने दाबी गरेका छन् ।

उनले रातोपाटीसँग कुरा गर्दै पार्टीभित्र आन्तरिक द्वन्द्वलाई नियन्त्रण र आवश्यकता अनुसार नेकपा एमालेकै नेतृत्वमा सरकार परिवर्तनको छलफल भइरहेको बताए ।

छलफलका क्रममा पार्टी एकताका लागि मुख्यमन्त्री पौडेलले समेत आफ्नो क्षेत्राधिकारबाट सक्दो योगदान गर्ने बचन दिएको भन्दै उनले सरकार पुनर्गठन गर्ने विषय उठेको बताए ।

पार्टी एकताकै लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट नेकपा एमालेका सांसदहरुले बहुमतका साथ पारित गरेको भन्दै उनले पार्टी विभाजनको चर्चा गरेर पार्टी एकतालाई समस्यामा पार्न खोजिएको बताए ।

यता नेकपा एमालेकै माधव नेपाल समूहका नेताहरु भने बागमती प्रदेश सरकारको विकल्प खोजिरहेका छन् । उनीहरु प्रदेश सरकारको नेतृत्वका लागि नाम चलेकै सांसदलाई अगाडि सार्ने तयारी भइरहेको बताउँछन् ।

बागमती प्रदेशसभामा सत्तारुढ दल नेकपा एमालेको ५६ सांसद छन्, जसमा माधव नेपाल समूहको २२ र ओली पक्षको सभामुखसहित ३४ जना छन् । त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको २३, प्रतिपक्ष नेपाली काँग्रेसको २२, विवेकशील साझाको ३, राप्रपाको २, नेमकिपाको २ र एक जना स्वतन्त्र सांसद छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप