बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इङ्ग्ल्याण्ड लकडाउनमुक्त, प्रधानमन्त्री भने आइसोलेसनमा

सोमबार, ०४ साउन २०७८, ०९ : ४०
सोमबार, ०४ साउन २०७८

लन्डन । कोरोना सङ्क्रमणको तेस्रो लहरको मार खेपिरहेका इङ्ग्ल्याण्डवासीहरु आज सोमबारबाट लकडाउनमुक्त भएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आजको दिनलाई ‘फ्रिडम डे’ को रूपमा घोषणा गरेका थिए । तर,’फ्रिडम डे’ कै दिन प्रधानमन्त्री सेल्फ आइसोलेसनमा बसेका छन् । दुई दिनअघि  स्वास्थ्य मन्त्री साजिद जावेदलाई कोरोनाको पुष्टि भएपछि उनी पनि आइसोलेसनमा नै बसेका छन् भने अर्थमन्त्री ऋषि सुनाक पनि आइसोलेसनमा बसेका छन् । स्वास्थ्यमन्त्रीसँगको सम्पर्कमा रहेका कारण उनीहरू पनि आइसोलेसनमा बसेका हुन् । सङ्क्रमण दरमा तीव्रता आए पनि सरकारले इङ्ग्ल्याण्डमा लकडाउनको अन्त गरेको छ ।

अघिल्लो महिनामा नै पूर्ण रूपमा लकडाउन खुला गर्ने सरकारले रोडम्याप सार्वजनिक गरेको भए पनि इन्डियन(डेल्टा) भेरिएन्टको  सङ्क्रमण दर तीव्र रूपमा बढेपछि चार हप्ता पछि धकेलिएको थियो । सरकारले चरणबद्ध रूपमा लकडाउन खुकुलो पार्दै आएको र चौथो तथा अन्तिम चरणमा लकडाउनसम्बन्धी सम्पूर्ण प्रतिबन्धहरू हटाएको छ । अनिवार्य मास्क लगाउनुपर्ने, एक मिटर प्लस दुरी राख्नुपर्ने, रेस्टुरेन्टमा क्यू आर कोड साइन गर्नुपर्ने जस्ता नियमको अन्त भएको छ । सङ्क्रमण दर उच्च भएकाले सार्वजनिक यातायातमा भने मास्क लगाउनुपर्ने नियम यथावत् नै राखिएको छ ।  ६ जना भन्दा बढी जमघट गर्न नपाइने, पब र रेस्टुरेन्टमा टेबल सर्भिस, थिएटर र सिनेमा हलमा सीमित दर्शक राख्न पाउने नियम  पनि आजैबाट हटेको छ । हालसम्म बन्द नाइट क्लब खुल्नेछन् भने घरैबाट काम गर्ने निर्देशिका पनि हटाइनुका साथै विवाह, अन्त्येष्टि र अन्य इभेन्टमा जति पनि सहभागी हुन पाउनेछन् ।

तर, लकडाउनमुक्त भए पनि बेलायतमा बढ्दो सङ्क्रमणका कारण मानिसमा  झन् त्रास बढेको छ । पछिल्ला केही दिनयता दैनिक ५० हजारको हाराहारीमा सङ्क्रमण दर थपिएका छन् । शनिबार एकै दिन ५४ हजार भन्दा बढी सङ्क्रमित भएका थिए । प्राध्यापक निल फर्गुसनले बेलायतमा दैनिक दुई लाखसम्म सङ्क्रमित हुनसक्ने चेतावनी दिएका छन् ।

कोरोनाविरुद्ध खोपका कारण सङ्क्रमण दर बढे पनि मृत्युदरमा भने खासै वृद्धि भएको छैन । खोपको प्रभावका कारण मृत्युदर र अस्पताल भर्ना हुनेको सङ्ख्यामा कमी आएको सरकारको दाबी छ । त्यसैले बेलायतमा खोप वितरण कार्यलाई तीव्रता दिइएको छ । हाल बेलायतका जनसङ्ख्याको ६८.३ प्रतिशत वयस्कहरूले खोपको दुवै मात्रा लगाइसकेका छन् भने ८७.९ प्रतिशतले पहिलो डोज लिएका छन् ।

बेलायतमा हालसम्म ५४ लाख ३३ हजार भन्दा बढी सङ्क्रमित भएका छन् भने एक लाख २८ हजार ७०८ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप