शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

झापाको अर्जुनधारा नगरपालिका कार्यालयमा तालाबन्दी

आइतबार, ०३ साउन २०७८, १९ : १६
आइतबार, ०३ साउन २०७८

झापाको अर्जुनधारा नगरपालिका कार्यालयमा तालाबन्दी गरिएको छ । पालिकाले नगरभित्रका विभिन्न सामुदायिक विद्यालयहरुलाई दिनुपर्ने रकम निकासा नगरेकाले तालाबन्दी गरिएको नेपाल शिक्षक महासंघ अर्जुनधारा नगर कमिटी अध्यक्ष पुण्य सुवेदीले बताए ।  संघीय सरकारले अर्जुनधारा नगरपालिका भित्रका विभिन्न सामुदायिक विद्यालयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम तथा सशर्त अनुदान अन्तर्गत भौतिक सुधार कार्यक्रमका योजनाहरु दिएको थियो । विद्यालयले योजनाहरु सम्पन्न गरि फाइल बुझाएपनि नगरपालिकाको लेखा शाखाले समयमा भुक्तानी नदिँदा रकम पाउनबाट विद्यालयहरु बञ्चित भएकाले तालाबन्दी गर्नुपरेको सुवेदीको भनाई छ ।

नगरपालिकाले भने विद्यालयहरूले समयमा काम सम्पन्न नगरेको र मसान्त अगावै लेखा प्रणालीसम्बन्धी सफ्टवेयर बन्द भएकाले समयमा भुक्तानी दिन नसकिएको जनाएको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख तोयानाथ रेग्मीले लेखा शाखाले नियत राखेर नभइ प्राविधिक समस्याका कारण समयमा भुक्तानी हुन नसकेको बताए ।

यता महालेखा नियन्त्रक कार्यालयले असार १५ गतेको उपप्रधान तथा अर्थमन्त्रीस्तरीय निर्णयानुसार आर्थिक कार्यविधि तथा वित्तीय दायित्व नियमावली २०७७ को नियम ३० उपनियम (१) र उपनियम (२) ले गरेको व्यवस्थाअनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा एक हप्ता अगावै भुक्तानी निकासा बन्द गर्न भनी असार १७ गते सम्पूर्ण कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा इकाई कार्यालयहरुलाई पत्राचार गरिसकेको थियो । 

त्यस्तै नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको असार २० गतेको मन्त्रीस्तरको निर्णय अनुसार सोही दिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार अन्तर्गतका कार्यक्रमहरु कोभिड १९ र ढिला गरि तेस्रो चौमासिक निकासा फुकुवा आदि प्राविधिक तथा प्रशासनिक कारणले तोकिएको कार्यक्रममध्ये भौतिक निर्माणको काम समयमा सम्पन्न हुन नसक्ने अवस्था भएको र यदि सम्पन्न नभएको अवस्थामा अर्को आर्थिक बर्षमा सोही प्रयोजनका लागि बजेट ब्यवस्था नभएकाले लेखा परिक्षण प्रतिवेदन तथा सामाजिक परीक्षण कार्यका लागि सम्बन्धित विद्यालयलाई जिम्मेवार बनाउने गरि विनियोजित रकम यथाशिघ्र विद्यालयको खातामा निकासा गर्न केन्द्रको निर्णयानुसार सबै स्थानीय तहहरूलाई पत्राचार गरेको थियो । 

यसरी शिक्षा तथा मानव स्रोत विकास केन्द्र र महालेखा नियन्त्रक कार्यालयले समय मै पत्राचार गरेपनि नगर शिक्षा शाखा र लेखा शाखाले अन्तिम अवस्थासम्म रकम निकासा नगर्नु र सफ्टवेयरको दोष देखाउनुले आफ्नो कामप्रति गैरजिम्मेवारी देखिएको अध्यक्ष सुवेदीको आरोप छ । 

समयमा रकम दिन नसकेपछि नगरपालिकाले अर्थ मन्त्रालयलाई असार ३१ गते नै प्राविधिक मूल्यांकन, अनुगमन लगायत कार्य सम्पन्न गर्दा लेखा प्रणाली सम्बन्धि सफ्टवेयर स्थानीय तह सञ्चित कोष ब्यवस्थापन प्रणाली आर्थिक वर्ष समाप्त हुनुभन्दा एक दिन अगावै देखि लेखाङ्कन गर्न नमिल्ने गरि रोक्का भएको भन्दै विभिन्न योजनाहरुको भुक्तानी गर्न नसकिएका कारण बजेट फ्रिज भएकाले बजेट ब्यवस्थापन गरिदिन पत्राचार गरेको जनाएको छ । 

नगरपालिकाले विद्यालयहरुलाई भुक्तानी दिन बाँकी  १ करोड ९ लाख ६० हजार सहित नगरका अन्य योजनाहरु समेत गरि १ करोड ८८ लाख ४० हजार ५२० रुपैयाँ ब्यवस्थापन गरिदिन अर्थमन्त्रालयलाई पत्राचार गरिएको प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईंले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप