‘उ बेला श्री ५ बाट, अहिले श्रीमान् ५ बाट फैसला आयो’
नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले संविधानको धारा ७६ (५) को अपव्याख्या अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको आरोप लगाएका छन् । अदालतको फैसलाले शक्ति पृथकीकरणको सिद्धान्तलाई खलबल्याएको तथा निर्दलीयताको अभ्यास लादेको दाबी उनको थियो । माघ १९ को शाही कूको उदाहरण दिँदै उनले भने,‘उ बेला श्री ५ बाट अहिले श्रीमान् ५ बाट फैसला आयो ।’
ज्ञवालीले इतिहासलाई यसरी सम्झिए :
मलाई इतिहासको स्मरण भइरहेको छ । इतिहास दुईचोटी दोहोरिन्छ ः एक पटक दुखान्तका रूपमा, अर्को पटक प्रहसनका रूपमा । आज प्रधानमन्त्रीको रूपमा भर्खरै विश्वासको मत मागेर यहाँबाट फर्कनु भएका सम्माननीय शेरबहादुर देउवा २०४८ सालपछि बनेको सरकारमा गृहमन्त्री हुनुहुन्थ्यो । ०५१ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि मतदान हुँदा ३६ जना काङ्ग्रेसकै सांसद अनुपस्थित भए र, सरकार ढल्यो । नेपालको संसदीय इतिहासमा दलभित्रको विभाजनले निम्त्याएको पहिलो घटनाको साक्षी उहाँ नै हुनुहुन्छ ।
०५३ सालमा मनमोहन अधिकारीलाई विस्थापित गरेर उहाँ प्रधानमन्त्री हुनुभएको थियो । उहाँकै पार्टीका दुई जना सांसदे विश्वासको मत दिन अनुपस्थित भएपछि सरकार ढल्यो । उहाँ ५९ सालमा प्रधानमन्त्री हुँदा सङ्कटकाललाई निरन्तरता दिने कि नदिने भनेर संसद्मा छलफल चल्दै थियो, त्यति बेला पार्टीका तर्फबाटै असहयोग हुने देखेपछि उहाँले संसद् विघटन गर्नुभयो र चुनाव घोषणा गर्नु भयो । चुनाव हुन सकेन र यही आधारमा उहाँलाई अक्षम घोषणा गरेर राजाले सत्ता हातमा लिए ।
नेपालको संसदीय इतिहासमा दलहरूको विभाजनले सरकार गिराउने, संसद् कमजोर बनाउने, प्रजातान्त्रिक व्यवस्थाप्रति वितृष्णा गराउने काम गरेको छ । दलीय विभाजनको सिकार भएर पहिले गृहमन्त्री र दुईचोटी प्रधानमन्त्रीका रूपमा बाहिरिनु भएका प्रधानमन्त्री शेरबहादुर देउवा आज ७६ (५) को सहारा लिएर प्रधानमन्त्री बन्दै हुनुहुन्छ । संविधानको अपव्याख्या गरेर जस्केलाबाट निर्दलीयता छिराउने काम भइरहेको छ । म उहाँलाई कसरी शुभकामना दिऊँ ।
मलाई एउटा याद आयो । २०६१ सालमा हुनसक्छ, शेरबहादुर देउवा राजाबाट नियुक्त हुनुभयो । त्यसभन्दा अघि असोजमा पदमुक्त हुनुभएको थियो । तर त्यस वेला उहाँले आज मैले न्याय पाए भन्नुभयो । उति वेला श्री ५, अहिले श्रीमान् ५ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण