शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

तत्काल बुढीगण्डकी आयोजना अघि बढाउन आग्रह, प्रभावित क्षेत्रका बासिन्दाको माग सम्बोधन गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

आइतबार, ०३ साउन २०७८, १६ : ३९
आइतबार, ०३ साउन २०७८


बूढीगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्र गोरखा र धादिङका जनप्रतिनिधिसहितका स्थानीयले तत्काल आयोजना अघि बढाउन आग्रह गरेका छन् । उनीहरुले प्रभावित क्षेत्रका बासिन्दाको माग सम्बोधन गर्दै आयोजना तत्काल अघि बढाउन अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरसँग आग्रह गरेका हुन् । 

आइतबार सिंहदरबारमा अर्थमन्त्रीको ध्यानकर्षण गराउन पुगेका जनप्रतिनिधिसहितका सरोकारवालाहरूले बूढीगण्डकी आयोजनाले  मुआब्जा वितरणमा रासकट्टी गरेको विषयमा पनि अर्थमन्त्रीको ध्यानाकर्षण गराए । 
 रासकट्टीको निर्णय  खारेज नगरिए प्रभावित क्षेत्रका बासिन्दा थप मारमा पर्ने भन्दै यो समस्याको समाधान तत्काल हुनुपर्ने उनीहरुको धारणा थियो । 

प्रतिनिधिसभा सदस्य हरिराज अधिकारीले मुआब्जाको विषयमा कतिपय द्विविधा अझैपनि कायम रहेको भन्दै समस्या समाधान गरिनुपर्नेमा जोड दिए । 
उनले रासकट्टाको निर्णय जनतामारा रहेको उल्लेख गर्दै यसबारे अर्थमन्त्रीले निर्णय लिएर जनताको पक्षमा काम गर्नुपर्ने ध्यानाकर्षण गराए । 

यसैगरी सांसद जगत सिंखडाले पहिला पनि देउवा सरकारले स्वदेशी लगानीमा आयोजना बनाउने निर्णय गरेको र अर्थमन्त्रीको पनि ऊर्जा मन्त्री हुँदा यसमा उल्लेखनीय भूमिका रहेको स्मरण गर्दै फेरि अर्थमन्त्रीले पहल लिनुपर्ने बेला आएको बताए । 

जवाफमा अर्थमन्त्री शर्माले आयोजना प्रभावित क्षेत्रका बासिन्दाको मागप्रति आफू सकारात्मक रहेको भन्दै यो विषयमा बुझेर उपयुक्त निर्णयमा पुग्ने बताए । 
उनले भने, 'मलाई १५ दिनको समय दिनुस् सबै बुझेर तपाईँहरूलाई सकारात्मक निर्णय दिनेछु ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप