शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय

अफगान राजदूतकी छोरीमाथि भएको कुटपिटमा इमरान खानको अल्टिमेटम

आइतबार, ०३ साउन २०७८, १४ : १३
आइतबार, ०३ साउन २०७८

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार आफ्ना गृहमन्त्री शेख रशीदलाई इस्लामाबादमा अफगान राजदूत नजिबुल्लाह अलिखिलकी छोरी सिलसिला अलिखिललाई अपहरण गरेर कुटपिट गर्नेहरुलाई ४८ घण्टाभित्र पक्राउ गर्न अल्टिमेटमा दिएका छन् ।

इमरान खानले दोषीलाई भाग्न नदिनका लागि सबै प्रकारको संसाधन प्रयोग गर्न पनि भनेका छन् । शुक्रबार सिलसिला अलिखिललाई इस्लामाबादको एउटा बजारबाट केही अज्ञात मानिसहरुले अपहरण गरेर उनीमाथि कुटपिट गरेका थिए ।

पाकिस्तानको विदेश मन्त्रालयले एजेन्सीले दोषीलाई पक्राउ गर्न लागी परेको जानकारी दिएको छ । यसअघि पाकिस्तानका गृहमन्त्री रशिदले प्रधानमन्त्री इमरान खानले आफूलाई ४८ घण्टाभित्र अपराधी पक्राउ गर्न निर्देशन दिएको जानकारी दिएका थिए । रशिदले पाकिस्तानको सरकारले यसलाई प्राथमिकतामा राखेको पनि बताए ।

शेख रशिदले पाकिस्तानी समाचार च्यानलसँगको कुराकानीमा भने, ‘म अफगान राजदूतको परिवारको सम्पर्कमा छु । जुन ट्याक्सी ड्राइभरले अफगान राजदूतकी छोरीलाई छोडेका थिए, उनलाई पक्राउ गरिएको छ । यसका साथै, उक्त बजारमा राखिएको सीसीटीभी फुटेज पनि अनुसन्धान गरिँदैछ । ’

२७ वर्षकी सिलसिला अलिखिल शुक्रबार दिउँसो इस्लामाबादमा एउटा बेकरीबाट ट्याक्सीमा सवार भएर फर्किरहेकी थिइन् । उक्त ट्याक्सी ड्राइभरले गाडीमा अर्का एक व्यक्तिलाई पनि राखेको र उसैले सिलसिलालाई अपहरण गरे र कुटपिट पनि गरे ।

पछि सिलसिलालाई अचेत अवस्थामा बाटोको किनारामा छोडिएको थियो । उनीमाथि कुटपिट भएको मेडिकल रिपोर्टमा पुष्टि भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप