बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

पण्डित दीनबन्धु पोखरेलद्वारा दलित समुदायबाट मूल पूजारी घोषणा

शनिबार, ०२ साउन २०७८, २१ : १७
शनिबार, ०२ साउन २०७८

जातीय विभेदमुक्त समाज निर्माणका लागि दलित समुदायबाट गणेश मन्दिरको मूल पुजारी घोषणा गरिएको छ । 

ललितपुरको गोदावरी नगरपालिका–१ गोदामचौरमा निर्माण हुन लागेको गणेश मन्दिरका लागि स्थानीयवासी लक्ष्मण रम्तेललाई मूल पुजारी बनाउने घोषणा गरिएको हो । 

सनातन गोरक्ष राष्ट्र नेपालले आज गोदामचौरमा आयोजना गरेको कार्यक्रममा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले रम्तेललाई कर्मकाण्ड सिकाएर मुख्य पुजारी बनाउने घोषणा गरे । 

सो अवसरमा पण्डित पोखरेलले शासकले आफू अनुकूल शासन गर्नका लागि व्यक्तिलाई विभाजन गरेको भन्दै मानव जातलाई एउटै जात बनाउनका लागि दलितको छोरालाई पुजारी बनाइएको बताए । “पछिल्लो समय नेपालमा जात र धर्मबीच द्वन्द्व फैलाउन खोजिएको छ, यसप्रति सबै सजग हुनुपर्छ”, उनले भने ।

पण्डित पोखरेलले छुवाछूत र विभेदमुक्त समाज निर्माणका लागि भागवत सप्ताहमार्फत अभियान सञ्चालन गरिरहेको अवस्थामा पण्डित नारायणप्रसाद पोखरेलको हत्या भएको स्मरण गरे । 

    क्षेत्री समाज राष्ट्रिय महासङ्घका अध्यक्ष विष्णुबहादुर खड्काले विभेदमुक्त समाज निर्माणका लागि सनातन गोरक्ष राष्ट्र नेपालले अगाडि सारेको अभियान सराहनीय रहेको बताए । 

    विश्वकर्मा समाज नेपालका अध्यक्ष गोपालप्रसाद विश्वकर्माले समाजमा दलितमात्र नभई हरेक समुदायमा विभेद भएको भन्दै उक्त विभेदका विरुद्धमा युवाहरु अगाडि बढ्नुपर्ने उल्लेख गरे । 

    सनातन गोरक्ष राष्ट्र नेपालका संयोजक अर्जुन रानाले दलित समुदाय सीप र कलाको धनी समुदाय भएकाले उनीहरुलाई राम्रो व्यवहार गरेर देशको विकासले गति लिने बताए । विसं २०७५ मा स्थापना भएको सनातन गोरक्ष राष्ट्र नेपाल विभेदमुक्त समाज निर्माणका लागि देशभर अभियान सञ्चालन गर्दै आइरहेको अध्यक्ष रानाले बताए । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप