ad
x

ट्र्याक खुलेको २९ वर्षमा सडक कालोपत्र

person explore access_timeसाउन २, २०७८ chat_bubble_outline0

ट्र्याक खुलेको २९ वर्षपछि सडक कालोपत्र गरिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शहीद गीता मोटरमार्गको टुँडा खण्ड २९ वर्षपछि कालोपत्र गरिएको हो । विसं २०४९ जेठ २ गते ट्र्याक खोलिएको उक्त खण्डमा ३०० मिटर सडक कालोपत्र भएपछि स्थानीयवासी खुशी छन् । स्थानीयवासी हर्कबहादुर गुरुङले लामो समयपछि सडक कालोपत्र हुँदा खुशीको सीमा नै नरहेको बताए । “त्यतिबेला मिर्छुलुङको बाटो खन्ने कुरा थियो । हामीले पनि यहाँ बाटो खन्न माग गर्यौं । मिर्छुलुङको बाटो खन्न जाने डोजरलाई दुई दिन रोकेर यहाँको बाटो खन्न दिएपछि ट्र्याक खोलिएको थियो”, उनले भने । 


तत्कालीन समयमा भिमाद हुँदै तनहुँका दक्षिण क्षेत्र जाने मुख्य सडक नै यही थियो । अहिलेको तिमिल्सिना चोकबाट टुँडा हुँदै शान्तिनगर–स्याउली बजार झरेर भिमाद जाने सडक ट्र्याक खोलिएको थियो । केही वर्ष यही सडक चल्यो । पछि फराकिलो बनाउँदा यहाँका थुप्रै घर भत्काउनुपर्ने अवस्था आएपछि सडक भिमादचोकबाट भोटेपानी हुँदै शान्तिनगर डाइभर्ट गरिएको थियो । ट्र्याक फेरिएपछि स्थानीयवासीको चासो नहुँदा सडकको मुहार फेरिन निकै लामो समय लागेको गुरुङले बताए । गण्डकी प्रदेश सरकार, शुक्लागण्डकी नगरपालिका र स्थानीयवासीको साझेदारीमा सडक कालोपत्र गरिएको वडाध्यक्ष रामबहादुर क्षेत्री थापाले जानकारी दिए । रु ४० लाख ६० हजार ३४७ को लागतमा सडक कालोपत्र गरिएको छ । 



शुक्लागण्डकी नगरपालिकाले रु १७ लाख ५० हजार र गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले पूर्वाधार विकास कार्यक्रममार्फत रु पाँच लाख बजेट उपलब्ध गराएका थिए । स्थानीयवासीले रु १८ लाख १० हजार ३४७ लागत साझेदारी गरेका छन् । वडाध्यक्ष क्षेत्रीका अनुसार ३०० मिटर सडक कालेपत्रसँगै छ सय मिटर पक्की नाला बनाइएको छ । वडाले उपभोक्तासँगको साझेदारीमा सडक कालोपत्रलाई प्राथमिकता दिएको उनले बताए । कालोपत्र नहुँदासम्म यो सडकको अवस्था वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे थियो । 



ट्र्याक खोलेको २९ वर्षमा घरदैलोको सडक चिल्लो भएपछि स्थानीयवासीले राहतको महसुस गरेका छन् । तर टुँडाको प्रवेशद्वार खैरेनीटार साना शहरी खानेपानी आयोजनाको ट्याङ्कीबाट झण्डै ५०० मिटर सडकको अवस्था भने बिजोग छ । यो खण्ड पनि कालोपत्र गर्न स्थानीयवासीको माग छ । 







कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।