बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सैनिक ‘कू’ पछि म्यानमारमा ७५ बालबालिका मारिए, १ हजार जेलमा : राष्ट्रसंघ

शनिबार, ०२ साउन २०७८, १८ : ००
शनिबार, ०२ साउन २०७८

म्यानमारमा सैनिक ‘कू’ भएयता ७५ जना बालबालिकाको मृत्यु भएको र झन्डै १ हजार नाबालिग पक्राउ परेको विश्वासिलो सूचना प्राप्त भएको राष्ट्रसंघले जनाएको छ । कोभिड १९ ले सिर्जना गरेको स्वास्थ आपतकालबीच देशमा राजनीतिक संकट गहिरिँदै गएको पनि राष्ट्रसंघका विज्ञहरुले जनाएका छन् । ‘म्यानमारका बालबालिका कब्जामा छन् र सैन्य ‘कू’ का कारण जीवनको विध्वंशकारी क्षति व्यहोर्दैछ’ बालअधिकार कमिटीका प्रमुख मिकिको ओटानीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

१ फेब्रुअरीमा अङ सान सुकीको जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएको थियो । त्यसयता, मानिसहरु निरन्तर सडकमा ओर्लिएका छन् । यता, सैनिक सरकारले प्रदर्शनकारीमाथि निर्मम दमन गरिरहेको छ । ‘यस आपराधिक हिंसाको मारमा बालबालिका पनि परेका छन् । गोली प्रहार र पक्राउका घटना दिनहुँ भइरहेका छन्’ ओटानीले भने ।

राष्ट्रसंघको कमिटीमा १८ जना स्वतन्त्र विज्ञहरु छन् । उनीहरुलाई बालअधिकार सम्बन्धी महासन्धि कार्यान्वयन भए÷नभएको निगरानी गर्ने जिम्मा दिइएको छ । यस महासन्धिमा १९९१ मा म्यानमारले पनि हस्ताक्षर गरेको थियो । तर म्यानमारका सैनिक शासकले विपरीत रवैया देखाएका छन् ।

उनीहरुले बालबालिकामाथि गरेको दमनको राष्ट्रसंघका विज्ञहरुले निन्दा गरेका छन् । शुक्रबार मन्डाले क्षेत्रबाट सात जना गाउँलेहरुलाई सेनाले पक्राउ गरेको छ । यसमा १२ र १५ वर्षका दुई नाबालिगहरु रहेको म्यानमार न्युज वेभसाइटले जनाएको छ । मन्डाले शहरमै प्रहरीको गोली पेटमा लागेर एक ६ वर्षकी बालिकाको मृत्यु भएको थियो । राष्ट्रसंघले विज्ञप्ति जारी गर्दै यस घटनाको निन्दा गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप