शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

बाँकेमा खडेरीले धान सुक्दै

शनिबार, ०२ साउन २०७८, १५ : ४०
शनिबार, ०२ साउन २०७८

बाँकेमा लामो समयदेखि वर्षात् नभएपछि किसानले खेतमा रोपेको धान सुक्दै गएको छ । करिब तीन सातादेखिको खडेरीले बाँकेको कृषिमा नराम्रो असर परेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिए ।

उनका अनुसार असारको शुरुआतमै राम्रो वर्षात् भएपनि अहिले लामो समयदेखि पानी नपर्दा खेतमा रोपिएको धान सुक्दै गएको छ । पानी अभावमा धान रोपेको खेतमा धजा फाट्दै जाँदा किसान चिन्तित भएका छन् । बाँकेमा हालसम्म ८५ प्रतिशत रोपाइँ भएको छ । वर्षात् नभएका कारण १५ प्रतिशत रोपाइँ हुन बाँकी छ । खडेरीले रोपेको धान सुक्दै गएपछि खजुरा क्षेत्रका किसानले पानी माग्दै पूजासमेत गर्न थालेका खजुरा गाउँपालिका–२ निवासी किसान ताराबहादुर खत्रीले बताए ।

यहाँ केही दिनभित्रै पानी परेन भने ठूलो भू–भागमा लगाइएको धान सुक्ने अवस्था आएको छ । रोपेको धानले गाँज हाल्ने र बढ्ने बेलामा पानी नपरेकाले उत्पादनमा समेत असर पर्ने कृषि ज्ञान केन्द्रका प्रमुख ढकालले बताए । “यसपालि असार सुरुवातमै राम्रो पानी परेको थियो, किसानले बीउ राख्न र रोप्न समेत पाए, त्यसपछि पानी पर्न रोकियो”, ढकालले भने, “अहिले खेत सुकिसकेको छ, धान सुक्दै गएको छ भने १५ प्रतिशत रोपाइँ हुन सकिरहेको छैन ।”

बाँकेमा प्रति हेक्टरमा ४.३ मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । बाँकेमा ३६.५ हेक्टरमा धान उत्पादन हुने गर्दछ । सिक्टा सिँचाइ आयोजनाले पश्चिम नहरमा पानी छाडेकाले कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकाको केही भेगका किसानले खेतमा पानी हाल्न पाएका छन् । सिक्टा नहर पूर्णरूपमा सञ्चालन नभएका कारण अधिकांश किसान आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप