सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

रसुवामा सम्बन्धविच्छेदका मुद्दा बढ्दो

शनिबार, ०२ साउन २०७८, १५ : ११
शनिबार, ०२ साउन २०७८

हिमाली जिल्ला रसुवामा श्रीमान्–श्रीमतीबीच सम्बन्धविच्छेदका मुद्दा दायर गर्नेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएका छन् । न्याय सम्पादन अन्तर्गत जिल्ला अदालतमा दायर भएका मुद्दा आवश्यक प्रक्रिया पुर्याइ छिटोछरितो फैसला हुन थालेपछि अन्यायका विरूद्ध आफ्ना समस्या दर्साइ न्यायालय जानेको सङ्ख्या बढ्न थालेको हो । 

सम्बन्धविच्छेदका लागि दायर भएका मुद्दा उपर सुनुवाइका क्रममा सम्झाइ बुझाई पुनः मिलन गराउने र यदि मिल्नै नसक्ने अवस्था आएमा मात्र छोडपत्रको फैसलातर्फ सम्मानित अदालत अगाडि बढ्ने गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा श्रीमान्–श्रीमतीबीच सम्बन्धविच्छेदका मुद्दा ३२ थिए भने गत आव २०७७/७८ मा ३० मुद्दा दायर भएका अदालतका शाखा अधिकृत तहसिलदार रामचन्द्र मण्डलले जानकारी दिए ।

गत आव २०७७/७८ मा दायर भएको ४८ र विगत आव २०७६/७७ मा प्रक्रियागत रूपले जिम्मेवारी सरेका समेत ७८ मुद्दा मध्ये ४३ फैसला भएका छन् । फैसला गर्न बाँकी रहेका मुद्दाको हकमा प्रमाण बुझी फैसलाको गृहकार्यमा अगाडि बढिरहेको बताइएको छ । वार्षिक लक्ष्यअनुरुप ६५ प्रतिशत मुद्दा फछ्र्योट भइसकेका अधिकृत मण्डलले बताए ।

दायर भएका मुद्दामा सम्बन्धविच्छेद, सवारी ज्यान, बहुविवाह, जबर्जस्ती करणी, चेक बाउन्स चेक, घरेलु हिंसा, अंश चलन, अपहरण एवं शरीर बन्धक, जग्गा खिचोलाका साथै निषेधाज्ञाजस्ता प्रकरणका मुद्दा दर्ता भएका बताइएको छ ।
गत आर्थिक वर्षमा अदालतको फैसलाबाट ११ अभियुक्त कारागार चलान भएका छन् । यसरी कारागार चलान हुनेमा ज्यान मार्ने, ज्यान मार्ने उद्योग गर्ने, आँखेटोपहार, अपहरण तथा शरीर बन्धक बनाउन, बहुविवाह गर्ने र जबर्जस्ती करणीजस्ता छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप