शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

भिडन्त जारी रहेकै बेला दोहामा तालिवान र अफगान सरकारबीच छलफल

शनिबार, ०२ साउन २०७८, १५ : ०७
शनिबार, ०२ साउन २०७८

अफगान सरकार र तालिवानका प्रतिनिधिहरूबीच कतारको दोहामा उच्चस्तरीय छलफलका लागि भेट भएको छ । अफगानिस्तानमा भिडन्त जारी नै रहेका बेला सहमतिका लागि दुबै पक्षले कतारमा भेट गरेका हुन् । 
पछिल्ला केही महिनादेखि दुई पक्षबीच बारम्बार दोहामा भेट भइरहेको छ । तर, अफगानिस्तानबाट विदेशी सेना फर्कन थालेसँगै तालिवानले विभिन्न भूभागहरु कब्जा गर्दै गइरहेको छ, जसकारण अवस्था बिग्रँदो छ । 

दोहामा छलफलका लागि गएको सरकारी प्रतिनिधिमण्डलमा पूर्व प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहसहित उच्च अधिकारीहरु सहभागी छन् । ‘भेटका क्रममा अब्दुल्लाह अब्दुल्लाहले तालिवानका प्रतिनिधिसँग महत्वपूर्ण विषयहरुमा छलफल गर्नेछन्,’ अफगानी सरकारको प्रतिनिधिमण्डलका प्रवक्ता फ्राइदन ख्वाजुनले भने,‘अफगानिस्तानमा जारी द्वन्द्वको समाधान सहमतिमार्फत मात्रै निस्कन्छ । वार्ताद्वारा शान्ति हासिल गर्न सकिन्छ ।’

तालिवानका प्रवक्ता मोहम्मद नेइमले आफ्नो समूहले वार्ता र सहमतिमै जोड दिदैं आएको बताए । उनले यो समस्याको समाधान वार्ताद्वारामात्रै निस्कनसक्ने बताए । ‘तर, अफगान सरकारले पनि यस्तै प्रतिवद्धता देखाउन जरुरी छ,’ उनले भने,‘ समस्याको अन्त्यका लागि उनीहरुले सही र गम्भिर प्रतिवद्धता जनाउन आवश्यक छ ।’

अफगान सरकार र तालिवान दुबैले सहमतिको रटान दिइरहे पनि अफगानिस्तान पछिल्लो समय अवस्था खराब बन्दै गइरहेको छ । अमेरिकी तथा अन्य विदेशी सेनाले अफगानिस्तान छाड्न थालेसँगै तालिवानले देशभर हिंसा मच्चाएको छ । 

शुक्रबार तालिवानी सैनिक र अफगानी सरकारी सेनाबीच स्पिन बोल्डाकमा भिडन्त भएको थियो । पाकिस्तानसँग सीमा जोडिएको यस क्षेत्रमा तालिवानले कब्जा जमाएपछि फेरि आफ्नो प्रभाव फर्काउनेगरी सरकारी सेनाले अपरेशन सुरु गरेको हो । यो रुट अफगानिस्तान र पाकिस्तान बीचको व्यापार तथा पर्यटनको एक मुख्य रुटमध्ये हो । अफगानी सरकारका लागि यो राजस्वको मुख्य स्रोत पनि हो । तालिवानले पछिल्लो समय धेरै जिल्लाहरु कब्जा गरिसकेको छ । उसले पछिल्लो केही साताअघि ईरान, उज्वेकिस्तान र ताजाकिस्तानसँग जोडिएका क्षेत्र पनि कब्जा लिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप