साउनदेखि बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक, अब कति पाउँछन् ?

सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम् पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगान बाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक रु १५ हजार पुर्याएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय मजदूर दिवसका दिन श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी रु १५ हजार पुर्याउने घोषणा गरेका थिए । अब श्रमिकले आधारभूत पारिश्रमिक बापत रु नौ हजार ३८५ र महँगी भत्ताबापत रु पाँच हजार ६१५ गरी मासिक रु १५ हजार पाउने छन् । दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको आधारभूत पारिश्रमिक रु ३६१ र महँगी भत्ता रु २१६ गरी प्रतिदिन रु ५७७ पाउने छन् । यस्तै घन्टाको हिसाबले काम गर्ने श्रमिकको आधारभूत पारिश्रमिक रु ४८ र महँगी भत्ता रु २९ गरी प्रतिघण्टा रु ७७ पुगेको छ ।
यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक मासिक रु १३ हजार ४५० रहेको थियो । श्रम ऐन, २०७४ मा प्रत्येक दुई/दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने प्रावधान छ । श्रम ऐनअनुसार गत वर्ष नै न्यूनतम् पारिश्रमिक पुनरावलोकन हुनुुपर्ने भए पनि कोरोना महामारीका कारण अर्थतन्त्र ओरालो लागेको भन्दै सरकारले यस वर्ष मात्र पारिश्रमिक वृद्धि गरेको हो ।
रोजगारदाताले सरकारले तोकेको पारिश्रमिकका अतिरिक्त श्रम ऐन, २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र प्रचलित कानूनबमोजिम श्रमिकले पाउने सञ्चयकोष तथा उपदानलगायत सुविधा प्रदान गर्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सरकारले तोकेको न्यूनतम् पारिश्रमिकभन्दा कम पारिश्रमिक लिनेदिने गरी कुनै रोजगार सम्झौता गर्न नपाइने मन्त्रालयले स्पष्ट पारेको छ । श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिसम्बन्धी सूचना २०७८ वैशाख २० गते राजपत्रमा प्रकाशित भइसकेको छ ।
चिया बगानका श्रमिकको पारिश्रमिक १२ हजार ८१
यसैबीच सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ । श्रम मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चिया बगानमा काम गर्ने श्रमिकको पारिश्रमिक मासिक रु १२ हजार ८१ तोकेको हो । यसअघि चिया बगानका श्रमिकको न्यूनतम् पारिश्रमिक मासिक रु ११ हजार ५६१ रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न