बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

शनिबार, ०२ साउन २०७८, १४ : १४
शनिबार, ०२ साउन २०७८

पहिरोका कारण शुक्रबार रातिदेखि अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सञ्चालनमा आएको छ । कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा वर्षासँगै सडकमाथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध भएको थियो । वर्षा रोकिएसँगै पहिरो पन्छाइएपछि सवारीसाधन सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्णबहादुर खड्काले जानकारी दिए । अहिले रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन् ।

लगातारको वर्षाका कारण राति नै पहिरो आएर सडक पुरिएको थियो । वर्षा रोकिएपछि बिहान सबेरैबाट एस्काभेटर लगाएर पहिरो पन्छाइएको खड्काले जानकारी दिए । यस वर्ष मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा पहिराले बढी नै असर गरेको छ । सहस्रधारा नजिकै नयाँ पुलमा केही दिन अगाडि विशाल ढुङ्गासहित खसेको पहिरो पन्छाउन एक साता लागेको थियो । ब्रेकरले ढुङ्गा फुटाउन नसक्ने भएपछि नेपाली सेनाले विस्फोटक पदार्थ प्रयोग गरेर ढुङ्गा फुटाएको थियो । 

कुश्मा–८ चुवास्थित दोबिल्लामा पनि सुन्दरे खोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गकै केही भाग क्षति गरेको थियो । बाढीले लोकमार्गकै ठेक्का लिएको लामा कन्स्ट्रक्सनको हाइलक्स गाडीसहित त्यसमा सवार इञ्जिनीयर र चालक बगाएर बेपत्ता बनाएको थियो । गाडी नजिकैको मोदी खोलामा पुगेको अवस्थामा भेटिएको भए पनि ती दुई व्यक्तिको अवस्था भने अज्ञात नै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप