कोइरालात्रयबीच २ घण्टा लञ्च मिटिङ : के–के भयो कुराकानी ?
नेपाली काँग्रेसको संस्थापक कोइराला परिवारका नेतात्रयबीच ‘लञ्च मिटिङ’ भएको छ । महामन्त्री शशांक कोइरालाको निवास महाराजगन्जमा शशांक, शेखर र सुजाता कोइरालाबीच २ घण्टा लामो लञ्च मिटिङ भएको हो ।
शेखर कोइरालाको आग्रहमा शशांक निवासमा नेतात्रयबीच लञ्च मिटिङको आयोजना गरिएको थियो ।
छलफलमा पार्टीको १४ औं महाधिवेशन र नयाँ सरकार निर्माणपछिको राजनीतिक परिस्थितिबारे कुराकानी भएको नेतृ सुजाताले रातोपाटीलाई जानकारी दिइन् । कोइराला परिवारको नेताबीच कुनै झगडा नरहेको भन्दै एकताको सन्देश दिन लञ्च मिटिङ गरिएको उनको भनाइ छ ।
सुजाताले भनिन्, ‘हाम्रो लञ्च मिटिङ भइराख्छ । हामी एकदमै मिलेका छौं । हामीहरूको बीचमा एकता छ । हामीहरुले सबै मिलेर नै जाने हो । कोइराला परिवारमा झगडा छ भन्ने हल्ला गर्छन् । त्यस्तो केही छैन । हामीबीच एकदमै समझदारी, सद्भाव र माया छ । हामी सबै संघर्ष गरेर आएको राम्रो पक्ष छ ।’
पार्टीलाई कसरी जोगाउने भन्ने आफूहरुको एउटै उद्देश्य रहेको उनले बताइन् । ‘आउँदो चुनावमा पार्टीलाई कसरी सशक्त बनाएर लिएर जाने भन्ने चिन्ता सबैलाई छ’ उनले भनिन् । समस्याका बीच १४ औं महाधिवेशन कसरी सम्पन्न गर्ने भन्नेबारे पनि छलफल भएकाे कोइरालाले बताइन् ।
उनले भनिन्, ‘पार्टीको १४ औं महाधिवेशन हुँदैछ । समस्याका बीच महाधिवेशन कसरी गराउने ? बाढी पहिरो र कोरोना महामारीको समस्या छ । भर्खर सरकार बनेको छ । यसको समाधानका कुराहरूबारे छलफल भएको छ ।’
उनका अनुसार १४ औं महाधिवेशनमा कोइराला परिवारबाट एक जना मात्र उम्मेदवार बन्ने विषयमा छलफल केन्द्रित भएको थियो । कोइराला परिवारको तीनै नेताले १४ औं महाधिवेशनमा सभापतिका दाबेदारी प्रस्तुत गरिरहेका अवस्था छ ।
कोइराला परिवारबाट एकजना सभापतिको प्रतिस्पर्धामा उत्रिए आफ्नो दाबी नरहने सुजाताको भनाइ छ । तर शशांक र शेखर अहिलेसम्म एकअर्कालाई छोड्ने पक्षमा देखिएका छैनन् । आजको छलफलमा पनि शशांक र शेखरको अडान कायमै छ ।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई १४ औं महाधिवेशनमा रोक्न आफ्नो उम्मेदवारी अपरिहार्य रहेको शशांकको भनाइ छ । यस्तै शेखरले आफ्नो तयारी राम्रो रहेको र युवा नेताहरुले साथ दिने बचन दिएकाले देउवालाई हराउने उपयुक्त पात्र आफू भएको दलिल पेस गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति