बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोइरालात्रयबीच २ घण्टा लञ्च मिटिङ : के–के भयो कुराकानी ?

शनिबार, ०२ साउन २०७८, १३ : ५०
शनिबार, ०२ साउन २०७८

नेपाली काँग्रेसको संस्थापक कोइराला परिवारका नेतात्रयबीच  ‘लञ्च मिटिङ’ भएको छ । महामन्त्री शशांक कोइरालाको निवास  महाराजगन्जमा शशांक, शेखर र सुजाता कोइरालाबीच २ घण्टा लामो लञ्च मिटिङ भएको हो । 
शेखर कोइरालाको आग्रहमा शशांक निवासमा ​नेतात्रयबीच लञ्च मिटिङको आयोजना गरिएको थियो ।

छलफलमा पार्टीको १४ औं महाधिवेशन र नयाँ सरकार निर्माणपछिको राजनीतिक परिस्थितिबारे कुराकानी भएको नेतृ सुजाताले रातोपाटीलाई जानकारी दिइन् । कोइराला परिवारको नेताबीच कुनै झगडा नरहेको भन्दै एकताको सन्देश दिन लञ्च मिटिङ गरिएको उनको भनाइ छ ।

सुजाताले भनिन्, ‘हाम्रो लञ्च मिटिङ भइराख्छ । हामी एकदमै मिलेका छौं । हामीहरूको बीचमा एकता छ । हामीहरुले सबै मिलेर नै जाने हो । कोइराला परिवारमा झगडा छ भन्ने हल्ला गर्छन् । त्यस्तो केही छैन । हामीबीच एकदमै समझदारी, सद्भाव र माया छ । हामी सबै संघर्ष गरेर आएको राम्रो पक्ष छ ।’

पार्टीलाई कसरी जोगाउने भन्ने आफूहरुको एउटै उद्देश्य रहेको उनले बताइन् । ‘आउँदो चुनावमा पार्टीलाई कसरी सशक्त बनाएर लिएर जाने भन्ने चिन्ता सबैलाई छ’ उनले भनिन् । समस्याका बीच १४ औं महाधिवेशन कसरी सम्पन्न गर्ने भन्नेबारे पनि छलफल भएकाे कोइरालाले बताइन् ।

उनले भनिन्, ‘पार्टीको १४ औं महाधिवेशन हुँदैछ । समस्याका बीच महाधिवेशन कसरी गराउने ? बाढी पहिरो र कोरोना महामारीको समस्या छ । भर्खर सरकार बनेको छ । यसको समाधानका कुराहरूबारे छलफल भएको छ ।’

उनका अनुसार १४ औं महाधिवेशनमा कोइराला परिवारबाट एक जना मात्र उम्मेदवार बन्ने विषयमा छलफल केन्द्रित भएको थियो । कोइराला परिवारको तीनै नेताले १४  औं महाधिवेशनमा सभापतिका दाबेदारी प्रस्तुत गरिरहेका अवस्था छ ।

कोइराला परिवारबाट एकजना सभापतिको प्रतिस्पर्धामा उत्रिए आफ्नो दाबी नरहने सुजाताको भनाइ छ । तर शशांक र शेखर अहिलेसम्म एकअर्कालाई छोड्ने पक्षमा देखिएका छैनन् । आजको छलफलमा पनि शशांक र शेखरको अडान कायमै छ ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई १४ औं महाधिवेशनमा रोक्न आफ्नो उम्मेदवारी अपरिहार्य रहेको शशांकको भनाइ छ । यस्तै शेखरले आफ्नो तयारी राम्रो रहेको र युवा नेताहरुले साथ दिने बचन दिएकाले देउवालाई हराउने उपयुक्त पात्र आफू भएको दलिल पेस गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप