केन्द्रीय संस्करण

प्रेरक व्यक्तित्व : ईश्वरचन्द्र विद्यासागर

person explore access_timeसाउन २, २०७८ chat_bubble_outline0

ईश्वरचन्द्र विद्यासागरको नाम नसुन्ने कमै हुनुपर्छ । उनको खास नाम ईश्वरचन्द्र बन्धोपाध्याय हो । अद्वितीय विद्वदताका कारण विद्यासागर उपाधि प्राप्त भएको थियो । त्यसपछि यसै नामले विश्वविख्यात भए । २६ सेप्टेम्बर १८२० का दिन पश्चिम बङ्गालमा जन्मेका विद्यासागरका बाबुको नाम ठाकुरदास बन्धोपाध्याय र आमाको नाम भगवतीदेवी थियो, जो अति गरीव परिवारमा पर्थे ।

विद्यासागरले प्रारम्भिक शिक्षा गाउँमै प्राप्त गरे । थप अध्ययनका लागि ६ वर्षको उमेरमा कलकत्ता आएका थिए तर शहरमा बसेर आफ्नै खर्चले पढ्ने हैसियत थिएन । त्यसैले कसैको घरमा बसेर पढ्न लागे । बिहान बेलुका घरको काम गर्थे दिउसो स्कुल जाने गर्थे ।

सन् १८२९ मा संस्कृत कलेजमा भर्ना पाए । सानोतिनो छात्रवृत्ति मिल्थ्यो र त्यसबाट जेनतेन उनको खर्च चले पनि घरको गरीवी यथावत थियो । त्यसैले पढाइलाई निरन्तरता दिँदै कुनै स्कुलमा पढाउन थाले, जसले घरको अभाव टार्न सहयोग गथ्र्यो । सन् १९४९ सम्ममा उनको स्कूलको पढाइ पूरा भयो । त्यतिबेलासम्ममा सवै शास्त्रको ज्ञाता भइसकेका थिए ।

उनी बहुमुखी प्रतिभाको धनी थिए । ज्ञानी, थिए, गुणी थिए, नम्र थिए, शिष्ट थिए, विवेकी, परोपकारी र समाज सुधारक थिए । पुनर्जागरण युगको खम्बा नै मानिन्थे । उनले शिक्षा र समाज सुधारको क्षेत्रमा जेजति गरे औसत मानिसले गर्न सक्नेभन्दा बढी नै गरेका छन् । नचाहिने कामको बिरुद्ध  चट्टान भएर उभिने र चाहिने काममा नौनीभन्दा पनि नरम हुने उनको विशेषता थियो । त्यतिबेला भारतमा ब्रिटिस शासन थियो । गोरा शासकहरूका अघि भारतीयहरूको खासै भाउ थिएन तर उनीसित भने गोराहरू पनि डराउँथे । 

तत्कालीन भारतीय समाज बालविबाह र बहुविवाहको रोगले ग्रस्थ थियो । महिलाहरू पुरुषको खेलौनामा सीमित थिए । आठ वर्षका कन्याहरू आफूभन्दा आठ दस गुणा बढी उमेरका पुरुषसित विवाह गरी नारकीय जीवन बिताउन वाध्य हुन्थे । यसलाई हटाउन विद्यासागरले सर्वप्रथम नारी शिक्षामा जोड दिए । उनी गाउँगाउँमा कन्या विद्यालय खोेल्थे र घरघरमा गएर अविभावकसित छोरी पढाउन प्रेरित गर्थे । उनी एक्लैले खोलेका यस्ता स्कुलका सङ्ख्या तीन दर्जनभन्दा बढी थिए । 

त्यसपछि विधवा विवाहको विरुद्धमा लागे तर यो काम त्यति सजिलो थिएन । पहिलो कुरा समाज आफैँ तयार थिएन । दोस्रो कुरा सरका पनि विरुद्धमा थियो तर उनले हार खाएनन् । निरन्तरको प्रयासस्वरूप सन् १८५६ मा विधवा विवाह विरुद्धको कानून पास गराउन सफल भए र समाजलाई प्रेरित गर्न आफ्ना एकमात्र छोरा नारायणचन्द्रको विवाह विधवासित गराएर देखाए ।

उनको शिक्षा दिने तरिका नै बेग्लै थियो । उनी कसैलाई पनि सिधै यसो गर र त्यसो नगर भन्दैन थिए । कामबाटै गर्नुपर्ने र गर्न नहुने कामको शिक्षा दिँदै हिँड्थे । यसबाट विद्यार्थीदेखि समकक्षी शिक्षकहरू र उनकै गुरुहरूले समेत शिक्षा पाएका छन् । समयमा स्कुल नआउने शिक्षकहरूलाई विनम्रतापूर्वक भरखर आउँदै हुनुहुन्छ भन्ने गर्थे । फलत उनीहरू लाजले भुतुक्कै हुन्थे र भोलिपल्टदेखि समयमै आउने गर्थे ।

ढिलो आउनेमा एकजना उनकै गुरुसमेत थिए । उनलाई समेत शिक्षा दिने विचार गरी ढोकामा बसेर उनी आउने बाटो हेर्ने गर्थे । जब गुरु आउँथे नमस्कार गरी फर्कने गर्थे । केही दिन यसैगरी बित्यो । बिस्तारै गुरुलाई पनि लाज लाग्न थाल्यो र समयमै आउन थाले ।

उनको विद्यार्थी तथा युवावर्गलाई शिक्षा दिने तरिका योभन्दा पनि रमाइलो छ । एकपटक कतै जाँदै थिए । एउटा युवक रेल्वे स्टेसनमा कुल्ली बोलाउँदै रहेछन् । उनले युवकको सामान उठाउन सहयोग गरे । यस वापत युवकले पैसा दिन खोज्दा उनले अस्वीकार गर्दैैै भने–

‘भो मलाई पर्दैन । दिने नै भए कुनै आवश्यक पर्ने मानिसलाई दिनु ।’

भोलिपल्ट युवक जुन कार्यक्रममा गएका थिए त्यहाँको प्रमुख अतिथि उनैलाई पाए । त्यसपछि युवकले दुखित हुँदै माफी माग्दा उनले सम्झाउँदै भने–

‘माफी माग्नुपर्दैन भाइ ! आइन्दा आफ्नो काम आफैँले गर्ने गर्नु । काम गरेर कोही  पनि सानो हुँदैन ।’

त्यस्तै एकदिन कतै जाँदै थिए एक जना युवकले पैसा मागेको देखेर सम्झाउँदै भने–

‘मैले चार आना दिएँ भने के गर्छौ ?’

युवकले भन्यो–

‘परिवारको छाक टार्छु ।’

उनले पुनः सोधे–

‘एक रुपियाँ दिएँ भने नि ?’

युवकले भन्यो–

‘सानोतिनो व्यपार गर्छु ।’

त्यसपछि उनी एक रुपियाँ दिएर हिँडे । त्यसबाट युवकले व्यापार सुरू ग¥यो र एक दिन नामूद व्यपारी बन्यो । उनी एकदिन त्यतै जाँदै थिए युवकले देख्यो र पसल देखाउँदै भन्यो–

‘हजुरको ऋणी छु । सायद यो जीवनमा चुकाउन सक्दिनँ ।’

युवकको कुरा सुनेर उनले सम्झाउँदै भने–

‘चिन्ता गर्नुपर्दैन भाइ ! आवश्यक पर्नेलाई यसैगरी सहयोग गर्ने गर्नु स्वतः ऋण चुक्ता हुनेछ ।’

यी केही उदाहरण हुन् । वास्तवमा उनी थिए नै त्यस्तै ।

उनको आफूभन्दा ठूलालाई आदर तथा साना र दुखीलाई दया, माया गर्ने तरिका पनि छुट्टै थियो ।

एक दिन उनको घरमा एउटी बुढी आँवै आएर खाने कुरा मागिन् । उनले आमासित केही दिन आग्रह गरे तर घरमा खाने चीज केही थिएन । त्यसपछि उनले आमालाई सम्झाउँदै भने–

‘अहिले तपाईँको हातको चुरा दिएर पठाइदिऊँ । पछि कमाएर अर्कै बनाइदिनेछु ।’

छोराको कुरा सुनेर आमाको मन पग्ल्यो र त्यस्तै गरिन् । पछि आमालाई चुरा बनाइदिन खोज्दा आमाले भनेकी थिइन्–

‘गाउँमा स्कुल तथा औषधालय र रोजगारको व्यवस्था गर्नु त्यही नै मेरो गहना हुनेछ ।’

उनले आमाको यस वचनलाई गुरुमन्त्र मानेर पूरा जीवन त्यसैमा समर्पित भएर लागे । समाजको सेवा गरेर कहिल्यै नथाक्ने यस्ता महापुरुषले सन् १८९१ मा ७० वर्षको उमेरमा संसारबाट विदा लिए । जीवनमा जति गरे समाजकै लागि गरे र समाजबाट जेजति लिए समाजलाई नै दिएर गए ।      

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.