‘नेताभन्दा कलाकारले देश राम्ररी हाँक्न सक्छन्’
नवल खड्का चलचित्र क्षेत्रमा नायक÷निर्माताको रूपमा परिचित छन् । थुप्रै फिल्मका नायक रहेका उनी अब निर्देशकका रूपमा पनि अगाडि आउने तरखरमा छन् । आफैँले बनाउन लागेको फिल्म ‘काँडेतार’ उनले नै निर्देशन गर्दैछन् । चलचित्र कलाकार सङ्घ, चलचित्र निर्माता सङ्घ नेपाललगायत थुप्रै सङ्घसंस्थाको नेतृत्वमा रहेर कामसमेत गरेका खड्काले अवार्ड र सम्मानसमेत प्रशस्तै पाएका छन् । पछिल्लो समय चेतनाको बिगुल फुक्ने खालका फिल्म निर्माणमा सक्रिय उनी २०४८ सालयता चलचित्र अभिनय, निर्माणमा लगातार सक्रिय छन् । केही राष्ट्रिय गीतका म्युजिक भिडियो अभिनय गरेका उनको राजनीतिप्रति पनि रुचि रहेको छ । कलाकारितामा नआएको भए आफू राजनीतिमा हुने उनी बताउँछन् । उनको राजनीतिमा आउने इच्छा पनि रहेको छ । जनताका भावना, चाहना, दुःख पीडा बुझेर मात्र कलाकारले अभिनय गर्ने भएकाले राजनीतिक नेताले भन्दा जनताको भावना कलाकारले बुझ्ने उनी बताउँछन् । राजनीतिक नेताले भन्दा कलाकारले देश राम्रोसँग हाँक्नसक्ने विचार राख्ने कलाकार नवल खड्काको जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।
कलाकारिता
पेसा, धर्म, कर्म जे भने पनि मेरो कलाकारिता नै हो । विसं २०४८ सालपछि म कलाकारितामै छु । ०४८ मा भिडियो फिल्म ‘अधुरो प्रेम’, ‘चन्द्र सूर्य’, ‘जीवन सङ्घर्ष’ लगायतमा हिरोको रूपमा अभिनय गरेको मैले ठूलो पर्दामा ‘गुन्युचोली’ फिल्मबाट पाइला राखेको हो । फिल्म अभिनयबाट सोही वर्ष मैले सर्वाेत्कृष्ट नायकका रूपमा कलिउड सिनेमा अवार्ड प्राप्त गरेका थिए ।
त्यसपछि तिम्रै लागि, मनै त हो, पागल छ यो मन, किन माया लाएछु, क्रान्ति, देशद्रोही, माया बसेछ, आवाज, दशगजा, भीमदत्त लगायत फिल्म अभिनय गरेको मैले माया बसेछ, आवाज, दशगजा, भीमदत्त, पोखराकी काली फिल्मसमेत निर्माण गरेको छु । फिल्म पोखराकी काली भने रिलिज हुन बाँकी छ ।
अहिले एउटा फिल्म बनाउने तयारीमा छु । जसको नाम ‘काँडेतार’ रहेको छ । दुई वर्ष अगाडि नै सुटिङमा जाने तयारी भएको यो फिल्म कोरोनाको कारण सरेको थियो । माहोल मिल्नासाथ सुटिङ गर्ने योजना रहेको छ । ‘काँडेतार’ शङ्कर कार्की र म मिलेर निर्देशन गर्दैछौँ ।
२, ४ वटा देशभक्तिले भरिएका गीतको म्युजिक भिडियो अभिनय गरेको मेरो कलाकारिताप्रति मोह सानोमा थिएँ । गाउँमा ८, ९ कक्षामा पढ्दा साथीभाइ सबैले हिरो जस्तो छ, हिरो हुन्छ भन्थे । त्यसैमा रमाउँथे म । देशकै विकट गाउँ खोटाङमा जन्मिए मलाई सो समय हिरो भनेको के हो थाहा थिएन । न फिल्म हरेको नै थिए ।
सोही समय एक पटक काठमाडौँ आउन पाएको थिएँ । उक्त समय कुमारी हलमा ‘माया प्रीति’ भन्ने फिल्म हेर्ने अवसर मिल्यो । फिल्ममा रवीन्द्र खड्का र कृष्ण मल्ल हिरो थिए । त्यो समय खड्का पनि हिरो हुँदो रहेछन् भन्ने प¥यो । पर्दामा ठूलो मानिस देख्दा आफू त्यत्रो मानिस होइन, हिरो हुन्न भन्ने फिल भयो र गाउँ नै फर्किएँ । ९ कक्षामा साइन्स पढ्दा लेन्सका बारेमा पढ्ने सिलसिलामा मानिसलाई सानो ठूलो देखाउन मिल्ने जानकारी मिल्यो । त्यसपछि मलाई लाग्यो म हिरो हुन सक्दो रहेछु । त्यसैले एसएलसी सकाएर काठमाडौँ छिरेँ । काठमाडौँमा बाटोमा, बसमा र कलेजमा सबैले त हिरो होस् भनेर सोध्थे । त्यसरी सोध्दा म हिरो हुन सक्छु भन्ने आत्मविश्वास पलायो । अमृत शर्मा भन्ने सँगै कलेज पढ्ने साथीसँग मिलेर हिरो बन्ने चक्करमा हिँडे । ऊ निर्देशक बन्न चाहन्थ्यो । त्यही सिलसिलामा २०४८ बाट मेरो अभिनय यात्रा सुरु भयो ।
अभिनयकै सिलसिलामा ०६२, ०६३ को जनआन्दोलनपछि जनताको विषयमा फिल्म बन्न थाले । मलाई पनि पहिलेदेखि नै जनताका विषयमा, इतिहास र वीरका कथामा फिल्म बनाउन सानैदेखि मन थियो । त्यसैले आवाज, भीमदत्त, दशगजा लगायत फिल्म बनाएँ ।
मैले चलचित्र बनाएका कारण जनताका लागि लड्ने ऐतिहासिक पात्र भीमदत्तलाई ६२ वर्षपछि राज्यले सहिद घोषणा ग¥यो । अब बनाउने फिल्म ‘काँडेतार’ले देशको भूभाग जोगाउन सीमाका काँडेतार लगाउनुको विकल्प नभएको बुझाउँछु । मेरो विचारमा चलचित्रको माध्यमबाट राज्य सञ्चालन गर्ने व्यक्तिलाई पनि डो¥याउन सकिन्छ ।
कलायात्राको जीवनमा १२, १५ भन्दा बढी चलचित्रलगायत विभिन्न सङ्घसंस्थामा रहेर काम गरेको छु । चलचित्रमा नआएको भए म राजनीतिमा हुन्थेँ र जनताकै लागि लड्थेँ ।
दुःख
सोचेजस्तो आर्थिक उन्नति हँुदैन । समय अभावका कारण जन्मदिने बुबाआमा, परिवारमा निर्वाह गर्नुपर्ने दायित्व पूरा गर्न सकिँदैन, चाहना हुँदा पनि सँगै बस्न, सेवा गर्न सकिँदैन यो कुरोमा कलाकार भएकोमा दुःख लाग्छ ।
अर्काे कुरा देशभक्तिले पूर्ण चलचित्र बनाउँदा राज्य र पब्लिकको साथ मिल्दैन । राष्ट्रवादी भनेपछि देशमा नाक खुम्च्याउने संस्कार छ । त्यसले चित्त दुख्छ ।
राजनीति
अहिलेसम्म राजनीतिक आउने कुनै सोच छैन । पहिलो पुस्ताका नेताहरू अहिले जति छन् । अब यहाँहरूले अभिभावकत्वको भूमिका निर्वाह गरेर दोस्रो पुस्तालाई अगाडि बढाउनुप-यो । युवा नेताले नेतृत्व गर्दा देश बन्छ भन्ने लाग्छ । केही वर्षभित्र राजनीतिमा आउनुपर्ने अवस्था बन्छ र आवश्यक देखिन्छ भने म पनि आउँछु । चलचित्रको नायक भनेर चिन्छन् । राष्ट्रको नायक भएर चिनिने रहर पनि मनको कुनै कुनामा छ । मेरो विचारमा नेताले भन्दा राम्रो गरी कलाकार देश हाँक्न सक्छन् । त्यसका लागि कलाकार सक्षम छन् । किनभने जनताको भावना, चाहना, दुःखपीडासँग भिजेर अभिनय गर्दा कलाकारले नेताले भन्दा देश र जनता बढी बुझेका हुन्छन् ।
कलाकार भन्ने बित्तिकै आवश्यक परे प्रयोग गर्ने र अन्य समय नाक खुम्च्याउने परिपाटी देशमा छ । त्यो सबैभन्दा खतरनाक हो ।
भूल
अन्जानमा भूल केही भए कि । जानाजान भने अहिलेसम्म केही भूल गरेको छैन । अहिलेसम्म जीवनमा पछुताउनुपर्ने कुनै भूल भएजस्तो लाग्दैन ।
खाना
दाल, भात, तरकारीको अतिरिक्त ढिँडो, गुन्द्रुक पनि बढी मनपर्छ । मन नपर्ने परबरको तरकारी हो । माछा, मासुलगायत सबथोक खान्छु । म फिल्म क्षेत्रको मानिस हुँ । साथीभाइ, पत्रकार लगायतसँग भेटघाटमा रेस्टुरेन्टमै धेरै गइन्छ । परिवारसँग पनि जान्छ ।
कोरोना आएको यो दुई वर्षदेखि भने धेरै गएको छैन । रेस्टुरेन्टमा धेरै खाने मम, चाउमिन हो । पकाउन रुचि छ । घरमा कहिलेकाहीँ आफैँ पकाउँछु ।
फिट्नेस
फिट्नेसका लागि नियमित योग गर्छु । त्यसपछि शारीरिक एक्सरसाइजका विभिन्न आइटम गर्छु । बिहानको समय करिब २ घन्टा एक्सरसाइजमा बित्छ मेरो ।
कोरोना अगाडि मर्निङवाक, जिम क्लबसमेत जान्थेँ । घरमा डम्बेल, पेट घटाउनेसहित केही एक्सरसाइजका सामान छन् ।
पोसाक
सर्ट, पाइन्ट मैले बढी प्रयोग गर्ने पहिरन हो । विशेष कार्यक्रममा दौरासुरुवाल, कोट पाइन्ट प्रयोग गर्छु । पछिल्लो समय कपाल पातलो भएकाले टोपी वा क्यापसमेत लगाउँछु ।
सबै कलरको पहिरन प्रयोग गर्छु । पहिरनमा मनपर्ने कलर कालो हो । पोसाक कहिले ब्रान्डेड हेर्छु, कहिले मनपरेको नर्मल पनि लिन्छु । रेडिमेटको अलवा सिलाएरसमेत लगाउने बानी छ ।
अध्ययन
अध्ययनमा रुचि छ । पछिल्लो समय जारी निषेधाज्ञामा पनि मैले २५ वटा जति पुस्तक अध्ययन गरेँ होला । पहिलो लकडाउनमा धेरै लेख समेत लेखेको थिएँ । अहिले भने लेख्न जाँगर चलेन ।
पत्रपत्रिका, अनलाइन, ठूलाठूला व्यक्तिका जीवनी, राजनीतिक पुस्तक, कथा, कविता, ऐतिहासिक किताबहरू पढ्छु । पछिल्लो समय पढ्दै गरेको पुस्तक ‘स्वर्णिम रहस्य’ भन्ने रहेको छ । यो पुस्तक खेम शर्मा भन्ने साथीले अस्ट्रेलियाबाट पठाएका हुन् ।
घुमघाम
घुमघाममा रुचि छ । अहिलेसम्म देशका ७७ जिल्ला पुगिसकेँ जस्तो लाग्छ । विदेशका युरोप, अमेरिका, हङकङ, सिङ्गापुरलगायत खाडी मुलुक सबै पुगेको छु । करिब ३५ देश घुमिसकेँ होला कि ।
पहाडमा हुर्किएको भएकाले होला डाँडापाखा, हिमाल, झरना, हरियाली, ताललगायत प्राकृतिक सौन्दर्यले भरिएका ठाउँ नै विशेष लाग्छ ।
फुर्सद
कोरोनाले गर्दा विगत दुई वर्षदेखि फुर्सद नै फुर्सद छ । पहिले पहिले फुर्सद हुँदैन थियो । परिवारलाई आवश्यक पर्दा समय निकाल्नसमेत गाह्रो हुन्थ्यो ।
विभिन्न सङ्घसंस्था, फिल्म खेल्ने, बनाउने लगायत काममा व्यस्त हुन्थेँ । विदेशबाट साथीहरू आउँदा समेत समय निकाल्न गाह्रो थियो । बिहान ६, ७ बजे घरबाट निस्केपछि बेलुका दस बजेसम्म मुस्किलले घर पुग्थे । अहिले कोरोनाले गर्दा सबै काम भेटघाट रोकिएकाले फुर्सद छ ।
खेलकुद
पहिले म भलिबलको जिल्ला स्तरीय राम्रो खेलाडी थिएँ । हाई जम्प, त्रिपल जम्पसमेत गर्थें । कलेजमा भलिबलका विभिन्न प्रतियोगितामा भाग लिन्थेँ ।
स्कुल स्तरीय, जिल्ला स्तरीय प्रतिस्पर्धाबाट थुप्रै पुरस्कार हात परेको छु । अहिले फुटबलका विश्व चर्चित खेलहरू हेर्छु ।
मोबाइल
मसँग सामसुङ ब्रान्डको एउटा मोबाइल छ । यो हरहमेसा साथमा रहने सहकर्मी पनि हो । फोन गर्ने, उठाउनेको अलवा मल्टिमिडिया, सामाजिक सञ्जाल, इमेल, युट्युब लगायत धेरै कुराका लागि मोबाइल प्रयोग हुन्छ । लेख लेख्न र टिपोट गर्न समेत काम लाग्ने गरेको छ । मोबाइल छिटो फेर्ने बानी छैन । बिग्रियो, हरायो वा धेरै पुरानो भए फेर्छु ।
टिभी र चलचित्र
पहिले पहिले त टिभी हेरिन्थ्यो । अहिले नहेरेको धेरै भयो । मोबाइलमै सबैथोक उपलब्ध भएकोले टिभी हेरिँदैन । पहिले समाचारका लागि टिभी हेर्नैपथ्र्यो । अहिले समाचार अनलाइन छिटो दिन्छ । टिभीमै हेर्नुपर्ने विशेष कार्यक्रम छ भने हेर्छु ।
हल चलेको समय गएर राम्रा फिल्म हेर्थें । हिन्दी, नेपाली लगायत सबै प्रकारका फिल्महरू हेर्ने गरेको छु । देशभक्तिले भरिएका, ऐतिहासिक, साहसिक विषयमा बनेको फिल्म बढी मनपर्छ । त्यसबाहेक मनोरञ्जन दिने खालका फिल्महरू समेत हेर्छु । जसमा नेपाली, बलिउड, साउथ र हलिउडका पर्दछन् ।
विवाह
२०६६ मा चर्चित गायिका सत्यकला राईसँग मैले प्रेम विवाह गरेको हो । करिब ४ वर्षको प्रेम विवाहमा परिणत भएको थियो । खोटाङको सुङ्देल भन्ने ठाउँमा बाढी पहिरो गएको थियो । त्यो ठाउँका जनतालाई सहयोग गर्न राहत जुटाउने क्रममा हाम्रो पहिलो भेट भएको थियो । त्यहीँबाट प्रेम बस्यो ।
केही समयपछि मैले विवाहको प्रस्ताव राखेँ । सुरुमा उनले मानेकी थिइनन् । उनी डिभोर्सी भएकाले एक्लै जीवन कटाउन गाह्रो छ, समाजमा परिवर्तन हामीले खोज्नुपर्छ भनेर सम्झाएँ । अनि मानिन् । अहिले पनि हामी एकअर्काेलाई धेरै प्रेम गर्छौँ ।
सपना
आर्थिक, सामाजिक लगायत हरेक दृष्टिबाट यो देश सम्पन्न भएको, नागरिक समृद्ध भएको र विदेशी कामको सिलसिलमा नेपाल आएको हेर्ने र चलचित्रको माध्यबाट देश र समाज रूपान्तर गर्ने सपना हो ।
गीतसङ्गीत
गीतसङ्गीत मनपर्छ, सुन्छु । बढी सुन्ने नेपाली गीत हुन् । डेलिसियस र देशभक्तिपूर्ण गीत मनपर्छ । केही गीत पनि लेखेको छु । गीत भने गाएको छैन ।
मापसे
मापसे कहिले गरिनँ । चुरोट, बिँडी, खैनीसमेत कहिल्यै प्रयोग गरिनँ ।
रोग
विगत १५ वर्षदेखि सुगरको समस्या छ । त्यसका लागि नियमित औषधि लिन्छु, एक्सरसाइज गर्छु । भगवान्को कृपाले योगबाहेक अन्य रोग केही छैन ।
राशि
मेरो राशि ‘धनु’ हो । ग्रहदशामा विश्वास लाग्छ पनि, लाग्दैन पनि । म आस्तिक पनि होइन, नास्तिक पनि होइन । मन्दिर देख्दा शिर झुकाउँछु । मन्दिर जानैपर्छ भनेर धाउँदिन ।
मृत्यु
मृत्यु एउटा स्वाभाविक प्रक्रिया हो । ढिलो चाँडो जन्मेपछि मृत्यु निश्चित छ । मृत्यु हुन्छ भनेर आत्तिनुपर्ने, डराउनुपर्ने जस्तो मलाई लाग्दैन । ‘घाँसीले’ झैँ मरेपछि सधैँ अरूले सम्झने केही काम गर्नुपर्छ जस्तो लाग्छ ।