शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाली सेनाको साङ्गठनिक पुनः संरचना कार्यान्वयन

शुक्रबार, ०१ साउन २०७८, २३ : ०८
शुक्रबार, ०१ साउन २०७८

नेपाली सेनाको साङ्गठानिक पुनः संरचना २०७७–७८ कार्यान्वयनमा आएको छ । सेनाको साङ्गठानिक पुनः संरचना मन्त्रिपरिषद्को असार २४ गते बैठकले  स्वीकृत गरेको थियो ।  प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालय जङ्गी अड्डामा आज  आयोजित समारोहमा कमाण्ड सेनापतिलाई झण्डा हस्तान्तरण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सरकारले सैद्धान्तिक स्वीकृति दिएको ३ जोड १ कमाण्ड अवधारणाको निरन्तरताका रुपमा आएको साङ्गठानिक पुनः संरचना २०७७–७८ राष्ट्रिय सुरक्षा नीति र दीर्घकालीन सोच २०८७ समेतका आधार तयार पारिएको हो । साङ्गठानिक पुनः संरचनाको पूर्ण कार्यान्वयन भने २०८१ असार मसान्तसम्ममा हुने जानकारी दिइएको छ । चार कमाण्ड हेड क्वार्टर आजबाटै पूर्णरुपमा सञ्चालनमा आएका छन् । कमाण्डलाई आवश्यक अधिकृत र सकल दर्जाको दरबन्दी क्रमिक रुपमा आगामी ६ वर्षमा पूरा हुने बताइएको छ ।

सेनाको संवैधानिक र अन्य जिम्मेवारीलाई थप असरदार रुपमा सम्पादन गर्ने लक्ष्य अघि बढाइएको ३ जोड १ कमाण्ड अवधारणा कार्यान्वयनका लागि साङ्गठानिक संरचना आवश्यक रहेको सेनाले जनाएको छ । अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा परिवेश र अन्तर्राष्ट्रिय अभ्यास समेतलाई दृष्टिगत गरी सेनालाई समयानुकूल व्यावसायिक, चलायमान र गतिशील बनाउन साङ्गठानिक सरचना अघि बढाइएको हो ।

नेपालको नदी क्षेत्रमा उद्धार तथा वन्यजन्तु चोरी शिकारी नियन्त्रण कार्य गर्नसक्ने क्षमताको विकास र तदर्थ रुपमा स्थापना गरिएका अङ्ग सीमा अनुगमन एवं सर्भे निर्देशनालयलाई समेट्न यसले योगदान दिनेछ । फिल्ड तहमा हाल देखिएकामध्ये क्रमका अधिकृत, पदीक र विल्लादारसमेत वृत्ति विकासमा परेका समस्यालाई सम्बोधन र व्यवस्थापन  गर्न साङ्गठानिक पुनः संरचना कोशेढुङ्गा सावित हुने जानकारी दिएको छ ।

साङ्गठानिक पुनः संरचना अघि बढाउने क्रममा सेनामा कायम रहेका विद्यमान कूल सङ्ख्यामा कुनै थपघट नहुने मात्र होइन विशिष्ट श्रेणीको दरबन्दी सङ्ख्यामा पनि कुनै पनि हेरफेर हुने छैन । साङ्गठानिक पुनः संरचना २०७७–७८ कार्यान्वयन भएपछि सञ्चार–प्रविधि, मेडिकल, बन्दोबस्ती, इन्जिनियरिङको क्षमता र अवधारणा गुणस्तरीय हुने सेनाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप