बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, एकैदिन झन्डै ५२ हजार संक्रमित

शुक्रबार, ०१ साउन २०७८, २३ : ०१
शुक्रबार, ०१ साउन २०७८

बेलायतमा पछिल्लो समय कोरोना संक्रमणदर अत्याधिक रुपमा बृद्धि भएको छ ।  शुक्रबार सार्वजनिक तथ्याँकअनुसार एकैदिनमा झन्डै ५२ हजार नयाँ संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार २४ घन्टामा ५१ हजार ८७० नयाँ संक्रमित थपिएका हुन् । संक्रमित संख्या अघिल्लो हप्ताको तुलना करिब ४५ प्रतिशतले बृद्धि भएको हो । यो संख्या गत जनवरीयताकै उच्च हो । यससँगै बेलायतमा कुल संक्रमितको संख्या ५३ लाख ३२ हजार ३७१ पुगेको छ ।

इङ्ग्ल्यान्डमा​ जारी लकडाउन खुल्न दुई दिनमात्र बाँकी रहँदै गर्दा संक्रमित संख्या दैनिक उकालो लाग्दै गएको हो । आउँदो सोमबारबाट इङ्ग्ल्यान्डमा हाल लागू गरिएका लकडाउन सम्बन्धी सम्पूर्ण कानूनी प्रावधानहरु अन्त्य गरिने प्रधानमन्त्री बोरिस जोन्सनले घोषणा गरिसकेका छन् । यद्यपि, सार्वजनिक यातायत लगायतका स्थानहरुमा भने मास्क अनिवार्य गरिने भएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ४९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो दिन ६३ जना संक्रमितको मृत्यु भएको थियो । बेलायतमा कोरोनाका कारण हालसम्म एक लाख २८ हजार ६४२ जनाको मृत्यु भइसकेको छ ।
बेलायतमा दुई तिहाइ भन्दा बढी अर्थात ६७.५ प्रतिशत वयस्कहरुले कोरोनाविरुद्धको दुवै डोज खोप लगाइसकेका छन् भने ८७.६ प्रतिशतले खोपको पहिलो डोज लिएका छन् ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को पछिल्लो तथ्याङ्क अनुसार बेलायतमा ८ करोड १७ लाख भन्दा बढी डोज खोप वितरण भइसकेको छ। जसमध्ये चार करोड ६१ लाख ५९ हजार १४५ जनाले पहिलो र तीन करोड ५५ लाख ४३ हजार ३२१ जनाले दोस्रो डोज लगाएको तथ्याङ्कमा उल्लेख छ ।

कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या पनि सामान्य वृद्धि भएको छ । पछिल्लो तथ्याँकअनुसार एक दिनमा ७१७ जना संक्रमित अस्पताल भर्ना भएका छन् । अस्पतालमा उपचार गराइरहेका संक्रमितको संख्या तीन हजार ९६४ र भेन्टिलेटर बेडमा उपचार गराउनेको संख्या ५५१ पुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप