बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कार्यदल भंग भएपनि एकता प्रयास जारी रहन्छ : एमाले नेता आचार्य

शुक्रबार, ०१ साउन २०७८, १६ : ४२
शुक्रबार, ०१ साउन २०७८

एमाले पार्टी एकताका लागि गठित १० सदस्यीय कार्यदल भंग भएपनि कार्यदलका सदस्यहरुले एकता प्रयासलाई जारी राख्ने भएका छन् ।

शुक्रबार बसेको एमाले स्थायी समिति बैठकले असार २७ गते कार्यदलले तयार पारेको पार्टी एकतासम्बन्धी प्रस्तावलाई अनुमोदन गर्दै कार्यदल भंगको घोषणा गरेको थियो । तर, कार्यदलमा रहेका दुवै तर्फका नेताहरुले औपचारिक रुपमा कार्यदल भंग भएपनि पार्टी एकताको प्रयास जारी राख्ने भएका हुन् ।

नेताहरुका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले विश्वासको मत लिनुभन्दा अघि नै एमाले एकता प्रक्रिया टुङ्ग्याउने गरी अध्यक्ष केपी शर्मा ओली र अर्का वरिष्ठ नेता माधवकुमार नेपाललाई दवाव दिने तयारी छ । अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल आ आफ्नो अडानमा टसको मस नभएपछि एकता प्रक्रिया लम्बिदै गएको छ ।

ओली र नेपाल अव एउटै पार्टीमा नरहने निष्कर्षमा पुगेपनि एमालेका दोस्रो तहका नेताहरु भने एमाले एकता गराएरै छोड्ने दावी गर्न छोडेका छैनन् ।

औपचारिक रुपमा कार्यदलमा नरहेपनि कार्यदलका हरेक बैठकमा सहभागी बन्दै आएका माधव पक्षका नेता भीम आचार्यले अध्यक्ष ओली र नेता नेपालको आआफ्ना कुरा भएपनि कार्यदलका सदस्यहरु आफ्नै ढंगले एकता प्रयासमा लाग्ने बताए ।

‘अध्यक्ष र बरिष्ठ नेताका आफ्नै कुरा होलान्, तर हामी कार्यदलका सदस्य आफ्नै ढंगले लाग्छौ’, आचार्यले रातोपाटीसँग भने, ‘यसमा हामी दुवैतर्फका कार्यदल सदस्यहरु यो निष्कर्षमा छौ ।’

शुक्रबारको एमाले स्थायी समिति बैठकले देउवा सरकारको विपक्षमा उभिने निर्णय गरेपनि नेता आचार्यले भने सरकारले विश्वासको मत लिनुभन्दा अघि नै पार्टी एकता प्रक्रियालाई टुंगोमा पुर्याउने गरी आफुहरु अघि बढ्ने बताए ।

 ‘विश्वासको मत लिने बेलाभन्दा अघि नै पार्टी एकता प्रक्रियालाई टुंग्याउनु पर्छ । त्यसो भएमा पार्टीकै निर्णयअनुसार मतदान हुन्छ । तर यही भद्रगोल रहने हो भने मनलाग्दी हुने खतरा रहन्छ । यसमा खासगरी अध्यक्षले कान ठाडो पारेर लाग्नुपर्छ भनेर हामीले भनेका छौ’, आचार्यको भनाइ छ ।

त्यस्तै ओली पक्षका नेता सुवास नेम्वाङले पनि एकताका लागि नेताहरुबीच व्यक्तिगत तर्फबाट पहल जारी राख्न सकिने प्रतिक्रिया दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप