केन्द्रीय संस्करण

‘वर्तमान परराष्ट्र सम्बन्ध भ्याक्सिन कूटनीति र विकास कूटनीतिमा केन्द्रित गर्नुपर्छ’

person explore access_timeसाउन १, २०७८ chat_bubble_outline0

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । यो सरकारले लामो समयदेखिको कोलाहलपूर्ण राजनीतिलाई केही शान्त बनाउला कि भन्ने आशा आम मानिसले गरेका छन् । योसँगै छिमेकी र मित्रराष्ट्रहरूसँगको सम्बन्ध सुधार हुने आशा पनि गरिएको छ । तर अब प्रधानमन्त्री देउवाले मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई कसरी सुधार्लान् भन्ने सर्वत्र चासो छ । प्रधानमन्त्री देउवाका अगाडि मित्रराष्ट्र र छिमेकी राष्ट्रहरूसँगको छवि सुधार्ने चुनौती र अवसर छन् । यसै विषयमा केन्द्रित रहेर न्युज एजेन्सी नेपालले पूर्वराजदूत एवं परराष्ट्रविद् शम्भुरामसिम्खडासँग कुराकानीको गरेको छ । 

नयाँ सरकार गठन भएको छ, वैदेशिक चासोको विषय त्यति नै छ । अब यो सरकारको वैदेशिक सम्बन्ध र त्यसका प्राथमिकता केके हुन सक्छन् ?
–यसमा दुईवटा पक्ष धेरै नै महत्त्वपूर्ण छन् । एउटा वैदेशिक सम्बन्ध वा कूटनीतिलाई आन्तरिक राजनीतिको प्रतिबिम्ब भनिन्छ । आन्तरिक राजनीतिको सम्बन्ध कूटनीतिमा अत्यन्त महत्त्वपूर्ण हुन्छ । दोस्रो नेपालको परराष्ट्रनीतिका केही मूलभूत आधार छन् । परराष्ट्रनीति भनेको कन्टिन्युटीमा चल्ने विधा हो । अर्को सरकार आयो भनेर नीति परिवर्तन हुँदैन । परम्परागत परराष्ट्रनीतिका मूलभूत आधारमा टेकेर अहिलेको सरकारले सबैभन्दा पहिला कूटनीति दुई क्षेत्रमा केन्द्रित गर्नुपर्छ । एउटा भ्याक्सिन कूटनीति नै भनौँ । अहिलेको सबै जनताको चाहना र खाँचो भनेकै जनताले यथाशीघ्र खोप लगाउनुप¥यो र आफूलाई सुरक्षित फिल गर्नुप¥यो । यो पहिलो प्राथमिकता हो । दोस्रोमा विकास कूटनीति भनौँ वा आर्थिक कूटनीति । कोभिड महामारीले अत्यन्त पीडित जनता र थलिएको अर्थ व्यवस्था । जनतालाई पनि राहत चाहिएको छ । राहत दिनका लागि आर्थिक पक्षलाई सबल र चलायमान बनाउन आवश्यक छ । यी दुवैका लागि एकदमै सक्रिय र प्रभावकारी कूटनीति अत्यावश्यक छ । व्यापार, रेमिट्यान्समा निर्भर हाम्रो कूटनीतिले वैदेशिक रोजगारी लगायतलाई प्रभावकारी बनाउने बित्तिकै यथाशीघ्र भ्याक्सिनको उपलब्धता गराउनुपर्छ । अर्थ व्यवस्थालाई चलायमान बनाउन आवश्यक पर्ने अन्तर्राष्ट्रिय सहयोग जुटाउन पनि त्यत्तिकै आवश्यक छ । सरकारले कोरोनाविरुद्धको भ्याक्सिन आफ्नो पहिलो प्राथमिकता भनेर घोषणा पनि गरिसकेको छ ।

यो तत्कालको कुरा मात्रै हो । योभन्दा पहिलाको हाम्रो स्थिति आन्तरिक राजनीतिको अनिश्चितता थियो । हामीले भोगिरहेको राजनीतिक सङ्क्रमणको व्यवस्थापन उत्तेजित, इमोश्सनल, पोलोराइज र राजनीतिक शक्तिहरूको बीचमा टकराव भएर सम्भव हुँदैन । त्यसका लागि एउटा यस्तो व्यक्तिको आवश्यकता छ जसले कोलेसन बीड गर्नसक्छ । जो माइल्ड किसिमको व्यवहार गर्नसक्छ । आज एउटा कुरा र भोलि अर्को कुरा, एक ठाउँमा गयो एउटा र अर्को ठाउँमा गयो अर्को कुरा गरेर अहिलेको संसारमा प्रभावकारी कूटनीति हुँदैन । परम्परागत रूपमा पहिला राजदूतलाई आफ्नो देशको राष्ट्रिय हित र राष्ट्रिय स्वार्थका निम्ति ढाँट्नलाई बाहिर पठाएको भन्ने चलन थियो । तर अब त्यसरी कूटनीति चल्दैन । अहिलेको कूटनीति भनेको विश्वास, विश्वसनीयताको आधारमा चल्छ । त्यो हिसाबले हेर्ने हो भने वर्तमान प्रधानमन्त्री अरू कमिकमजोरीका कुरालाई छोडेर एकदमै उत्कृष्ट हुनुहुन्छ । प्रधानमन्त्री नियुक्त भएपछि सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाहरू हेर्दा विगतको अनुभवका कारण हामीमा धेरै चिन्ता, शङ्का रहेको छ । तर उहाँको स्वभाव परराष्ट्रनीतिमा अत्यन्त उपयोगी किसिमको छ । धेरै बोल्नुहुन्न, प्रोफेसनलहरूको भर पर्नुहुन्छ । त्यो हिसाबले तत्कालका यी दुई प्राथमिकता हुँदाहुँदै पनि अरू धेरै महत्त्वपूर्ण प्राथमिकता छन् । ती प्राथमिकतालाई अघि बढाउन यो अनिश्चितताको परिवेशबाट एक किसिमको निश्चितताको नेतृत्व उहाँमा छ । त्यसैले पनि वर्तमान सरकारमा परराष्ट्रनीतिका सहजताको माहोल छ ।

झण्डै बाटो विराएको जस्तो अवस्थामा पुगिसकेको कूटनीतिलाई शान्त स्वभावको व्यक्तिले कसरी समन्वय गर्ने, यसमा केही सुझाव छन् कि ?
–छन् । पहिलो कुरा त हाम्रो मूलभूत आधार भनेको सबैसँग मित्रता हो । यो आधारमा टेकेर केही प्राथमिकता निर्धारण गरेका छौँ । यीमध्ये पहिलो प्राथमिकता भनेको दुई विशाल र अत्यन्त शक्तिशाली छिमेकीहरूको  बीचमा भएको हुनाले उनीहरूसँगको विश्वसनीयताको कूटनीति हो । विश्वसनीयताको आधारमा हाम्रा मूलभूत आवश्यकताहरू केके हुन्, हाम्रा चाहना केके हुन्, उनीहरूका आवश्यकता के हुन्, उनीहरूका चाहना के हुन्, यी दुईवटाकै बीचमा सामञ्जस्य कसरी ल्याउने ? ताकि हाम्रो राष्ट्रिय हित र राष्ट्रिय स्वार्थ उनीहरूसँगको सम्बन्धबाट उनीहरूको पनि पूर्ति हुन्छ र हाम्रो पनि पूर्ति हुन्छ । मूल कुरा छिमेकीसँगको सम्बन्धमा उच्च स्तरमा एक किसिमको विश्वसको वातावरण बनाउनुपर्छ । दोस्रो कुरा, त्यसपछि नेतृत्वले निर्धारण गरेको बृहत् मार्गदर्शन छ । त्यो मार्गदर्शनअन्तर्गत अत्यन्त प्रभावकारी किसिमबाट त्यसलाई सञ्चालन गर्न सक्ने उहाँको टिम बन्छ । परारष्ट्रमन्त्री, परराष्ट्र सल्लाहकार, परराष्ट्रको टिम अत्यन्त सक्रिय र पोख्त किसिमको छ । अहिलेको विश्व राजनीतिक र रणनीतिक बदलिँदो व्यवस्थामा यो क्षेत्रको महत्त्व, त्यसमा पनि हाम्रो हिमालको दक्षिण भाग, नेपालको परम्परागत भू–राजनीतिक संवेदनशीलता र त्यो संवेदनशीलताका आधारमा परिवर्तित कुरा के–के हुन् ? त्यस्तोलाई राम्रोसँग नेतृत्व गर्न सक्ने सहयोगी टिम चाहिन्छ । यो दोस्रो कुरा हो ।

तेस्रो कुरा, हाम्रा जति पनि देशहरूसँग मूल विषयहरू छन् । भ्याक्सिनकै कुरा छ, भारतबाट आउने भनेको आइसकेको छैन । कूटनीति तवरबाट प्रभावकारी रूपमा भारत सुरक्षित हुनलाई नेपाली पनि सुरक्षित हुनुपर्छ । नेपालीले पनि खोप पाउनुप¥यो । भारतीयहरूले पनि पाउनुप¥यो । नेपाललाई खोपको प्राथमिकतामा राख्नु भारतका लागि आफ्नै हितमा छ भन्ने कुरा एक नम्बर भयो । चीनले अहिले विश्वव्यापी रूपमा यति धेरै भ्याक्सिन उपलब्ध गराइसकेको छ कि, हिजो नै हाम्रो प्रभावकारी कूटनीति भएको भए हाम्रो जस्तो सानो आपूर्ति परिपूर्ति गर्नलाई चीनलाई त्यति ठूलो कुरा थिएन । पहिला त हामीले चीनसँग भ्याक्सिन नै लिने कि नलिने भनेर अलमलमा बस्यौँ । अहिले बाध्य भएर चीनसँग पनि सम्झौता भएको छ । भ्याक्सिन समयमा पाउनु आवश्यकता हो र त्यसबारेमा छलफल हुनुप¥यो । त्योबाहेक अरू व्यापार घाटा लगायतका विषय पनि छन् । सीमाका विषय छन् । अब अहिले बाढीको कुरा छ, वर्षातको समय छ, यता पानी पर्छ, बाढी आउँछ, उता पनि क्षति हुन्छ । यी यावत् विषयमा प्रभावकारी रूपमा पहिला नेतृत्वले मार्ग निर्देशन गर्दछ । सहयोगी टिमले राम्रो र प्रभावी गृहकार्य गर्छ र त्योबाट दुई देशसँग कूटनीति सञ्चालन हुन्छ । यसरी हाम्रो सम्बन्धलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सक्छौँ ।

शेरबहादुर देउवा आफैँमा नयाँ व्यक्ति होइनन् । पाँचौँ पटक प्रधानमन्त्री बन्नुभएको छ । उहाँसँग व्यक्तिगत रूपमा पनि अन्तर्राष्ट्रिय सम्बन्ध छन्, यसलाई कसरी विश्लेषण गर्न सकिन्छ ?
– उहाँको विश्वसनीयता छ । उहाँ जे कुरा भन्नुहुन्छ, त्यो गर्नुहुन्छ, नहुने कुरा भन्नुहुन्न । फल्स पनिस्मेन्ट दिँदै जानुहुन्न भन्ने एउटा जुन छाप छ, त्यो कूटनीतिका लागि अत्यन्तै सकारात्मक छ । अब दोस्रो कुरा, अहिले संसारमा चर्चित इतिहासकार युवाल न्हो होरारी छन् । उनका तीनवटा पुस्तक संसारमै सबैभन्दा उत्कृष्ट छन् । छेपियन्ज, ट्वान्टी वान फर्मुला फर द ट्वान्टी वान सेन्चुरी, २१औँ शताब्दीका लागि २१ वटा मूल मन्त्रहरू भन्ने दोस्रो र तेस्रो होमो ड्युज भन्ने छ । यो भनेको प्रविधिबाट कसरी मानिस भगवान बन्न खोज्दै छ ? भन्ने पुस्तकमा उनले मानिसले किन इतिहास पढ्छ भनेँ त्यसैको बन्दी हुन होइन, त्यसबाट मुक्ति पाउन पढ्छ भन्ने लेखिएको छ । यसको मतलब पुरानै कुरा दोहोरिने हुन् कि भनेर विगतमा भएका कमी कमजोरीले मानिसमा शङ्का छ, चिन्ता छ । यसको मतलब इतिहासले हामीलाई पाठ सिकाउँछ ।

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाजीमा पहिलो त अनुभव छ, अनुभवको छोटकरी छँदै छैन । अनुभव भनेको स्वयंले भोगेपछि मात्रै थाहा हुन्छ । दोस्रो पक्ष उहाँले इतिहासमा केके राम्रा पक्षहरू भए र के–के कमी कमजोरी भए ? त्यो अनुभूत गर्ने बेला छ । राजनीति र कूटनीति भनेको एक व्यक्ति र विधा होइन, यो टिमको काम हो । नेतृत्वले भिजन दिन्छ । त्यसलाई रूपान्तरण गर्ने र कार्यरूप दिने टिम नै हो । अब टिम कस्तो आउँछ । कूटनीतिको हिसाबले एकदमै सहज व्यक्तित्वलाई हामीले नेतृत्वमा पाएका छौँ । तर सफलताको कसी भनेको उहाँले कस्तो टिम बनाउनु हुन्छ, त्यसमा निर्भर रहन्छ । अहिलेको विश्व राजनीति बुझेको र त्यसकै आधारमा यसलाई प्रभावकारी रूपमा व्याख्या गर्न सक्ने, सञ्चालन गर्न सक्ने, आफ्ना कुरा राख्न सक्ने, उहाँको भिजनलाई राम्रोसँग लागू गर्न सक्ने टिम भयो भने उहाँको कार्यकाल सफल बन्नेछ । उहाँ अहिले छोटो र कठिन स्थितिमा प्रधानमन्त्री बन्नुभएको छ । तर त्यति हुँदाहुँदै पनि प्रत्येक बादलमा चाँदीको घेरा हुन्छ भनेझैँ चुनौतीसँगै अवसर पनि छ । कोरोनालाई निस्तेज बनाउँदै निश्चित दिशामा देशलाई लैजाने र अन्तर्राष्ट्रिय कूटनीतिमा पनि प्रभावकारी रूपमा नयाँ दिशा र थालनी हुनसक्छ भन्ने विश्वास राख्छु ।

प्रधानमन्त्रीको सल्लाहकारको टिममा पर्नुभयो भने तपाईंका कार्यसूची के–के हुनसक्छन् ?
–एक नम्बरमा तत्काल भ्याक्सिन, दोस्रोमा विकास कूटनीति । हाम्रो सम्पूर्ण ध्यान देश र जनताको विकासमा केन्द्रित हुनेछ । त्यसका लागि सरकारलाई खोप लगाउने सहयोगको भूमिका छ । तेस्रोमा, हाम्रो सानो देश दुई ठूला छिमेकीको बीचमा भएकाले विश्वासको कूटनीति रहेको छ । कहिलेकाहीँ छिमेकीलाई प्राथमिकता दिँदा अरू मित्र राष्ट्रहरूले हामीलाई हेला गरेको हो कि भन्ने पार्नुहुँदैन । सबैभन्दा पहिला हामीले बेलायत, त्यसपछि अमेरिकालाई  मित्रराष्ट्र बनाएका थियौँ । यी हाम्रा परम्परागत मित्रहरूलाई पनि तपाईंहरूको सहयोग र मित्रतालाई हामीले अत्यन्त महत्त्वका साथ अघि बढाउन चाहन्छौँ भन्ने चौथो पाटो हो । यसमा संयुक्त राष्ट्रसङ्घ छ, यसको बडापत्र र संलग्नता । यो हाम्रो कूटनीतिको आधारशिला हो ।

यी सिद्धान्तहरू भएकाले राष्ट्रसङ्घमा हाम्रो प्रभावशाली भूमिका भयो भने धेरै हदसम्म कूटनीति सफल हुन्छ । किनभने हाम्रो २०, ३० वटा देशमा मात्रै दूतावास छ । त्यसैले राष्ट्रसङ्घबाट संसारभर सञ्चार प्रवाह हुन्छ । हाम्रो कूटनीति कस्तो छ ? हाम्रो व्यक्तित्व कस्तो छ ? हाम्रो सरकारको दृष्टिकोण कस्तो छ भन्ने हुन्छ । त्यसैले राष्ट्र सङ्घमा अत्यन्त प्रभावकारी भूमिका आवश्यक छ । त्यस्तै क्षेत्रीय सहयोग । अहिले हाम्रो छिमेक वरपर भएका सद्भावहरू प्रयोग गरेर हाम्रो राष्ट्रिय हित र राष्ट्रि«य स्वार्थलाई अघि बढाउनुपर्छ ।     

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.