शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दलहरुबीच बृहत्तर राष्ट्रिय एकताको खाँचो छ : सभामुख सापकोटा

शुक्रबार, ०१ साउन २०७८, १५ : ३१
शुक्रबार, ०१ साउन २०७८

सभामुख अग्निप्रसाद सापकोटाले समग्र बदलिँदो परिस्थितिलाई विश्लेषण गर्दै हरेक हिसाबले दलहरुबीच बृहत्तर राष्ट्रिय एकताको खाँचो औँल्याएका छन् । सङ्घीय संसद् आइतबारदेखि शुरु हुने अधिवेशनको व्यवस्थापन तयारीको निरीक्षणपछि सञ्चारकर्मीको जिज्ञासामा उहाँले पुनःस्थापित संसद् धेरै हिसाबले ऐतिहासिक, बहुआयामिक र दूरगामी महत्वको रहेकाले दलहरुबीच एकता अपरिहार्य रहेको बताए । सभामुख सापकोटाले भने, “बृहत् राष्ट्रिय एकताको शक्तिशाली सन्देश दिने थलो प्रतिनिसभा हो, यो अहिलेको आवश्यकता हो, यहाँबाट यो सन्देश दिनुपर्छ भन्ने मेरो मत छ, दलहरूसँग समन्वय गर्नेमा इमानदारी र निष्ठाका साथ प्रयत्न गर्ने छु ।”

उनले जनताको आशालाई विश्वासमा परिणत गर्न सबैले नयाँ परिवेशमा नयाँ ढङ्गले विगतका अनुभवको समीक्षा गर्दै व्यवस्थापन, प्रस्तुति र छलफलको वातावरण बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । दलहरु बीचको सहमति र सहकार्यले संसद्लाई जीवन्त, जनमुखी, चलायमान र गतिशील बनाउने वातावरण सिर्जना हुने उनले बताए ।

सभामुख सापकोटाले भने, “सदनको यस अधिवेशनले जनतालाई आशाको सञ्चारको सन्देश जाने गरी अधिवेशन शुरु हुनेछ, वातावरण बनाउन दल बीचको समझदारी निर्णायक हुन्छ ।” उनले दलहरु बीचको समझदारी र सरकारले दिने विजनेशका आधारमा अधिवेशन अघि बढ्ने भएकाले त्यसमा सहमति र समन्वयमा आफूले पहलकदमी लिने विश्वास दिलाए ।

कोरोना सङ्क्रमण कायममै रहेको अवस्थामा शुरु हुन लागेको संसद्को अधिवेशनका लागि स्वास्थ्य मापदण्ड पूरा गरी गरिनुपर्ने सबै तयारी पूरा भएको संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप