शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘मैले श्रीमानको हत्यारासँग विवाह गरेँ र उसकै हत्या गरेँ’

शुक्रबार, ०१ साउन २०७८, १४ : ३८
शुक्रबार, ०१ साउन २०७८

‘मैले मेरो श्रीमानको हत्याको बदला लिने सोचेकी थिएँ, त्यसैले हत्यारासँग दोस्ती गरेँ, उसँग विवाह गरेँ र त्यसपछि अन्त्यमा बदला लिएँ ।’

पाकिस्तानको कबायली इलाका बजौर जिल्लामा बस्ने यी महिलालाई प्रहरीले पक्राउ गरेर अदालतमा पेश गरेपछि चकदरा जेल पठाएको छ । 

अभियुक्त महिलाले आफ्नो श्रीमानको हत्याको बदला लिनका लागि तीन वर्षदेखि कोसिस गरिरहेकी थिइन् र यसका लागि उनले पूरा योजना बनाएकी थिइन् । 

प्रहरीलाई सूचना र कारवाहीः

बाजौर जिल्लाको इनायत किलेमा लुइसिम थानाका इन्सपेक्टर विलायत खानले बीबीसीसँगको कुराकानीमा यसलाई एउटा मुश्किल केस बताउँदै यसका लागि आफूले अत्यधिक कोसिस गरेको र सफलता पनि हासिल गरेको बताए । 

अभियुक्तका जेठो श्रीमानको मृत्यु तीन वर्षअघि भएको थियो तर उनको हत्या भएको थियो वा उनको प्राकृतिक मृत्यु थियो भन्नेबारे स्पष्ट जानकारी छैन । अभियुक्तले नीजि रुपमा यसबारे पत्ता लगाइन् र उनका अनुसार उनका श्रीमानलाई उनका साथी गुलिस्तानले विषको इन्जेक्सन दिएर हत्या गरेका थिए । 

थानामा उनको मृत्यु वा हत्याको कुनै पनि मुद्दा दर्ता भएको छैन । प्रहरीका अनुसार तीन वर्ष अघि यो इलाकामा कुनै प्रहरी चौका नभएको र शाह जमिनको हत्या नै भएको हो भन्ने बारे कुनै दस्तावेज भेटिएको छैन ।


प्रहरीका अनुसार दुई दिन अघि उनले गुलिस्तान नामका व्यक्तिको गोली हानी हत्या गरिएको भन्ने जानकारी पाएका हुन् । 

प्रहरी इन्सपेक्टर विलायत खानका अनुसार यो सूचना पछि उनीहरुले नजिकैको एक चेक पोस्टमा प्रहरी र आफ्नो स्रोतलाई घटनास्थलबाट कोही पनि बाहिर जान नदिन भन्दै आफू आफ्नो टिमसँगै त्यहाँ पुग्ने जानकारी दिए । 

विलायत खानले बीबीसीलाई भने, ‘हामी घटनास्थल पुग्दा ओछ्यानमा रगतले लत्पत्तिएको शव थियो । एउटा गोली टाउकोमा लागेको थियो र अर्का शरीरको दाहिने भागमा लागेको थियो । अभियुक्त मृतकसँगै बसेकी थिइन् । घर बाहिर र भित्र अत्यधिक मानिस जम्मा भएका थिए । हामीले एकतर्फी अनुसन्धान सुरु गर्यौं र घटनास्थलाट प्रमाण पनि हासिल गर्यौं ।’

कबायली महिलाको अफगान शाह जमिनसँग प्रेमः

अभियुक्तले दिएको जानकारी उद्धृत गर्दै प्रहरीले आफ्नो रिपोर्टमा भनेको छ –  उनका जेठो श्रीमान अफगानिस्तानको कुनार प्रान्तमा बस्ने अफगान शरणार्थी थिए । उनका श्रीमान् पेशावरमा काम गर्दथे र उनीहरु निकै आनन्दका साथ जीवन व्यतित गरिरहेका थिए । प्रहरीका अनुसार उनीहरुका एक छोरी पनि थिइन् । 

प्रहरीका अनुसार अभियुक्तले आफ्नो बयानमा भनिन्, ‘मेरा श्रीमानको गुलिस्तान नामका एक व्यक्तिसँग दोस्ती थियो । मेरा श्रीमान् पेशावरबाट जे जति कमाउँथे ती सबै गुलिस्तानलाई पठाउने गर्दथे, आवश्यक पर्दा उसँग माग्ने सोच थियो उनको । गुलिस्तानसँग गहिरो दोस्ती थियो उनको ।’

अभियुक्तका केही समयपछि फिर्ता आए र गुलिस्तानलाई आफ्नो स्वास्थ्य ठिक नभएको र आफ्नो पैसा फिर्ता चाहेको बताए तर गुलिस्तानले हाल पैसा नभएकोले पैसा फिर्ता दिन मानेनन् । 

विलायत खानका अनुसार अभियुक्तले आफ्नो बयानमा भनिन्, ‘गुलिस्तानले मेरा श्रीमानलाई पैसा दिनुको साटो ‘तिमी बिरामी भएको भए म इनायत कली बजारबाट औषधी ल्याउँछु’ भनेँ । गुलिस्तानले दुईवटा सूई र केही औषधी ल्याएका थिए । एउटा इन्जेक्सन गुलिस्तान खानले नदीको किनारामा शाह जमिनलाई लगाइदिए र दोस्रो इन्जेक्सन घरमा लगाउन भन्दै औषधी पनि खान भने । यसो गरे निको हुने पनि उनले बताए ।’

 


बयानमा थप भनिएको छ, ‘सूई लगाएपछि श्रीमानको स्थिति थप गम्भीर भयो र उनी जमिनमा ढले । त्यहाँ भएका मानिसहरुले उनलाई अस्पताल पुर्याए र त्यसपछि मृत अवस्थामा मेरा श्रीमानलाई घरमा ल्याए ।’

अभियुक्तले प्रहरीलाई दिएको जानकारी अनुसार गुलिस्तानले उनका श्रीमानलाई एउटा सूई दिएपछि उनको स्वास्थ्यअवस्था बिग्रिएको भन्ने त्यहाँका प्रत्यक्षदर्शीले बताएपछि त्यति नै बेला श्रीमानको हत्याको बदला लिने उनले निर्णय गरिन् । 

प्रहरीका अनुसार अभियुक्तले पाँच ६ महिनासम्म आफ्ना श्रीमान्को मृत्युको बदला लिने कोसिस गरिरहिन् तर उनले यसका लागि मौका पाउन सकिनन् । त्यसपछि उनले गुलिस्तानको नजिक कसरी हुने भन्नेबारे सोच्न थालिन् । 

अभियुक्तले प्रहरीलाई भनिन्, ‘त्यसपछि मैले गुलिस्तानसँग विवाह गर्ने निर्णय गरेँ र उनलाई मेसेज पठाएँ । यद्यपि, गुलिस्तान पहिला नै विवाहित थिए र उनको एउटा छोरा पनि छन् तर मैले गुलिस्तानलाई लोभ देखाएर राजी बनाएँ । ’

अभियुक्त महिलाले प्रहरीलाई भनिन् कि उनले गुलिस्तानलाई भनिन्, ‘मसँग पैसा छ । तिमी एउटा गाडी किन र त्यसमा घुम । तपाईं आफ्नो देशमा मजदुरी गर र हामी निकै खुसीसाथ जीवन बिताउनेछौं ।’

महिलाले प्रहरीलाई भनिन्, ‘अघिल्लो वर्ष इद अघि हामीले विवाह गर्यौं र ६ महिनासम्म हामी कहिले कसको घर त कहिले गुलिस्तानकी बहिनीको घरमा बस्यौं । त्यसपछि मैले गुलिस्तानलाई कत्ति अर्काको घरमा बस्ने भाडामा एउटा घर लिऔं भनेर मैले नै कर गरेँ ।’

प्रहरीले महिलाको बयानलाई उद्धृत गर्दै भने, ‘हामीले इनायत कलीमा तीन हजार रुपैयाँ प्रति महिनाको हिसाबले एउटा घर भाडामा लियौं । त्यसपछि मैले गुलिस्तानलाई भनेँ, ‘हामी यहाँ एक्लै बस्यौं । कहिलेकाँही चोर पनि आउलान्, त्यसैले आफ्नो सुरक्षाका लागि घरमा एउटा बन्दुक राखौं । गुलिस्तानले साढे १३ हजारमा एउटा बन्दुक किने ।’

महिलाले प्रहरीलाई भनिन्, ‘मेरो श्रीमानको मृत्यु भएको तीन वर्ष बितिसकेको छ र दुई वर्षसम्म त कसरी र कहिले बदला लिन सकिन्छ भनेर मात्रै सोचेँ । जब घरमा बन्दुक आयो तब यो प्रयोग गर्ने मौकाको खोजीमा थिएँ ।’

घटना भएको दिनबारे विस्तृत जानकारी दिँदै अभियुक्त महिलाले भनिन्, ‘म रातभरी जागा भएँ र राती करिब एक बजे अर्को कोठामा गएँ र बन्दुकमा गोली राखेर गुलिस्तानको कोठामा गएँ । गुलिस्तान सुतिरहेका थिए र मैले उनीमाथि गोली चलाएँ तर फायर भएन ।’

‘त्यसपछि म कोठामा गएँ र बन्दुक चेक गरेँ । त्यसपछि पुनः गुलिस्तानको कोठामा गएँ र पहिलो फायर गुलिस्तानको टाउकोमा गरेँ र दोस्रो फायर उनको शरीरको दाहिनेतर्फ गरेँ । गोली हानेपछि सूर्य नउदाएसम्म म त्यहाँ नै बसिरहेँ । घाम झुल्किएपछि मैले बाहिरका मानिसलाई बोलाएर कसैले मेरो श्रीमानको हत्या गरिदिएको बताएँ । त्यसपछि मानिसहरु जम्मा भए र प्रहरी पनि घटनास्थलमा आइपुग्यो ।’

प्रहरी अधिकारी विलायत खानका अनुसार सुरुमा अभियुक्तले आफूले हत्या नगरेको बताइरहिन् तर जब प्रहरीले अनुसन्धान गरे तबमात्रै उनले स्वीकार गरिन् । उनले घटनाबारे सबैकुरा बताइन् र सन्दुकमा राखेको बन्दुकबारे पनि जानकारी दिइन् । प्रहरीले उक्त बन्दुक मारिएका गुलिस्तानका छोराको उपस्थितिमा बरामद गरेको छ । 

स्थानीयका अनुसार गुलिस्तान एक राम्रो स्वभावका व्यक्ति थिए, उनी स्थानीय स्तरमा आफ्नो काम गर्दथे । प्रहरीका अनुसार अभियुक्त महिलालाई अदालतमा पेश गरेपछि उनलाई जेल पठाइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप