बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राप्रपा अध्यक्ष लोहनी भन्छन्–अदालतको फैसला स्वीकारेर अघि बढौं

शुक्रबार, ०१ साउन २०७८, १३ : ०४
शुक्रबार, ०१ साउन २०७८

राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोध गर्दै आएका उनले सर्वोच्चले असार २८ गते सो निर्णय सच्याउनु सकारात्मक रहेको बताए ।

उनले आफूले गुण दोषको आधारमा शेरबहादुर देउवा नेतृत्वको सरकारको काम कारबाहीप्रति समर्थन जनाउने  प्रतिक्रिया दिए । विगतमा आफूले ओलीले केही राम्रो काम गर्दा समर्थन गरेको स्मरण गर्दै लोहनीले पछि एकपछि अर्को गर्दै गैर संवैधानिक र जनभावना विपरीतको काम कारबाही गरेको उनको आशय थियो ।

‘देश, जनता र राष्ट्रिय हितमा जसले राम्रो काम गर्छ, स्वाभाविक रूपमा मेरो नजरमा ऊ ठीक हो’, लोहनीको भनाइ छ, ‘अहिलेको अवस्थामा सर्वोच्चको आदेशबाट देउवाजी प्रधानमन्त्री बन्नु भएको छ । ओलीजीले गलत गर्नुभएको अदालतबाट पुष्टि भइसकेको छ ।’

लोहनीले प्रधानमन्त्री देउवा सामु धेरै चुनौती रहेको उल्लेख गर्दै प्राथमिकता निर्धारण गरेर काम गर्न सुझाव दिए । ‘कोरोना भाइरस नियन्त्रण गर्ने, खोप ल्याएर सबै जनालाई उपलब्ध गराउने, अर्थतन्त्रलाई उकास्नेजस्ता चुनौती उहाँसामु छ’, लोहनीले रातोपाटीसँग शुक्रबार भने, ‘उहाँ पाँचौँ पटक प्रधानमन्त्री बन्नु भएको छ, उहाँले राष्ट्र, राष्ट्रियता र जनताप्रति प्रतिबद्ध भएर काम गर्नुपर्छ ।’

पार्टीभित्र सर्वोच्च अदालतको फैसलालाई लिएर दुई धार देखिएबारे सोधिएको प्रश्नमा उनले अदालतको फैसलालाई स्विकारेर अघि बढ्नु सबैको दायित्व हुने बताए । ‘अदालतले फैसला स्वीकार गर्नु सबैको दायित्व हुन आउँछ । कसैलाई चित्त नबुझ्दा विरोध गर्नु स्वाभाविक हो’, उनले भने । राप्रपाका अर्का अध्यक्ष कमल थापाले ओलीको कदमको स्वागत गर्दै आएका थिए सर्वोच्चले विघटन बदर गरिदिए पनि निरन्तर अदालतप्रति असन्तुष्टि पोख्दै आएको सन्दर्भमा लोहनीबाट यस्तो धारणा आएको हो ।

उनले पार्टीभित्र यस विषयमा छलफल गरेर एकमत भएर अघि बढिने पनि स्पष्ट पारे ।  उनले पार्टीको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुने पनि स्पष्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप