विशेष सम्पादकीय
आजदेखि रातोपाटी चौथो वर्ष पुरा गरेर पाँचौं वर्षमा प्रवेश गरेको छ । संघर्ष र सफलताका यी चार वर्षमा रातोपाटीसँग प्रत्यक्ष–अप्रत्यक्ष जोडिनुभएका सबै पाठक, दर्शक, संघसंस्था, व्यक्तित्व, विज्ञापनदाता, कर्मचारी, पत्रकारलगायत सबै सुभेच्छुकमा रातोपाटी परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ । साथै वार्षिक उत्सवको यो सुखद अवसरमा आगामी वर्षहरुलाई पनि जनपक्षिय पत्रकारिताको बलियो मिडिया निर्माण गर्न रातोपाटी उस्तै लगन र स्वाभिमानका साथ लागिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछ ।
गरिब, उपेक्षित र सीमान्तकृत जनताको आवाज बोकेर हिँडिने कुनै पनि पाइला सहज हुँदैन । रातोपाटीले पनि आफ्नो चार वर्षे यात्रामा अनेकौं कठिनाईको सामना गरेको छ । थुप्रै असुविधाको बीचबाट सानो टिमले शुरु गरेको रातोपाटीसँग शुरुवातमा आफ्नै विवेक र पसिनाको बल सिवाय केही थिएन । सबैभन्दा ठूलो शक्ति भनेको आत्मविश्वास र जनताको सत्य बोल्ने साहस हो भन्ने विचारलाई पक्रेर रातोपाटीले चार वर्षसम्म संघर्षका असंख्य पाइलाहरु नेपाली समाजको हाइवेमा दर्ज गरिरह्यो । संचार विस्फोटको आजको युगमा छापा, टेलिभिजन, रेडियो लगायतका परम्परागत मिडियाको हुलमा अनलाइन मिडिया पनि दर्जनौंको संख्यामा मिसिन आइपुगेको छ । सत्यलाई असत्य र असत्यलाई सत्य सावित गर्ने हजारौं प्रयत्न हरेक दिन नेपाली मिडियाको दुनियाँमा ‘बिजनेस’ पनि चलिरहन्छ । यो चुनौतीलाई सामना गर्दै रातोपाटीले जनताको सत्य बोल्ने बलियो शक्ति संस्थागत गरेको तथ्य नेपाली जनताका सामु राख्दा आज हामी गौरवान्वित महसुस गरिरहेका छौं ।
तथ्यको हत्या गर्ने र असत्यलाई नक्कली तथ्यको मुखण्डो लगाएर जनतालाई दिग्भ्रमित पार्ने प्रयत्न आज पनि उसैगरी चलिरहेको छ । स्वाभिमान र जनताको सत्यको पत्रकारिता गर्ने रातोपाटी जस्ता मिडियालाई पाइलापाइलामा अवरोध खडा गर्ने व्यूह पनि हरेक दिन रचिन्छ । तर सबै चुनौतीको सामना गर्दै अविचलित ढंगले अघि बढिरहेको छ । परिवर्तन विरोधी कुलीनहरुले रातोपाटीको आत्मविश्वासमा प्रहार गर्न पनि यो बीचमा छाडेनन् र हामीलाई विश्वास छ उनीहरु त्यस्तो कर्म भोली पनि गरि नै रहनेछन् । हामी हाम्रा पाठक, दर्शक र सुभेच्छुकहरुलाई के विश्वास दिलाउन चाहन्छौं भने रातोपाटी कुनै पनि चुनौतीका सामु झुक्नेछैन । हामी कुनै प्रकारका प्रलोभन, लालच र विदेशी पैसाको असरमा परेर परम्परागत शक्तिको खेलमा कुनै प्रकारको मोहरा बन्ने छैनौं ।
रातोपाटी चुनौतीको पहाड समुन्ने उभिएको त्यो किसान जस्तो हो जसले कुटोले खनेरै पनि यो पहाड छिचोलेर बाटो बनाउने संकल्प लिएको छ । हामी यो सुनाउन पाउँदा गर्विलो भएका छौं कि भर्खरै हामीले रातोपाटी अनलाइन टिभी शुरु गरेका छौं । रातोपाटीलाई जनपक्षिय पत्रकारिताको एउटा पूर्ण मिडिया बनाउने हाम्रो प्रयत्नको यो एउटा नयाँ पहल हो । रातोपाटी अनलाइन टिभीलाई हामी छिटै नै एक बलियो श्रव्यदृश्य मिडियाका रुपमा विकसित गर्ने अभियानमा छौं । वैकल्पिक र जनपक्षिय पत्रकारिताको हाम्रो अविचल प्रयत्नलाई भविश्यमा पनि पाठक, दर्शक, सुभेच्छुक, विज्ञापनदाता लगायत सबैले उसैगरी साथ दिनुहुनेछ भन्ने हाम्रो अटल विश्वास छ ।
चौथो वार्षिक उत्सवको यो अवसरमा सबैलाई बधाई तथा शुभकामना !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबिच आज द्विपक्षीय भेटवार्ता
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
मौद्रिक नीतिको समीक्षा हुँदै, के-के होला परिवर्तन ?
-
‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेशाज्ञा, श्रम स्वीकृतिलगायत प्रक्रियागत व्यवस्थाको प्रयास’
-
कपालमा अन्डा लगाउँदा के हुन्छ ?
-
पोखराको बाँझो जग्गामा कागतीखेती