शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मोहना नदीको बाढी बस्तीमा पस्यो, २८ घर डुबानमा

बिहीबार, ३१ असार २०७८, २१ : ४५
बिहीबार, ३१ असार २०७८

कैलाली । कैलालीको गोदावरी नगरपालिका–५, श्रीलंका सुकुम्बासी बस्तीका खड्क विकसँगै २८ घर डुबानमा परेका छन् । बिहीबार सो बस्तीमा मोहना नदीको बाढी पसेपछि २८ घर परिवार विस्थापित भएका हुन् । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण मोहना नदीको सतह बढ्दै बस्तीमा पानी पसेको हो ।

श्रीलंकामा मुक्तकमैया र भूमिहीन घरपरिवारको बसोबास छ । धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत गेटाबाट झन्डै एक किलोमिटर पश्चिममा रहेको यो गाउँ ०५७ पछि ‘श्रीलंका’ बनेको हो । ‘होचो जमिनमा बस्ती बसाइएको छ । मोहनामा पानीको बहाव बढ्नेबित्तिकै गाउँमा बाढी पस्छ,’ स्थानीयवासी दिलबहादुर चौधरी भन्छन््, ‘बस्तीमा नदी पसेपछि नजिकैको विद्यालय वा गेटा मेडिकल कलेजको जग्गामा गएर बस्नुपर्ने बाध्यता छ ।’

सोही बस्तीका शिरभोगे चौधरी पनि मोहना नदीको बाढी हरेक वर्ष बस्तीमा पस्ने गरेको बताउँछन् । उनले भने, ‘कुनै वर्ष एक÷दुई घर प्रभावित हुन्छन् भने कुनै वर्ष बस्ती नै प्रभावित हुन्छ ।’

सो बस्ती डुबानमा परेपछि अहिले त्यस क्षेत्रका मानिसलाई नजिकैको नवज्योति माध्यामिक विद्यालयमा राखिएको कैलाली प्रहरी प्रवक्ता प्रतिक विष्टले जानकारी दिए ।

बुधबार रातिको वर्षाले कैलालीको मोहनासँगै अन्य सहायक खोला तथा नदीमा पनि पानीको सतह बढेको थियो । प्रवक्ता विष्टले भने, ‘नदीको बहाव सबैतिर बढेको थियो तर, मानवीय क्षति कतै भएको छैन ।’ उनका अनुसार गोदावरी नगरपालिका वडा नम्बर ४ र १ का ३६ वटा घरमा डुबानमा परेका छन् ।

मोहना नदीको बहाव बढेपछि कैलालीको धनगढी र कञ्चनपुरको राजघाटका मानिसलाई आवतजावतमा समस्या भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा देशभरीमै सबैभन्दा बढी वर्षा धनगढीमा भएको छ । महाशाखाले दिएको जानकारी अनुसार धनगढीमा १३२.६ मिलिमिटर वर्षा भएको थियो भने पोखरामा १३१.२ मिलिमिटर वर्षा भएको छ ।

त्यस्तै, प्रदेशका डडेल्धुरामा ३.४ र डोटीमा ०.४ मिलिमिटर वर्षा भएको छ ।

मौसम फिल्ड कार्यालय अत्तरियाका कार्यालय प्रमुख सिंगल चौधरीका अनुसार बिहान नदीको सतह बढे पनि बेलुका घट्दै गएको छ । तराई क्षेत्रमा पानी नपरे पनि कैलालीका पहाडी क्षेत्रमा अत्यधिक वर्षा हुँदा नदीको सतह बढेको उनले बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ अनुसार कैलालीमा मोहना, कर्णाली, खुटिया, कान्द्रा, काँडा, गुलरा, गोदावरी तथा चुरे पहाडबाट दक्षिणतिर बग्ने कयौं वर्षे खोलाहरूबाट बाढीको जोखिम बढ्ने गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका, टीकापुर, भजनी नगरपालिका र कैलारी गाउँपालिका बाढी तथा डुबानको उच्च जोखिममा छन् भने चुरे गाउँपालिका पहिरोको उच्च जोखिममा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप