शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओलीले शिलान्यास गरेको सन्थाल जातिको एकीकृत बस्ती निर्माणको काम अलपत्र

जग्गा विवाद नटुङ्ग्याइ हतारोमा शिलान्यास गर्दा निर्माणको काम नै रोकियो
बिहीबार, ३१ असार २०७८, १६ : ३१
बिहीबार, ३१ असार २०७८

गत फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निकै तामझामका साथ मोरङ जिल्लाको उर्लाबारी नगरपालिकामा सन्थाल जातिको एकीकृत बस्ती निर्माणको शिलान्यास गरे ।

प्रधानमन्त्री र मन्त्रीसहितको जम्बो टोलीको सहभागितामा बस्तीको शिलान्यास गर्दा स्थानीयवासी रमेश सोरेनलाई अब चाँडै चिटिक्क परेको घर पाउने आशा जागेको थियो । तर पाँच महिना अघि शिलान्यास गरेको बस्ती निर्माणको सुरसार अहिलेसम्म हुन नसकेपछि उनलाई आफ्नो घर नबत्रे रहेछ भनेर पीडा हुन थालेको छ ।

‘खै ! शिलान्यास अघि तपाईँहरूका लागि यहाँ सरकारले घर बनाइदिन्छ भनेर धेरैले भने,’ सोरेन भन्छन्, ‘प्रधानमन्त्रीले आँखै अगाडि शिलान्यास गरेको बस्ती बनाउने अझै सुरसारै छैन ।’ यो अवस्थाले आफूजस्ता गरिबले घर पाउने कुराको आशा नै मरिसकेको उनले बताए ।

पूर्व प्रधानमन्त्री ओलीले सन्थाल समुदायलाई चिटिक्क परेको घर बनाएर राख्नेसमेत उद्घोष गरेका थिए । तर उनले उद्घोष गरेको उर्लाबारी–८ मा निर्माण गरिने भनिएको सन्थाल जातिको एकीकृत बस्ती निर्माण जग्गाको विवादका कारण अलपत्र परेको छ ।

बस्तीका लागि छुट्याइएको जग्गाको विवाद नसुल्झाई हतार हतार शिलान्यास गरिएकाले काम अगाडि बढ्न नसकेको उर्लाबारी–८ का वडा अध्यक्ष कुलबहादुर कार्कीले बताए ।

कार्कीका अनुसार उर्लाबारी नगरपालिका–८ र ९ को सीमानामा रहेको रातोहोली खोल्सी किनारमा निर्माण गर्न लागिएको एकीकृत बस्तीको जग्गा ऐलानी भए पनि स्थानीयवासीले वर्षौँदेखि भोगचलन गर्दै आएको छन् । आफूहरुले धेरै वर्षदेखि भोगचलन गर्दै आएको जग्गा भएकाले उचित क्षतिपूर्तिसहित आफूहरुलाई सरकारले सम्बोधन गर्नुपर्ने भन्दै शिलान्यासकै बेला स्थानीयवासीले विरोध गरेका थिए । जग्गाको विषयलाई लिएर कुरा नमिल्दा बस्ती निर्माणको ठेक्का लागे पनि काम अघि बढ्न नसकेको वडा अध्यक्ष कार्कीले बताए ।

अल्पसंख्यक र लोपोन्मुख जातिको उत्थान गरी उनीहरूलाई व्यवस्थित र एकीकृत बस्तीमा बसाउने सरकारको लक्ष्यअनुसार ३० करोड रकम खर्च गरेर त्यहाँ एकीकृत बस्ती बसाउने योजना अघि सारिएको हो ।

रातो होली खोल्सीको उत्तर–दक्षिण क्षेत्रफलमा फैलिएको सात सय ८० मिटर लम्बाइभित्र पर्ने ५२ हजार आठ सय २८ वर्ग मिटर जग्गामध्ये ३१ हजार सात सय ६८ वर्ग मिटरभित्र बस्ती निर्माण गरिने भनिएको थियो ।

एकीकृत बस्ती विकास सम्बन्धी कार्यविधि २०७५ अनुसार स्थानीय प्रविधि, सीप र सामग्री प्रयोग गरी प्रत्येक परिवारका लागि दुई कोठा, एउटा भान्साकोठा र एक शौचालयसहितको संरचना निर्माण गर्ने योजना समावेश छ । त्यसैगरी सडक, खानेपानी, मनोरञ्जन स्थल, खोल्सी संरक्षण, सरसफाइ, बाल विकास केन्द्र, विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवन लगायत निर्माण गरी चाँडै हस्तान्तरण गर्ने बताइएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष पहलमा निर्माण गर्न लागिएको बस्तीमा १ सय ३२ घर निर्माण गर्ने योजना समेटिएको छ । जसमा १ सय ६ घर सन्थालको र २६ घर उराउ जातिका लागि निर्माण गर्ने भनिएको छ ।

राष्ट्रपति भण्डारीको आफ्नै देउरानी लक्ष्मी भण्डारी उर्लाबारी नगरपालिकाको उपप्रमुख हुन् भने मोरङ जिल्ला राष्ट्रपति भण्डारीको गृह जिल्ला पनि हो । तर पनि बस्ती निर्माणको कामले कुनै गति लिन सकेको छैन ।

संघीय आयोजना कार्यान्वयन इकाइका इञ्जिनियर बह्मदेव चौधरीले जग्गा विवादको काम सुल्झन नसक्दा बस्ती निर्माणको काम अगाडि बढ्न नसकेको बताए ।

शिलान्यासपछि बस्ती निर्माणको लागि ठेक्का लागे पनि जग्गा विवाद नमिल्दा स्थानीयको अवरोधका कारण निर्माणको काम रोकिन पुगेको छ । इन्जिनियर चौधरीका अनुसार पाँच महिनाभित्र त्यहाँ घर निर्माण गरी लक्षित वर्गलाई हस्तान्तरण गर्ने योजना थियो । 

उर्लाबारीको नगरपालिका ८ स्थित नदी किनारामा सन्थाल जातिका करिब ७० घर परिवार दयनीय अवस्थामा गुजारा गरिरहेका छन् । उनीहरू नदी किनार क्षेत्रमा नरकट र खरको छानाले बारेर बनाएको घरमा बस्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप