शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा बलात्कारका घटना : ६ महिनामा २० जना पीडित

बिहीबार, ३१ असार २०७८, १४ : ४९
बिहीबार, ३१ असार २०७८

भक्तपुरमा ६ महिनाको अवधिमा बालिका, किशोरी र महिला गरी २० जना बलात्कारको घटनाबाट पीडित भएका छन् । बिहीबार इन्सेक भक्तपुरद्वारा जिल्लामा २०२१ जनवरीदेखि जुन अन्तिमसम्म विगत ६ महिनाको समयमा घटेका घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षामा सो जानकारी दिइएको हो । 

उक्त कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले मानवअधिकारको रक्षाका लागि जिल्लाका सबै स्थानीय सरकार र सरोकारवाला एकजुट हुनुुपर्ने बताइन् ।  नगरपालिकाको न्यायिक समितिको संयोजक समेत रहेकी उपप्रमुख बस्नेतले सो नगरपालिकामा धेरैजसो सँधै सीमाना विवादका मुद्दा आउने गरेको बताइन् । 

महिला हिंसा, घरेलु हिंसाको मुद्दा २० प्रतिशतमात्रै आउने र नगरपालिकाको न्यायिक समितिले १ सय ५८ वटा मुद्दा छिनोफानो गरेको जानकारी दिइन् ।  महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी शिवकुमार श्रेष्ठले समाजलाई अपराधबाट मुक्त राख्न सकेमात्र मानवअधिकारको रक्षा हुुने बताए । 

लागू पदार्थ दुर्व्यसनीले, मदिरा सेवनले प्रत्येक वर्ष अपराधका घटनामा वृद्धि गरेकाले सोको न्यूनिकरणका लागि समाजका सबै क्षेत्र एकजुट भएर लाग्नुपर्ने बताए ।  कार्यक्रममा चाँगुनारायण नगरपालिका महिला शाखा प्रमुख निला घिमिरे, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, गैसस भक्तपुरका अध्यक्ष नारायण न्यौपाने, पत्रकार महासंघ पूर्व अध्यक्ष पुष्कर बुढाथोकी, राष्ट्रिय संचार केन्द्रका अध्यक्ष पेशल आचार्यलगायतले मानवअधिकारको रक्षाको लागि सबैले प्रतिवद्ध हुनुपर्ने धारणा राखेका छन् । 

६ महिनामा घटेका घटनाहरु यस्ता छन् : 

‘भक्तपुरमा हत्या, कुटपिट बलात्कार तथा बलात्कार प्रयास, बाल यौन शोषण तथा दुव्र्यवहार, बहुविवाह लगायतका घटना भएको देखिएको छ’ इन्सेकका जिल्ला प्रतिनिधि रमेश गिरीले भने ।  यो ६ महिनाको अवधिमा गैर राज्यपक्षको परिवारजनबाट ३ जनाको हत्या भएको, ५ जनाको हत्या प्रयास भएको छ । अभिलेखित घटना अनुसार यस अवधिमा बालिका, किशोरी र महिला गरी २० जना बलात्कारका घटनाबाट पीडित भएका छन् ।

बलात्कार प्रयासका घट्नाबाट २ जना, बालयौन दुव्र्यबहारबाट ७ जना र बहुविवाहका घटनामा ५ जना महिला पीडित भएका छन् । यस अवधिमा मानव बेचबिखनबाट ३ जना, मानव बेचबिखनसहित बलात्कारबाट १ जना किशोरी, ठगी गरि भएको बलात्कारबाट १ जना, अपहरण गरि बलात्कारबाट १ किशोरी पीडित भएका हुन् । 

अभद्र व्यवहारबाट ७७ जना पीडित भएको इन्सेकको तथ्याँकमा उल्लेख गरिएको छ । घरेलु हिंसाबाट १२ जना महिला पीडित भएको उजुरी आएपनि पाँच जनाको मिलापत्र गराएको छ भने ७ जनाको काम भइरहेको छ, उक्त प्रतिवेदनमा भनिएको छ । 

यसअवधिमा आत्महत्या दुरुत्साहनमा २ जना, सार्वजनिक स्थलमा योनाङ देखाउने १ जना, अप्राकृतिक मैथुन गराई हिंसा गर्ने १ जनाका साथै विष सेवनबाट १० र झुन्डिएर १७ जनाको ज्यान गएको छ । त्यस्तै बालबालिका, महिला, पुरुष गरि २१८ जना हराएकोमा १५८ मात्रै भेटिएको र २३ जना बेवारिसे भेटिएको बताइएको छ । यस वर्ष घरेलु हिंसाको घटनामा भने कमी आएको इन्सेक जिल्ला प्रतिनिधि गिरीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप