बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य मापदण्ड उल्लङ्घनमा नेतृत्व नै अगाडि, तेस्रो लहरलाई निम्ता

बिहीबार, ३१ असार २०७८, ११ : ०७
बिहीबार, ३१ असार २०७८



कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणको ग्राफ केही दिन यता स्थिर जस्तै छ । बुधबार २ हजार ९ सय ५ जनामा सङ्क्रमण पुष्टि भयो । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) को जोखिम कायम रहेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बारम्बार सचेत गराउँदै आएको छ । यसबीच पनि विभिन्न राजनीतिक दलका आन्दोलन, प्रदर्शन, राजनीतिक भेटघाट र सार्वजनिक स्थलमा स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउने जमातको आकार फराकिलो हुँदै गएको छ । स्वास्थ्य मापदण्डलाई बेवास्ता गरिरहँदा अब पुनः सङ्क्रमण बढ्ने निश्चित जस्तै भएको जनस्वास्थ्यविद्हरुले बताउन थालेका छन् ।

मङ्गलवार पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने क्रममा कोरोना महामारी कायम रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना अनिवार्य गर्नु पर्ने बताएका थिए । तर, भोलिपल्टै उनी आफै बालुवाटार छोड्ने क्रममा स्वास्थ्य सुरक्षालाई ख्याल नगरीकन हजारौँ कार्यकर्ताको भिडभाडमा बसेर भक्तपुरस्थित निजी निवासमा पुगे । निवासको बार्दलीबाट मास्क नै नलगाई आँगनमा जम्मा भएको भिडलाई सम्बोधन गरे ।

मङ्गलबार राति राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री, मन्त्रीहरूले शपथ लिँदा, बधाई आदानप्रदान गर्दा समेत न मास्कको प्रयोग गरे, न सामाजिक दूरी नै कायम गरेको देखियो ।

 शीतल निवासमा शपथग्रहण कार्यक्रमपछि सिंहदरबारमा पदभार ग्रहण गर्न आउने जाने क्रममा नवनियुक्त, प्रधानमन्त्री, मन्त्री तथा अन्य नेता कार्यकर्ताहरूमा देश कोरोना महामारीको दोस्रो लहरसँग जुधिरहेको हुँदा जोखिम कायम छ भन्ने कुरा बिर्सिएको पाइयो ।

यसरी कोरोना सङ्क्रमण पहिचान, नियन्त्रण र उपचारमा प्रमुख भूमिका खेल्ने नेतृत्व वर्ग सार्वजनिक कार्यक्रममा असंवेदनशील हुँदा ठुलो क्षति हुन सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डा.बाबुराम मरासिनीले चेतावनी दिएका छन् ।

 ‘कोरोना महामारी नियन्त्रणका लागि जनस्वास्थ्य नियम पालना गर्न निर्देशन दिने सरकार आफै नियम पालना गर्नेमा उदासिन देखियो । अब व्यवहारिक रूपमै कुनै क्षेत्रमा धुम्रपान निषेधित क्षेत्र उल्लेख गरिएझैँ, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय तथा सबै कार्यक्षेत्रमा अनिवार्यरूपमा मास्कको प्रयोग भनेर कार्यालय प्रवेश विन्दुमा लेख्नुपर्यो,’ उनी भन्छन्, ‘निर्देशन दिने नेतृत्वकर्तादेखि कार्यालयमा सेवाबाट लिने र दिने व्यक्ति जनस्वास्थ्यका नियम पालना गर्नुपर्छ ।’  केही सातायता कोरोना सङ्क्रमण दर स्थिर रहे पनि विभिन्न राजनीतिक दलका आन्दोलन, प्रदर्शन र सार्वजनिक स्थलमा हुने भीडभाडले सङ्क्रमण बढ्न तयारी अवस्थामा रहेको उनले बताए । सरकार बनाउने र ढाल्ने खालमा हिजोआज हुने गरेका भीडभाडको परिणाम खतरनाक हुन सक्ने उनले सुनाए । 

‘जनस्वास्थ्यका मापदण्ड मैले पालना गर्न पर्दैन,’ उनले भने, ‘अरूले मात्रै स्वास्थ्य सुरक्षा अपनाउनुपर्छ भन्ने सोच हामी नेपालीको छ ।’

राजनीतिक कार्यक्रमको आयोजना गर्दा सबै दलहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड कार्यक्रम गरी जनतामाझ जनचेतना फैलाएमा राम्रो सन्देश प्रवाह हुने समेत उनको छ । परिचित व्यक्तित्वले सार्वजनिक कार्यक्रममा जनस्वास्थ्यका नियम उल्घंन गर्दा  कोरोना र जनस्वास्थ्यका नियम बारे बेवास्ता गर्ने सर्वसाधारणहरू बढ्न सक्ने उनको भनाइ छ । 

डा. मरासिनी भन्छन्, 'सत्ता र शक्तिका लागि जसरी राजनीतिक दलका नेता कार्यकर्ताले जति मेहनत गर्छन् त्यस्तै कोरोना महामारी नियन्त्रण, पहिचान, उपचार, खोप आयात, र जनचेतना फैलाउन थोरै मात्रै कोसिस गरेको भए कोरोना महामारीको जोखिम हुने थिएन ।'

घरबाहिर निस्कँदा पूर्ण रूपमा जनस्वास्थ्यका मापदण्डको पालनामा खेलाँची गरेको खण्डमा कोरोना सङ्क्रमणको अर्को लहर आउने उनको चेतावनी छ । ‘कोरोना खोप लगाएर सङ्क्रमणबाट मुक्त भए भन्दै स्वास्थ्य सुरक्षा अपनाउन बिर्सन हुँदैन,’ उनले भने, ‘पुनः कोरोना नयाँ भेरिएन्ट सङ्क्रमण हुने, खोप लगाए पनि सङ्क्रमण हुने र अरूलाई सङ्क्रमण गराउने आफै मुहान बन्न सक्ने भएकाले मास्क प्रयोग, हातको बेलाबेलामा सफाइ, सामाजिक दूरी कायम गर्न भुल्नै हुँदैन ।’

निषेधाज्ञा खुकुलो भएपछि एक साता यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार सङ्क्रमण दर सरदर १९.२ प्रतिशत छ । यस्तै असार २३ गते बुधबार २ हजार ९ सय ७९ जनामा सङ्क्रमण पुष्टि भयो भने बिहीबार कोरोना सङ्क्रमितको सङ्ख्या घटेर  १८ सय ७५ पुग्यो । शुक्रवार सङ्क्रमितको दर पुनः बढेर २२ सय ३९ पुग्यो । यस्तै शनिबार क्रमशः २१ सय ६९, आइतबार  सङ्क्रमितको सङ्ख्या घटेर १८ सय ३१, सोमबार  २३ सय ७० र मङ्गलबार २३ सय ९८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको एक सातामा सङ्क्रमितको अवस्था यस्तो छ :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप