बीपी प्रतिष्ठानमा आन्दोलनरत पक्षको माग सम्बोधन गर्न डा भट्टराईको आग्रह
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षको माग सम्बोधन गर्न आग्रह गरेका छन् ।
बिहीबार एक सार्वजनिक अपील जारी गर्दै डा भट्टराईले जारी अभियानप्रति ऐक्यबद्धता जनाउँदै तत्काल वार्ताको माध्यमद्वारा जायज मागहरूको सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आह्वान गरेका हुन् ।
प्रतिष्ठानमा रहेको विकृति र विसंगतिहरूको अन्त्य तथा प्रतिष्ठानको पदाधिकारी नियुक्तिलाई राजनीतिक हस्तक्षेप मुक्त राख्दै प्राज्ञिक मर्यादा कायम गर्नुपर्ने मागसहित प्रतिष्ठानका शिक्षक, कर्मचारी तथा नागरिक अगुवाहरु समेतले ‘प्रतिष्ठान शुद्धीकरण अभियान’ सञ्चालन गर्दै आएका छन् ।
‘नेपालकै सबैभन्दा ठूलो र चिकित्सा क्षेत्रमा राष्ट्रिय अन्तर्राष्ट्रिय साख राख्न सफल यो प्रतिष्ठान, सरकारको र सत्तारुढ पार्टीको अनावश्यक हस्तक्षेप र असक्षम पदाधिकारीहरूको नियुक्तिको कारण दिनानुदिन अधोगतितिर जानु समग्र राष्ट्रकै लागि दुःखद छ’, भट्टराईले अपीलमा भनेका छन्, ‘ विश्वविद्यालयहरू, प्रतिष्ठानहरू तथा अन्य प्राज्ञिक क्षेत्रमा हुने प्रत्येक नियुक्तिहरू स्थापित मापदण्डका अनुरुप तथा कार्यक्षेत्र र कार्य प्रकृतिको मर्यादा कायम गर्ने हैसियतका हुनुपर्छ भन्ने हाम्रो सदैव अडान रहेको छ । यसअनुरूपको नेतृत्वले मात्र संस्थालाई सही दिशामा हाँक्न सक्दछ भन्ने हाम्रो विश्वास छ ।’
निवर्तमान सरकारले जारी अभियानलाई चिकित्सा शिक्षा क्षेत्रको विकृति र विसंगतिको अन्त्य गर्ने अवसरको रूपमा सम्बोधन गर्नुपर्नेमा धरपकडको नीति लिएर गैरजिम्मेवार बनेको पनि भट्टराईले बताएका छन् ।