बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा संक्रमणदर उच्च, एकैदिन ४२ हजारभन्दा बढी संक्रमित

बुधबार, ३० असार २०७८, २३ : १५
बुधबार, ३० असार २०७८

बेलायतमा एकैदिन ४२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा ४२ हजार ३०२ जना कोरोना संक्रमित फेला परेका हुन् ।

यो संख्या गएको ६ महिनायताकै उच्च हो । अघिल्लो दिन ३६ हजार ६६० जना संक्रमित रहेकोमा आज झन्डै ६ हजार बढी संक्रमित थपिएका छन् । थपिएका संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ५२ लाख ३३ हजार २०७  पुगेको छ ।

सरकारले आउँदो सोमबारबाट इंग्ल्याण्डमा जारी लकडाउन पूर्ण रुपमा हटाउने घोषणा गरेसँगै संक्रमणदर पनि निरन्तर उकालो लाग्दै गइरहेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन खुल्ने दिनसम्म संक्रमित संख्या दैनिक ५० हजारसम्म पुग्ने यसअघि नै बताइसकेका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ४९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो दिन ५० जना संक्रमितको मृत्यु भएको थियो जुन गत अप्रिल ९ यताकै सबैभन्दा बढी हो । बेलायतमा कोरोनाका कारण हालसम्म एक लाख २८ हजार ५३० जनाको मृत्यु भइसकेको छ ।

बेलायतमा दुई तिहाइ वयस्कहरुले कोरोनाविरुद्धको दुवै डोज खोप लगाइसकेको सरकारी तथ्यांकमा उल्लेख छ । तीन करोड ५१ लाख ५५ हजार ७६७ जना अर्थात ८७.४ प्रतिशतले खोपको पहिलो डोज लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप