बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रक्रियाविपरीत वितरण गरिएका क्रियाशील सदस्यता खारेज हुनुपर्छ : केसी

बुधबार, ३० असार २०७८, १९ : २२
बुधबार, ३० असार २०७८

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले प्रक्रियाविपरीत वितरण गरिएका क्रियाशील सदस्यता खारेज हुनुपर्ने बताएका छन् । मापदण्डविपरीत क्रियाशील सदस्यता वितरण गरिएको आरोप लगाउँदै काँग्रेस केन्द्रीय कार्यालयमा चार दिनदेखि धर्नामा बसेका नेता तथा कार्यकर्तालाई आज भेटेर उनले पार्टीले तय गरेको प्रक्रियाविपरीत वितरण गरिएका क्रियाशील सदस्यता खारेज हुनुपर्नेमा जोड दिए ।

“प्रक्रियाविपरीत दिइएका क्रियाशील सदस्यतालाई १५ औँ महाधिवेशनमा सम्बोधन गर्नेगरी अहिले १३ औँ महाधिवेशनका क्रियाशील सदस्यतालाई आधार मानेर अगाडि बढ्नुपर्छ”, नेता केसीले भने। पार्टीका पूर्वसांसद रामअयोध्या यादवको नेतृत्वमा छ बुँदे माग राखेर चार दिनदेखि बाराका नेता तथा कार्यकर्ता धर्नामा बसेका छन् । उनीहरुले पार्टीमा छलफल नै नगरी दर्ता गरिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, पुरानो क्रियाशील सदस्यतालाई नवीकरण गर्नुपर्ने, विधानअनुसार नयाँ क्रियाशील सदस्यता तत्काल वितरण गर्नुपर्ने, वडा समितिको सिफारिसबिना दिइएका क्रियाशील सदस्यता खारेज गर्नुपर्नेलगायतका माग राखेका छन् ।

काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा रहेको सात सदस्यीय क्रियाशील सदस्यता छानविन समितिले काम गरिरहेको अवस्थामा उनीहरु धर्नामा बसेका हुन्। काँग्रेसको आगामी महाधिवेशनका लागि आठ लाख ५० हजार सदस्यता पार्टी केन्द्रीय कार्यालयको वेबसाइटमा दर्ता भइसकेका छन् । काँग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप