शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हड्डी टुटे, ५ लाख किलोमिटर घुमे : अपहृत छोरालाई २४ वर्षपछि भेट्दा राेक्न सकेनन् आँसु

बुधबार, ३० असार २०७८, १५ : ४२
बुधबार, ३० असार २०७८

सन् १९९७  मा चीनको शेनडोङ्ग शहरबाट दुई वर्षका बालक अपहरणमा परेका थिए । छोरा हराएपछि उनका पिताले चीनको थुप्रै हिस्सामा गएर आफ्नो छोरा खोज्ने कोसिस गरे । २४ वर्षपछि जब यी व्यक्तिले आफ्ना छोरालाई भेटे तब पूरा देशमा यो केस भाइरल हुन थाल्यो ।

ग्युओ ग्याङ्गट्याङ्गले २४ वर्षसम्म चीनमा आफ्नो छोरालाई खोजिरहे र यतिबेला उनले मोटरसाइलमा ३ लाख मिल (करिब ५ लाख किलोमिटर) को यात्रा निश्चित गर्न सफल भए । यी व्यक्ति सधैं आफ्नो हातमा ब्यानर लिएर हिँड्ने गर्थे जसमा उनका छोरा ग्युओ जिनजेनको तस्बिर हुने गर्दथ्यो ।

लगभग साढे दुई दशकपछि यी व्यक्तिको आफ्नो छोरासँग भेट भयो । यो पुनर्मिलन एक प्रहरी स्टेशन बाहिर भयो र बुवा–छोराको यो भावुक भेटघाटलाई चीनको मिडियाले प्रमुखताका साथ प्रसारण गर्यो । सोसल मिडियामा पनि यो मुद्दा छाइरह्यो ।

स्मरण रहोस्, चीनमा बच्चाको अपहरण थुप्रै दशकको समस्या रहेको छ तर प्रशासनका अनुसार नयाँ प्रविधि र बायोसाइन्सका कारण हराएका बच्चा भेटिने संख्यामा पनि अत्यधिक वृद्धि भएको छ ।

यी व्यक्तिले आफ्नो छोरालाई खोजिरहेको विषयमा सन् २०१५ मा एउटा फिल्म पनि रिलिज भइसकेको छ । यो फिल्मको नाम ‘लस्ट एण्ड लभ’ थियो र यसमा हङ्गकङका लोकप्रिय सेलिब्रिटी एन्डी लले काम गरेका थिए । एन्डीले यो खबर सार्वजनिक भएपछि खुसी व्यक्त गरेका छन् ।

आफ्नो छोरा अपहरणमा परेको केही समयपछि नै यी व्यक्तिले छोराको खोजी सुरु गरेका थिए । उनले चीनका २० भन्दा बढी प्रान्तमा एक्लै खोज तलाश गरेका थिए । यो यात्राको क्रममा उनले थुप्रै उतारचढावको पनि सामना गर्नुपरेको थियो ।

गेङ्गट्याङ्गले ट्राफिक दुर्घटनामा थुप्रै पटक घाइते हुँदा हड्डी मात्रै भाँचेनन्  उनका १० वटा मोटरसाइकल पनि बर्बाद भए । उनी थुप्रै पटक लुटपाटमा पनि परे ।  एकपटक चीनको स्थानीय मिडियासँगको कुराकानीमा गेङ्गट्याङ्गले आफ्नो छोराको खोजीमा लागिरहँदा मात्रै आफूलाई आफू पिता भएको महसुस हुने बताएका थिए ।

स्थानीय मिडिया अनुसार जिनजेन आफ्नो घर बाहिर खेलिरहेका बेला उनलाई कुनै महिलाले अपहरण गरेका थिए । यी महिलाले त्यसपछि जिनजेनलाई आफ्नो प्रेमीसँग मिलेर उनलाई हेनान प्रान्तमा बेचिदिएकी थिइन् ।

जिनजेन हेनान प्रान्तमा बसिरहेका  बेला नै प्रहरीले उनलाई ‘तिमीलाई तिम्रा पिताले वर्षौंदेखि खोजिरहेका छन्’ भन्ने जानकारी दिए । २६ वर्षका जिनजेन अब एक शिक्षकको रुपमा काम गर्छन् । पुलिस फोर्सले जिनजेनको पहिचान उनको डीएनए परीक्षणमार्फत् गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप