शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काम छाडेर चाकडी गर्न नआउनुस् : अर्थमन्त्री शर्मा

बुधबार, ३० असार २०७८, १४ : ४७
बुधबार, ३० असार २०७८

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीहरुलाई काम छोडेर चाकडी गर्न नआउन आग्रह गरेका छन् । अर्थ मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले आफु राष्ट्रका लागि केही गर्ने उद्देश्यका साथ आएको बताए । मन्त्रालयमा मन्त्री र कर्मचारी कदममा कदम मिलाएर हिँड्ने आफ्नो प्रतिवद्धता भएको मन्त्री शर्माले बताए । मन्त्री र कर्मचारीबीच कुनै दुरी नचाहेको भन्दै मन्त्री शर्माले चाकडी र चाप्लुसीको भाषा प्रयोग गरेर उपस्थित नहुन आग्रह गरे । मन्त्रालयमा काम, समस्या र समस्या समाधानको मात्र कुरा हुने भएकोले सबै मिलेर दाजुभाइ जस्तो भएर काम गर्न उनले आग्रह गरे ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बढिरहेको व्यापार घाटा चुनौतीको रुपमा देखिँदै गएको बताए । नवनियुक्त अर्थमन्त्रीको स्वागत तथा पदभार ग्रहण कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले मुद्रा सञ्चितिको अवस्था राम्रो भएपनि व्यापार घाटा चुलिँदै गएकोमा चिन्तित हुनुपर्ने बताए । देशको विकास निर्माण तथा सेवा क्षेत्रमा खर्च गर्न पर्याप्त मौज्दात भएपनि हरेक वर्ष बढ्दै गएको व्यापार घाटाले समस्या निम्त्याउने बताए । आगामी आर्थिक वर्षमा निर्यातको मात्रा बढाउन सरकारको ध्यान जानुपर्ने उनले बताए  । देशमा निर्माण वा उत्पादन हुनसक्ने सानो भन्दा सानो माल वस्तु पनि महङ्गोमा आयात भइरहेको गर्भनर अधिकारीले बताए ।

नवनियुक्त अर्थमन्त्रीलाई मन्त्रालयमा परिचयात्मक ब्रिफिङ गर्दै सचिव शिशिरकुमार ढुंगानाले आर्थिक स्रोतका दक्षतापूर्ण परिचालन गर्न सकेमात्र लक्ष्य गरिएको आर्थिक वृद्धि मेटाउन सकिने बताए । व्यापार घाटा कम गर्नुपर्ने विचार राखेका गर्भनर अधिकारीपछि बोल्दै सचिव ढुंगानाले कोरोनाका कारण थलिएको अर्थतन्त्र र खुम्चिएको राजश्व संकलनका बीच आर्थिक वृद्धिदरको लक्ष्य भेटाउन श्रोतको दक्षतापूर्वक प्रयोग र संकलन भएको राजश्व आर्थिक वृद्धिका क्षेत्रमा, विकास पूर्वाधारको क्षेत्रमा प्रयोग गर्नुपर्ने आवश्यकता रहेको बताए ।

यस्तै अर्थमन्त्री जनार्दन शर्मालाई बिफ्रिङ गर्दै सचिव ढुंगानाले खोप खरिद र वितरण तथा कोभिड प्रभावितहरूका लागि राहत र पुनःस्थापना साथै समग्र अर्थतन्त्रको पुनरुत्थानमा मन्त्रालयले प्राथमिकताको साथ काम गर्नुपर्ने बताए । यसका साथै अहिले सरकारले नीजि क्षेत्रको मनोबललाई उच्च राख्नेगरी काम गर्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप