मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

५० प्रतिशतभन्दा बढी जनसंख्यालाई खोप लगाउँदा पनि कसरी बढ्यो संक्रमण ?

बुधबार, ३० असार २०७८, १४ : ०४
बुधबार, ३० असार २०७८

विश्वका विभिन्न मुलुकमा कोरोनाभाइरसको संक्रमण पुनः बढ्न थालेको छ । देशको आधाभन्दा बढी जनसंख्यालाई कोरोनाविरुद्धको खोपको पूरा मात्रा दिइसकेको मुलुकमा समेत पछिल्लो समय संक्रमण दर बढ्न थालेको छ ।

केही देशले लकडाउन अन्त्य गर्न तयारी गरिरहेको अवस्थामा संक्रमण दर बढ्न थालेसँगै पुनः कडा प्रतिबन्ध लगाउन थालेका छन् । फाइजर, मोडर्ना जस्ता खोप कम्पनीले दुई डोजपछि अब ‘बुस्टर’ डोजको तयारी गरिरहेका छन् ।

कहाँ कहाँ बढ्दैछ संक्रमण ?

इङ्ग्ल्याण्ड : इङ्ग्ल्याण्डमा ५१ प्रतिशतभन्दा बढी जनसंख्यालाई कोरोनाविरुद्धको खोपको दुवै डोज दिइसकिएको छ । यस्तै ६८ प्रतिशत जनसंख्याले कम्तीमा पनि एक डोज खोप लगाइसकेको छ ।

खोपमा उल्लेख्य प्रगति भएको भन्दै सरकारले १९ जुलाईदेखि लकडाउन खुकुलो तुल्याउने तयारी गरेको थियो । तर संक्रमण दर बढ्दो छ ।

गत साता प्रति १० लाख जनसंख्यामा ४१० नयाँ संक्रमित पाइएकोमा शुक्रबार देशभर ३५ हजारभन्दा बढी संक्रमित पाइएका छन् । यो तथ्यांक विगत पाँच महिना यताकै उच्च हो । पछिल्ला पाँच दिनमा दैनिक ३० हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् ।

‘द एकेडेमी अफ मेडिकल रोयल कलेज’ले लकडाउन खुकुलो तुल्याएको अवस्थामा अवस्था बिग्रनसक्ने चेतावनी दिएको छ ।

इजरायल : कोरोनाविरुद्धको खोपलाई तीव्रता दिने सवालमा इजरायल पनि अग्रपंक्तिमा आउँछ । त्यहाँ देशको ६० प्रतिशत जनसंख्यालाई कोरोनाविरुद्धको खोपको दुवै डोज उपलब्ध गराइएको छ भने ६६ प्रतिशत जनसंख्याले कम्तीमा पनि एक डोज खोप लगाइसकेका छन् ।

पछिल्लो तीन दिनमा इजरायलमा एक हजार नयाँ संक्रमित फेला परेका छन् । त्यहाँ सक्रिय संक्रमितको संख्या ४ हजार नाघेको छ ।

संक्रमण दर बढ्न थालेपछि इजरायलले आफ्नो रणनीति परिवर्तन गर्दै संक्रमण दर बढी रहेका मुलुकबाट आउने नागरिकलाई क्वारेन्टिनमा राख्ने निर्णय गरेको छ । यहाँसम्म कि, दुवै डोज खोप लगाएका आएकाहरुलाई पनि क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ ।

इजरायलका विभिन्न ५ स्थानलाई संक्रमण दरका आधारमा ‘रेड जोन’ घोषणा गरिएको छ ।

स्पेन : स्पेनमा करिब ४५ प्रतिशत जनसंख्यालाई कोरोनाविरुद्धको खोपको दुवै डोज उपलब्ध गराइएको छ । त्यसका बाबजुद गत साता संक्रमण दर दुई गुणा बढ्यो । २० देखि २९ वर्ष उमेर समूहका युवा, जो खोप लगाउन बाँकी छन्, उनीहरु बढीमात्रामा संक्रमित पाइएका छन् । प्रत्येक १ लाख युवामा ९११ जनामा संक्रमण पाइएको अधिकारीहरुको भनाइ छ ।

यस अतिरिक्त युरोपका विभिन्न मुलुकमा पनि संक्रमण दर बढ्न थालेको छ । इटलीमा शुक्रबार र शनिबार ३७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विगत एक सातामा प्रत्येक एक लाखजनाको परीक्षणमा पोजेटिभ मामिला ९ बाट बढेर ११ पुगेको बताइन्छ ।

अमेरिका : अमेरिकाको करिब ४९ प्रतिशत जनसंख्या पूर्ण रुपमा खोप लगाइसकेको छ । त्यहाँ ७७ प्रतिशत जनसंख्याले कम्तीमा एक डोज खोप लगाइसकेको छ । यसका बाबजुद आधाजस्तो राज्यमा संक्रमण दर बढ्न थालेको छ ।

गत साता प्रत्येक दिन औसत १९ हजार नयाँ संक्रमित फेला परेको बताइन्छ । क्यालिफोर्निया, टेक्सास, न्यूयोर्क र फ्लोरिडामा सबैभन्दा बढी संक्रमित पाइएका छन् ।

नयाँ संक्रमितको मामिलामा ८० प्रतिशत कारकका रुपमा डेल्टा भेरियन्ट नै रहेको अधिकारीहरुको भनाइ छ ।

किन बढ्दैछ संक्रमण ?

नयाँ भेरियन्ट : कोरोनाको डेल्टासमेत विभिन्न भेरियन्टका कारण खोपको प्रभावकारितामा समेत कमी आएको विज्ञहरु बताउँछन् ।

डेल्टा भेरियन्ट एक सयभन्दा बढी मुलुकमा फैलिएको छ भने ल्याम्बडा भेरियन्ट ३१ देशमा फैलिएको छ ।

लकडाउन खुकुलो : ५० प्रतिशतभन्दा बढी जनसंख्यालाई खोप लगाइसकेका मुलुकमा सरकारले लकडाउन खुकुलो तुल्याउन थालेको छ । परिणामस्वरुप जनता लापरवाहीपूर्ण तरिकाले बाहिर निस्कन थालेको र संक्रमण फैलिन थालेको बताइन्छ ।

इजरायलमा निर्वाचनपछि संक्रमण बढ्न थालेको छ भने युरोपका केही देशमा रात्रि क्लव खुल्न थालेका छन् । युरोपमा संक्रमण दर बढ्नुमा युरो कप पनि एउटा कारण रहेको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप