शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा किन हुन्छ डुबान ? दोष कसको ?

बुधबार, ३० असार २०७८, १३ : ५९
बुधबार, ३० असार २०७८

अघिल्लो साता काठमाडौँको भोटेबहाल जलमग्न भयो । बाटोमा पार्किङ गरिएका स्कुटरहरू डुबे, गाडी नै डुबानमा प¥यो । काठमाडौँ महानगरपालिका प्रहरी गएर हेरे, पानी निकासको मुख्य प्वाल नै टालिएको रहेछ ।

यता त्रिपुरेश्वर रंगशाला क्षेत्र पनि डुबानमा प¥यो । सो क्षेत्रमा ५ मिनेट मात्रै ठुलो पानी परे पनि डुबानमा पर्ने गरेको छ । सो क्षेत्रमा पानी निकासका लागि पाइपको साइज सानो रहेको काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख धनपति सापकोटाले बताए । तर, दुई वर्षअघि मात्रै त्रिपुरेश्वरदेखि टुकुचा खोलासम्म ठुलो ह्युम पाइप गाडिएको थियो । तर पानी छिरेर जाने मुख सानो राखिएका कारण एकैछिनको पानीले डुबानमा पार्ने गरेको छ ।

दिनभरि परेको पानीका कारण ढल निकास बन्द हुँदा नयाँ बानेश्वरमा केही घरहरूभित्रै पानी जम्यो ।

यस्तै सधैँ जलमग्न हुने गरेको काठमाडौँको तीनकुनेमा पनि त्यही समस्या छ । कोटेश्वर चोकदेखिको पानी बगेर तल समथर रहेको तीनकुनेको सडकमा जमेर सवारी साधन आवत जावत गर्नै मुस्किल पर्ने गर्छ ।

त्यो क्षेत्रमा अघिल्लो वर्षमात्रै बागमती नदीसम्म ठुलो ह्युम पाइप राखिएपनि सडकबाट पानी निकास हुने प्वाल सानो भएको तथा प्लास्टिकहरू खाँदिएको कारण जलमग्न हुने गरेको नगर प्रहरी प्रमुख सापकोटाको भनाई छ ।

काठमाडौँका यी क्षेत्र किन भए जलमग्न ?

वर्षातका बेला काठमाडौँका सहरी क्षेत्र समेत जलमग्न हुने गरेको छ । पानीको निकास थुनिँदा हुने जलमग्न ले घरको तल्लो भुँइतलामा बस्नेहरूको सामान तथा महत्त्वपूर्ण सामग्री भिज्ने समस्या हुने गरेको छ ।

घट्टेकुलो : घरबाट जाने पानीको निकास थुनियो

शनिवार काठमाडौँ महानगरपालिकाको नगरप्रहरीको टोलीले घट्टेकुलो पुगेर जमेको पानी फ्याँक्ने काम गर्यो ।

त्यहाँको समस्या धोवीखोलामा पानी बढी भएर बस्तीमा पसेको थिएँ । घर घरको पानी बाहिर निकास हुन नसकेको जलमग्न भएको थियो ।

ढलको मंगलमा जाम भएर पानीको निकास बन्द भएपछि जलमग्न बनेको काठमाडौँ महानगरपालिकाका नगरप्रमुख धनपति सापकोटाले रातोपाटीलाई बताए ।

उनले भने–‘कतै मंगल जाम भएर घरको कम्पाउन्डको पानी बाहिर पास हुन सक्ने अवस्था नभएका कारण जलमग्न भएको हो । रोडको वा ढलको पानी ओभर फ्लो भएर भित्र पसेको अवस्था भने होइन । निकास प्रणाली कमजोर वा टालिएको कारण त्यस्तो भएको हो ।’

स्थानीयले पानी निकासको अवस्था कस्तो छ जाँच नगर्दा डुबानको समस्या रहेको उनले बताए ।

उनले भने–‘बेला बेला यसो घोचो लगाएर हेरिएन, ढलमा बालुवा छि¥यो होला, प्लास्टिक छि¥यो होला, उहाँहरूको आफ्नो घरमा परेको पानी बाहिर जान नसकेको हो । मैतीदेवीमा म आफै गएर हेरेँ, त्यहाँ बाहिरबाट पानी गएर जलमग्न भएको थिएँ ।’

शनिवार धोवीखोलाको पानीको सतह तलै थियो । तर आसपासका घरहरू डुबानमा परेका थिए । खोलाको तह तलै भए पनि त्यहाँका घरहरूमा पानी जमेको थियो । कहिलेकाहीँ खोलामा आएको बाढीले खोलामा सोझाइएको पानी निकास मिसाउने पाइपलाई थुनिदिने गर्दा पनि बस्तीमा पानी जम्ने उनले बताए ।

बानेश्वरमा डुबान : सानो ढल कारक

नयाँ बानेश्वरको एभरेस्ट होटेलको पछाडिको भाग होचो छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पानी ट्याङ्की आसपास र मुख्य बाटोबाट आएको भेल एभरेस्ट होटेल पछाडि जाँदा सो क्षेत्र डुबानमा परेको थियो । सो क्षेत्रमा ठुलो ढल राख्नुपर्नेमा सानो क्षमताको ढल राखिएकोले पर्याप्त मात्रामा पानीको निकास हुन नसकेको सापकोटाले बताए । ढलको मुख बन्द भएर पानी निकास हुन नसकेपछि एभरेस्ट होटेल  पछाडिको होचो भाग जलमग्न भएको हो ।

सापकोटाले बानेश्वरको केही भागमा पानीको डुबान हुनुको कारण यस्तो खुलाए–‘बानेश्वर चोकको मुख्य सडकदेखि बगेर गएको पानी पनि त्यहीँ पुग्यो, एभरेस्ट होटेल पछाडि ओरालोबाट बगेको पानी पनि त्यहीँ पुग्यो । दुई तिन तिरको पानी एकै ठाउँमा केन्द्रित भएपछि त्यो क्षेत्र डुबानमा प¥यो ।’

काठमाडौँको भूभाग कतै अग्लो कतै होचो भएकाले अलि होचो क्षेत्रमा रहेका बस्ती डुबानको चपेटामा पर्ने उनले बताए ।

तीनकुने : ढल ठुलो तर निकासको मुख सानो

कोटेश्वर चोकदेखि मुख्य सडकमा बग्दै आएको पानी तीनकुनेको सडकमा जम्मा हुने गरेको छ । तीनकुनेको सडकबाट पानी निकासका लागि पास पनि नराखिएको भने होइन । नगरप्रमुख सापकोटाले भने–‘पोहोर पनि समस्या आयो भनेर त्यहाँबाट ठुलो ट्रंकलाइन बागमती नदी सम्म ल्याइएको छ । २ वर्षअघि सडक विभागले ढल हालेको थियो तर पानी निकासको क्षमता कम भयो । त्यहाँभित्र प्लास्टिक बालुवा पस्यो होला, त्यसैले क्लियर भएन । त्यसको उत्तरी क्षेत्रमा पनि पोहोर पानी जाम भएको थियो । मुख्य समस्या हुने ठाउँमा हामीले चिनो लगाएर राखेका छौँ । पानीले डुबेको बेला खोतल्नलाई थाहा होस भनेर त्यसो गरिएको हो ।’

एयरर्पोटको कार्गो छेउमा नयाँ भवन बन्न लागेको र त्यसले पनि पानी निकासका लागि अवरोध गरेको उनले बताए । निर्माण भइरहेको संरचनानिर पानी निकासको ठाउँ रहेको र गैरीगाउँ हुँदै त्यो निकास बागमतीमा जाने उनले बताए । सो भवन निर्माणका कारण मंगल जाम भएका कारण पनि तीनकुने क्षेत्रमा जाम हुने सापकोटाको भनाई छ ।

ढल हेर्ने उपभोक्ता समितिसहित ३ निकाय, दोष कसको ?

ठुला सडकहरूको ढल व्यवस्थापनको काम काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले गर्छ भने आवासीय क्षेत्रको ढल व्यवस्थापनको काम काठमाडौँ महानगरपालिकाले हेर्दै आएको छ ।

काठमाडौँ महानगरपालिकाले ढल व्यवस्थापनका लागि टोल टोलमा उपभोक्ता समिति बनाएको छ । सोही समितिमार्फत बजेट तथा आवश्यक सामग्री प्रदान गरेर ढल निकासको काम गर्दै आएको छ । महानगर प्रहरी प्रमुख सापकोटा भन्छन्– ‘ढल व्यवस्थापनका लागि उपभोक्ता समितिले जे भन्छ महानगरले पुयाईरहेको छ । ह्युम पाइप, मंगलको ढकन लगायतका सामग्री माग हुने बित्तिकै दिने गरेको छ । ढलको रोयल्टी उपभोक्ता समितिलाई ने उठाउने जिम्मा दिइएको छ ।’

महानगरपालिकाले उपभोक्ता समितिलाई मंगलको ढकन, ह्युम पाइप र पाइप जोड्ने कोलारका साथै कूल लागतको ४० प्रतिशत बजेट समेत उपलब्ध गराउँदै आएको सापकोटाले बताए ।

कसैले कुनै टोलमा नयाँ घर बनायो भने ढल निकास निर्माणको शुल्कसमेत उपभोक्ता समितिले लिने भएकाले ढल निकास चुस्त दुरुस्त राख्ने काम उनीहरूको भएको महानगरपालिकाको भनाइ छ ।

सापकोटा भन्छन्, ‘हामीले वर्षा अगाडि नै सबै मङ्गलहरू क्लियर गर्नुस्, जाम भएको हुन्छ, प्लास्टिक पर्छ अन्य कुराहरू पर्छन्, त्यसो ग¥यो भने वर्षामा समस्या आउँदैन । तर, आफ्नो घरअगाडिको निकासको अवस्था के छ त्यसमा ध्यान नदिने, लापरबाही गर्ने गरेका कारण समस्या आइरहेको छ ।’

उनले बस्तीमा रहेका ढल व्यवस्थापनको जिम्मा स्थानीयलाई नै उपभोक्ता समिति मार्फत जिम्मा दिएकाले त्यसमा महानगरपालिकालाई दोष दिन नमिल्ने बताए । महानगरपालिकाले ढल व्यवस्थापनका लागि चाहिएको सामग्री तत्काल दिने गरेको बताउँदै बर्सातले डुबान परेको क्षेत्रबाट पानी निकासका लागि भने सहयोग गर्दै आइरहेको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप