शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लिवाङ काण्डको इतिहास : राजतन्त्रको विरोध गर्दा धरपकड

बुधबार, ३० असार २०७८, १२ : ५७
बुधबार, ३० असार २०७८

रोल्पाको लिवाङमा ०४९ सालमा एउटा कार्यक्रमको सिलसिलामा नेकपा (मसाल) का नेता कार्यकर्ताहरूलाई पक्राउ गरी नेपाली काँग्रेस र प्रहरी प्रशासनको मिलेमतोमा राजद्रोहको मुद्दा लगाइएको थियो । त्यो घटनालाई यहाँ रोल्पाको लिवाङ काण्ड भनिएको हो ।

नेकपा (मसाल) को २०४९ असोजमा सम्पन्न प्लेनम (विस्तारित बैठक) ले मङ्सिर १२ गते काँग्रेसी राज्य आतङ्क, अधिनायकवाद, काला कानुन, जनविरोधी राष्ट्रघाती सन्धि– सम्झौताका विरुद्ध देशव्यापी विरोध कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रमको सिलसिलामा रोल्पाको लिवाङमा कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्न केन्द्रबाट चित्रबहादुर केसी, नारायण योगी, भेषबहादुर केसीसहित रोल्पा पुगेका थिए । जिल्लाका नेता कार्यकर्ताहरू पनि त्यस कार्यक्रमलाई सफल पार्न मङ्सिर ११ गतेदेखि नै लिवाङमा जम्मा भएका थिए ।

मसालका नेता तथा कार्यकर्ताहरू लिवाङमा जम्मा भई कार्यक्रम सफलताका लागि फरक फरक टोली बनाई आर्थिक सङ्कलन, वालपेन्टिङ र प्रचारप्रसारमा लागेका थिए । उनीहरूलाई प्रहरीले पक्राउ गरेर कुट्दै जिल्ला प्रहरी कार्यालयको हिरासतमा पु¥याएका थिए । दण्डपाणी आचार्यको जाहेरी र प्रहरी प्रशासनको सक्रियतामा उनीहरूलाई गिरफ्तार गरी हिरासतमा राखी यातना दिइएको थियो र राज्य विरुद्ध अपराधको मुद्दा चलाइएको थियो ।

२०४९ मङ्सिर १२ गते जिल्ला प्रहरी कार्यालयले लिएको बयान :

भेषबहादुर केसी : मिति २०४९।८।११ गते गणेश प्रकाश, टङ्कबहादुर पुनः र म समेत भई बजारका घरका भित्ता, बालमन्दिरको पर्खालमा वालपेन्टिङ गरेका हौँ । राजकुमारसमेत ३ जना चन्दा सङ्कलन गर्न जानुभएको हो । नेकपा मसालले श्री ५ र राजपरिवारप्रति आस्था राख्ने गरेका छैनौँ ।

राजकुमार कक्षपति : मिति २०४९।८।१२ गतेका दिन दिउँसो लिवाङ बजारको चौरमा जनतन्त्र र जनजीविकाको सवालमा सम्बोधन भाषण गर्ने योजना बनाएका थियौँ । म समेतका अन्य साथीहरू कसैको पनि वालपेन्टिङ गर्ने योजना थिएन । तर भेषबहादुर केसी, गणेश प्रकाश र टङ्कबहादुरले कसको निर्देशनमा वालपेन्टिङ गरे, मलाई थाहा छैन । नारायण योगी र म चन्दा सङ्कलन गर्न गएका हौँ । नेकपा मसाल वैधानिक हो होइन थाहा छैन । राजतन्त्रप्रति मेरो आस्था छैन ।

टङ्कबहादुर पुन : २०४९।८।११ गतेको दिन ११ बजेको समयमा नेकपा मसालको सम्पर्क कार्यालय राजकुमारको घरमा जम्मा भई कसैले वाल पेन्टिङ गर्ने, कसैले चन्दा सङ्कलन गर्ने सल्लाह हुँदा राजकुमार, नारायण योगी र जितेन्द्र चन्दा सङ्कलनतिर लागे । म समेतले कालो मसी बनाई राजतन्त्र मुर्दावाद, पेरु कम्युनिस्ट पार्टी जिन्दावाद भन्ने वालपेन्टिङ गरेको हौँ । राजतन्त्रप्रति मेरो आस्था छैन ।

गणेश प्रकाश बुढा : मिति २०४९।८।१२ गतेका दिन यस रोल्पा लिवाङमा आमसभा गर्ने कार्यक्रम थियो । पोलिटब्युरो सदस्य का. चित्रबहादुर केसीसमेत अन्य वक्ताबाट जनतन्त्र र जनजीविकाको सवालमा सम्बोधन गर्ने कार्यक्रम भएकाले राजकुमार कक्षपतिको निर्देशनमा मसमेतको सक्रियतामा घरका भित्ताहरू र बालमन्दिर पर्खालमा राजतन्त्र मुर्दावाद भन्ने मैले नै लेखेको हुँ । नेकपा मसालले संविधान र श्री ५ महाराजधिराज तथा राजपरिवारप्रति आस्था नराख्ने हुँदा म पनि राख्दिनँ ।

नारायण योगी : मिति २०४९।८।११ गते आई राजकुमार र मसमेतले ऐ. १२ गते हुने कार्यक्रम र आउने जाने अतिथि खर्चका लागि चन्दा सङ्कलन गर्न गएका थियौँ । वाल पेन्टिङ को–कसले गरे ? राजपरिवारप्रति व्यक्तिगत रूपले कुनै दुष्मनी छैन । अखिल नेपाल किसान सङ्घको पनि राजतन्त्र मूर्दावाद, कालो संविधान खारेज गर भन्ने नारा नरहेको जानकारी गराउँछु ।

जितेन्द्र सिंह : मिति २०४९।८।११ गते ११ बजेको समयमा लिवाङ आएको हुँ । राजकुमार कक्षपतिसँग भेट भएर कार्यक्रमका लागि चन्दा सङ्कलन गर्न जाऊँ भनेकाले गएको हुँ । वालपेन्टिङ को–कसले लेखे, मलाई थाहा छैन । जनवर्गीय सङ्गठनले संविधान र श्री ५ महाराजाधिराज तथा राजपरिवारप्रति आस्था राख्दैन ।

सर्जमिनका साक्षीहरूको कागज :

चित्रबहादुर गुरुङ : २०४९।८।११ गतेको दिनको २ बजेको समयमा भेषबहादुर र सोसमेतका मानिसले कालो मसीले घर, पर्खालका भित्तामा कालो संविधान खारेज गर, राजतन्त्र मूर्दावाद लेखेको मैले नै देखेको हुँ ।

सन्तबहादुर बुढाथोकी र लेखनाथ आचार्य : मिति २०४९।८।११ गतेको दिनको २, ३ बजेको समयमा नचिनेका तीन जना केटाहरूले घर, सार्वजनिक स्थल, पर्खाल आदिमा भारतीय विस्तारवाद मूर्दावाद, राजतन्त्र मूर्दावाद, कालो संविधान खारेज गर आदिइत्यादि कालो मसिले पेन्टिङ गर्दै हिँडेका थिए ।

ज्योतिप्रसाद रोका मगर : प्रतिवादीहरूले भित्तामा लेखिरहेको मैले देखेको हुँ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाको आरोप

जिल्ला प्रहरी कार्यालय रोल्पाले अभियुक्तहरूसित लिएको भनिएको बयान र जाहेरीवालाका साक्षी भनिएकाले दिएको लिखित कागजसमेत जिल्ला अदालत रोल्पामा पेस गर्दै मुद्दा दर्ता गरेको थियो । मुद्दामा यस्तो माग दाबी गरिएको थियो– “बुझिएसम्मका सङ्कलित कागज र अन्य अनुसन्धान समेतबाट संविधान विपरीतका नारा लेखी राज्यविरुद्धको अपराध गरेको सिद्ध हुन आयो ।

यसमा प्रतिवादी मध्येका नारायण योगी वालपेन्टिङ गर्नेमा कही सहमति नदेखिएकाले निजलाई कुनै माग दाबी नगरीकन हाजिरीमा आउनुपर्ने गरी छाडिदिनु र बाँकी राजकुमार कक्षपति, भेषबहादुर केसी, टङ्कबहादुर पुन, गणेशप्रकाश बुढा र जितेन्द्र सिंहसमेत ५ जनाले संवैधानिक राजतन्त्रप्रति घृणा, द्वेष र अपहेलना गरेको देखिँदा राज्य विरुद्धको अपराध र सजाय ऐन २०४६ दफा ४ को ४(१) अनुसार सजाय गरी पाऊँ ।”

जिल्ला अदालत रोल्पामा बयान

भेषबहादुर केसी : मिति २०४९।८।१२ गतेका दिन रोल्पा लिवाङमा अखिल नेपाल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आम सभालाई सम्बोधन गर्न आउने हुँदा म पनि अखिल नेपाल युवक सङ्घको केन्द्रीय समितिको तर्फबाट अतिथिको रूपमा आएको थिएँ । प्रचार प्रसारका लागि २०४९।८।११ गते माइक बनाउँदै थिएँ । सोही बखत प्रहरी आई मलाई लगेका हुन् । मैले कुनै किसिमको वालपेन्टिङ गरेको छैन । राजा र संविधानप्रति मेरो कुनै दुस्मनी छैन ।

जितेन्द्र सिंह : मिति २०४९।८।१२ गते नेकपा मसालका पोलिटब्युरो सदस्य चित्रबहादुर केसीले रोल्पा लिवाङमा आम सभालाई सम्बोधन गर्ने हो रे भन्ने सुनी २०४९।८।११ गते १२ बजेको समयमा लिवाङ आई बसेको थिएँ । राजकुमार र नारायण योगीले एकछिन परसम्म जाऊँ भनेकाले हामी गइरहेको अवस्थामा प्रहरीले पक्रिएर लगेको हो । संविधान र राजाप्रति मेरो कुनै इवी छैन ।

टङ्कबहादुर पुन : मिति २०४९।८।१२ गते नेकपा मसालको आमसभा छ भन्ने सुनी २०४९।८।११ गते आई बसेको थिएँ । नाम थाहा नभएको दोकानमा चित्रबहादुर केसी, भेषबहादुर केसी र म बसेका थियौँ । त्यसैबखत प्रहरीहरू आई डीएसपी साहबले बोलाउनुभएको छ भनी हामीलाई लगेको हो । मैले कहीँ कतै वालपेन्टिङ गरेको होइन ।

गणेश प्रकाश बुढा : मिति २०४९।८।११ गते नुन लिनका लागि लिवाङ आएको हुँ । त्यसै बखत मलाई प्रहरीले लगेको हो । म कुनै पार्टीतिर पनि लागेको छैन र वालपेन्टिङ पनि गरेको छैन ।

राजकुमार कक्षपति : म अखिल नेपाल राष्ट्रिय जनमोर्चाको कार्यकर्ता हुँ । मिति २०४९।८।१२ गते अखिल नेपाल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी रोल्पा लिवाङमा सम्बोधन गर्न आउने कार्यक्रम थियो । तापनि मैले त्यस सम्बन्धमा कुनै काम नगरी आफ्नो व्यक्तिगत काम गरी रहेको अवस्थामा प्रहरी आई मलाई लगेको हो ।

सरकारी वकिल उद्धवप्रसाद खनालको बहस :

प्रतिवादीहरू अधिकार प्राप्त अधिकारी (प्रहरी प्रशासन) समक्ष आफ्ना कसुरमा सावित भई बयान दिएको, ठाउँठाउँमा राजतन्त्र मूर्दावाद, कालो संविधान खारेज गर भन्ने शब्दहरू वाल पेन्टिङ गरेको देखेका हौँ भन्ने वादी पक्षका साक्षीहरूले ठाडो कागज गरिदिएको, सर्जमिनका मानिसहरूले संविधानविपरीत काम गरेकै हुन् भन्ने लेखिदिएको, राजतन्त्र भन्ने शब्द ऐनमा उल्लिखित भएको नदेखिएको भए पनि राजतन्त्र र श्री ५ को अन्योन्याश्रित सम्बन्ध राख्छ । राजतन्त्रात्मक मुलुकमा राजगद्दीमा आसिन श्री ५ नै राजतन्त्रको प्रमुख व्यक्तित्व भएकाले प्रतिवादीहरूले राज्य विरुद्ध अपराध गरेकै हुन् । त्यसैले प्रतिवादीहरूलाई अभियोग दाबीअनुसार सजाय गरी पाऊँ ।

प्रतिवादीतर्फबाट अधिवक्ता श्रीमान पोखरेलको बहस : तत्कालीन संविधानलाई चिरेर नयाँ संविधान २०४७ बनाए । राजालाई संविधानको घेराभित्र राखेर राजतन्त्रात्मक व्यवस्था नयाँ संविधानमा गरिएको छ । सङ्घ सङ्गठन खोल्न पाउने, विचारको अभिव्यक्तिको स्वतन्त्रता संविधानले प्रदान गरेको छ । मुलुकको सार्वभौमिकता, अखण्डता खलल गरेमा राजद्रोह हुने हो । राजा र राजतन्त्र अलग अलग कुरा हो ।

मेरा पक्षले राजा श्री ५ वीरेन्द्रप्रति घृणा र द्वेष फैलाएर लेखेको छैन । राजा भन्नाले श्री ५ महाराजाधिराज अर्थ लाग्ने भए संविधानको धारा ३१ मा श्री ५ बाट गरिबक्सेको कामको सम्बन्धमा प्रश्न उठाउन नपाइने व्यवस्था हुनु नपर्ने । त्यसैले राजतन्त्र र श्री ५ वीरेन्द्र अलग भएको र मेरा पक्षले राजा वीरेन्द्रको विरोध गरेको पेन्टिङ भएको छैन । धारा ५६ मा पनि श्री ५, श्री ५ वडामहारानी र श्री ५ का उत्तराधिकारको आचरण सम्बन्धमा छलफल गर्न नपाइने व्यवस्था गरिएको छ । तर राजतन्त्रको सम्बन्धमा होइन । राजतन्त्र संस्था हो भने राजा गद्दीनसीन व्यक्ति हुन् ।

राजतन्त्रका सम्बन्धमा संविधान र कानुन मौन छ । मौनता प्रतिबन्ध हैन भन्नाले गद्दीनसीन राजालाई सम्झिनुपर्ने व्यवस्था गरिएको छ । राजा र राजतन्त्र भन्नाले श्री ५ को घृणा, द्वेष नहुने हुनाले मेरा पक्षले सफाइ पाउनुपर्छ ।

जिल्ला अदालतको आदेश

“प्रतिवादीहरूले यस अदालतमा कसुरमा इन्कारी बयान दिए पनि अधिकार प्राप्त अधिकारी समक्ष साबित भई बयान गरेको र प्रहरीमा ठाडो कागज गर्ने एवं सर्जमिनका मानिसहरूले संविधान विपरीत काम गरेकै हुन् भनी लेखाइ दिएको देखिँदा पछि बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल जनही ? रु १००० दरले नगद धरौटी दिएमा तारेखमा राख्ने र दिन नसके नियमअनुसार सिधा खान पाउने गरी कारागारमा पठाइदिनु ।”

नारायण योगीलाई बिना धरौटी अदालतमा सोधपुछ गर्न सकिने गरी छाडिदिने र बाँकी ५ व्यक्तिलाई यात प्रतिव्यक्ति १ हजारका दरले धरौटी राखेर तारेखमा आउने र धरौटी राख्न नमानेमा सिधा खान पाउने गरी जेल पठाउनु भन्ने अदालतको फैसला थियो ।

पाँच जनाले रु पाँच हजार धरौटी राखेर तारेखमा आउने गरी रिहा भएका थिए । बहस लम्बिएर मुद्दा फैसला हुन ढिलो भएकाले १, २ दिन उनीहरूलाई हिरासतपछि जेलमा पनि बस्नुपरेको थियो । जिल्ला अदालत रोल्पाबाट २०५० जेठ ३२ गते मुद्दाको अन्तिम फैसला नगरी अभियुक्तहरूलाई तारेखमा राख्ने आदेश दिइएको थियो । असोज ३ गते पनि तारेखमा राख्ने आदेश दिइएको थियो ।

दीनानाथ शर्माको प्रेस वक्तव्य

२०४९ मङ्सिर १८ गते लिवाङको घटनालाई लिएर नेकपा मसालका प्रवक्ता दीनानाथ शर्माले प्रकाशित गरेको वक्तव्यमा यस्तो लेखिएको थियो–

“हाम्रो पार्टीका पीबीएमका चित्रबहादुर केसी आम सभाका लागि रोल्पाको लिवाङ जानुभएको थियो । मङ्सिर ११ गते उहाँलाई प्रतिक्रियावादी पुलिस तथा प्रशासनले गिरफ्तार गरी १३ घण्टा थुनामा राखेर छाडेको थियो । तर उहाँको साथमा जानुभएका भेषबहादुर केसी (के.स., अ.ने.यु. सङ्घ), नारायण योगी (के.स., अ.ने. कि. सङ्घ), तथा राजमो रोल्पाका अध्यक्ष राजकुमार कक्षपति समेतका व्यक्तिहरूलाई गिरफ्तार गरी निर्मम यातनासहित जेलमा राखेको छ ।

राजकाज जस्तो कालो कानुनअनुसार मुद्दा चलाउने षड्यन्त्र गरेको छ । १२ गतेका दिन आमसभामा उपस्थित जनसमुदायका बीचबाट क. चित्रबहादुर केसीलाई गिरफ्तार गरेर उपस्थित जनतामा आतङ्क मच्चाई तितरबितर गरी आमसभा बिथोलेको थियो र लिवाङमा निषेधाज्ञा लगाएको छ ।

शान्तिपूर्ण आमसभा, जुलुस वा विरोध प्रदर्शन गर्ने नागरिक अधिकारमाथि त्यहाँको पुलिस प्रशासनले गरेको हस्तक्षेपको हाम्रो पार्टी घोर विरोध र निन्दा एवं भत्र्सना गर्दछ । त्यसका साथै नेकाको यो अप्रजातान्त्रिक, निरङ्कुश, तानाशाही र जनविरोधी नीतिको घृणित परिणाम हो । हाम्रो पार्टी त्यसको भण्डाफोर र विरोध गर्दछ । थुनामा रहेका हाम्रा साथीहरूको अविलम्ब रिहाइको माग गर्दै कांग्रेसी सरकारको यस प्रकारको नागरिक अधिकारविरोधी नीतिको विरोधका लागि आवाज उठाउन सबै पक्षसँग अपिल गर्दछ ।”

चित्रबहादुर केसीको अपिल

रोल्पाबाट फर्किएपछि काठमाडौँमा नेकपा मसालका पोलिटब्युरो सदस्य चित्रबहादुर केसीले २०४९ मङ्सिर २७ गते गरेको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा रोल्पा घटनाबारे यस्तो लेखिएको थियो–

‘आज यो पत्रकार सम्मेलनमा मैले खास गरेर आज देशमा बढिरहेको नव अधिनायकवाद तथा बढ्दो काँग्रेसीकरण तथा राज्य आतङ्कका कारणले देशमा कायम भएको सीमित प्रजातन्त्रमाथि पुगिरहेको गम्भीर खतराप्रति तपाईंहरू सबैको ध्यान आकर्षित गर्न चाहन्छु ।

रोल्पामा भइरहेको पुलिस आतङ्कले देशमा गम्भीर रूप लिँदै गइरहेको नव अधिनायकवाद र राज्य आतङ्कको गम्भीर नमुनाको उदाहरण हो । सामान्य र शान्तिपूर्ण प्रकारले आयोजित सभामा त्यहाँको स्थानीय प्रशासनले रोक लगायो । मलाई २, २ पल्ट गिरफ्तार गरियो । रोल्पा पुगेपछि अन्य साथीहरूसहित गिरफ्तार गरेर मलाई मात्र छाडियो । दोस्रो पल्ट सभामा सम्बोधन गर्न लागेको बेलामा अन्य गिरफ्तार भएका साथीहरू अखिल नेपाल किसान सङ्घका सदस्य नारायण योगी, अखिल नेपाल युवक सङ्घका सदस्य भेषबहादुर केसी, राजकुमार कक्षपति टङ्क पुन, रवीन्द्र केसी लगायतका साथीहरूलाई घोर यातना दिइयो । राजकाज अपराधमा फसाइयो र १५ दिनपछि जनही एक हजार धरौटी लिई छोडिएको खबर छ ।

वास्तवमा रोल्पामा घोर पुलिस आतङ्कको राज्य कायम छ । काँग्रेसलाई मत नदिने सामान्य मतदाताहरूलाई ठूलो सङ्ख्यामा गिरफ्तार गरिएको छ र उनीहरूलाई बर्बर यातना दिने काम भइरहेको छ । त्यहाँका संयुक्त जनमोर्चाका सांसद बर्मन बुढामगरलाई आफ्नो छोरा भेट्न सम्म दिइएको छैन ।

त्यहाँ गएको बेला मलाई कुनै कर्मचारी शिक्षक समेतलाई हेर्न भेट्नसम्म प्रशासनले रोक लगायो । शिक्षा शाखाका स्टोर किपर शङ्करलाई मलाई हेर्न गएको आरोपमा पुलिस प्रशासनले गिरफ्तार गरी खाली हात आफ्नो सरसामानसमेत लिन नदिई खाली खुट्टा ट्याक्टरमा राखी सुर्खेत पु¥यायो । संयुक्त जनमोर्चाका थुप्रै कार्यकर्ता, सामान्य मतदाताहरू त्यसरी गिरफ्तार गरिएका छन् । त्यहाँ सांसदहरूलाई समेत मानसिक प्रताडना दिने काम भइरहेको छ र सांसद बर्मन बुढामगरलाई आफ्नै छोरासमेत भेट्न नदिएको, यसबाट त्यहाँको स्थित कति गम्भीर रहेछ ? त्यो प्रष्ट हुन्छ ।

आज अन्तर्राष्ट्रिय स्तरमा मानव अधिकार, कानुनी राज्य, प्रजातन्त्र आदिको हल्ला मच्चाउने काँग्रेसी सरकारद्वारा मानव अधिकारमाथि व्यापकरूपले भइरहेको हमलाको अध्ययन गर्न रोल्पामा गएर स्थलगत अध्ययन गरेर जनसमक्ष सत्यलाई प्रष्ट पार्न देशका सबै सम्मानित पत्रकारहरूलाई म अपिल गर्दछु ।’

रामबहादुर बुढा नेकपा मसालका कार्यकर्ता हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामबहादुर बुढा
रामबहादुर बुढा
लेखकबाट थप