मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

के हो जोन्सन एन्ड जोन्सन खोपमा देखिएको पछिल्लो समस्या ?

खोपबारे जान्नुहोस् यी तथ्य
बुधबार, ३० असार २०७८, ११ : ५०
बुधबार, ३० असार २०७८

अमेरिकाको खाद्य तथा औषधि विभाग (एफडीए) ले जोन्सन एन्ड जोन्सन कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोपमा जिआन बार (Guillain-Barr) सिन्ड्रोमको नयाँ चेतावनी सार्वजनिक गरेको छ । जोन्सन एन्ड जोन्सन कम्पनीले निर्माण गरेको खोप लगाएका व्यक्तिमा गम्भीर तर दुर्लभ ‘जिआन बार’ नामक साइड इफेक्ट देखिएको एफडीएको भनाइ छ । यसमा शरीरको प्रतिरोधात्मक क्षमताले मानिसको स्नायु प्रणालीमा हमला गरेर मानिसलाई ‘प्यारालाइसिस’ सम्म गराउने खतरा रहन्छ ।

अमेरिकामा १ करोड २८ लाख जनालाई यस कम्पनीको खोप लगाइसकिएको छ । जसमध्ये कम्तिमा १०० जनालाई यस्तो दुर्लभ साइड इफेक्ट देखिएको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले आफ्नो विज्ञप्तिमा जनाएको छ । यसमध्ये ९५ प्रतिशतमा गम्भीर समस्या देखिएको र अस्पताल भर्ना गर्नुपर्ने पाइएको थियो । यस्तो साइड इफेक्ट देखिएका मध्ये १ जनाको मृत्यु भएको बताइए पनि दुवै एजेन्सीले यसबारे थप विवरण सार्वजनिक गरेको छैन । वासिङ्टन पोष्टको रिपोर्टमा यस्तो साइड इफेक्ट खोप लगाएको दुई हप्तापछि देखिएको बताइएको छ, विशेष गरी ५० वर्षभन्दा माथिका पुरुषमा ।

अमेरिकामा फाइजर र मोर्डनाको ३२.१ करोडभन्दा बढी डोज खोप लगाइसकिएको छ । त्यसमा भने यस्तो साइड इफेक्ट देखिएको छैन । यी खोपभन्दा जोन्सन एन्ड जोन्सनको खोप फरक तरिकाले निर्माण गरिएको छ ।

‘जिआन बार’ साइड इफेक्टबारे आगामी बिहीबार सीडीसीको बैठकमा छलफल हुने बताइएको छ । जोन्सन एन्ड जोन्सनले निर्माण गरेको खोप लगाए पछि उक्त साइड इफेक्ट देखिने जोखिम रहेको प्रमाणहरुले देखाए पनि एफडीएले भने उक्त तथ्याङ्कले अहिले नै दुईबीचको सम्बन्ध पुष्टि हुन पर्याप्त नरहेको बताएको छ ।

सीडीसीकै तथ्यांकअनुसार अमेरिकामा हरेक हप्ता ६० देखि १२० जनामा यो सिन्ड्रोम देखिने गरेको छ । यसको मुख्य कारण पत्ता नलागे पनि मानिसमा इन्फ्लुएन्जाजस्ता भाइरस वा ब्याक्टेरियाको सङ्क्रमण भएपछि यो सिन्ड्रोम देखिने गरेको छ । हरेक वर्ष अमेरिकामा ३ हजार देखि ६ हजार जनामा यस्तो समस्या देखिने गरेको छ । विशेष गरेर ५० वर्षभन्दा माथिका उमेर भएकाहरू यसको जोखिममा रहेका छन् । जोन्सन एन्ड जोन्सनको खोपमा समस्या देखिएको यो पहिलो पटक भने होइन । यसअघि पनि खोपमा समस्या देखिएपछि केही समय खोप लगाउन नै रोकिएको थियो ।

जोन्सन एन्ड जोन्सनको खोप कस्तो हो ?

जोन्सन एन्ड जोन्सन अमेरिकाको खाद्य तथा औषधि विभाग (एफडिए) ले आपत्कालिन प्रयोगका लागि स्वीकृति दिएको तेस्रो कोभिड–१९ विरुद्धको खोप हो । यसअघि फाइजर र मोडर्ना खोपले आपतकालिन प्रयोगको अनुमति पाएका थिए ।

यस अनुमतिको अर्थ यो खोप सुरक्षित र प्रभावकारी छ भन्ने हो । तर, नयाँ खोप, औषधि वा प्रक्रियाका विषयमा जिज्ञासा उठ्नु स्वाभाविक हो ।

हेल्थलाईन डटकमका अनुसार जोन्सोन एन्ड जोन्सोन (जे एन्ड जे) खोपका विशेषता :

–जे एन्ड जे खोप एक डोजमात्रै लगाए पुग्छ । अन्य खोपजस्तो दुई डोज लगाउनुपर्दैन 

 यो खोपले एमआरएनए नभएर भाइरल भेक्टर टेक्नोलोजीको प्रयोग गर्छ ।

–यो खोप हल्का, मध्यम र गम्भीर कोभिड १९ को रोकथाममा प्रभावकारी देखिएको क्लिनिकल ट्रायलको नतिजाले देखाउँछ । कोभिड १९ का केही भेरियन्टका लागि यो प्रभावकारी रहेको संकेत पनि क्लिनिकल ट्रायलले गरेको थियो ।

–अन्य कोभिड १९ खोपजस्तै जे एन्ड जे खोपका पनि साइड इफेक्टहरु देखिन्छन् । जस्तै, सुई लगाएको ठाउँमा प्रतिक्रिया देखिने, टाउको दुखाई, थकान आदी ।

–खोप लगाइसकेपछि थोरै व्यक्तिहरूमा गम्भीर ब्लड क्लट अर्थात् रगत जम्ने समस्या देखिएको गुनासो पनि आएको थियो, यद्यपि यस्तो हुने खतरा निकै कम छ ।

किन जे एन्ड जे खोप रोकियो ?

१३ अप्रिल २०२१ मा जे एन्ड जे खोप लगाउने काम रोकिएको थियो । सीडिसी र एफडिएले यस्तो सिफारिस गरेका थिए । यतिबेलासम्म ६८ लाख बढी जनसङ्ख्यालाई यो खोप दिइसकिएको थियो । खोप लगाएपछि रगत जम्ने गरेको गुनासो आएपछि यसबारे छानबिन गर्न खोप लगाउने काम रोकिएको थियो । यस अवधिमा यस्तो समस्या कसरी पहिचान गर्ने र उपचार कसरी गर्ने भनेर स्वास्थकर्मीले जानकारी हासिल गर्ने  अवसर पनि पाए ।

यी क्लटहरु के हुन् ?

मस्तिष्क वा पेटका रक्त नलीहरुमा ब्लड क्लट अर्थात् रगत जम्नु ‘लो प्लाटिनेट काउन्ट’ सँग सम्बन्धित रहेको बताइएको थियो । यस अवस्थालाई चिकित्सकीय भाषामा ‘थ्रम्बुसाईटुपिनिया सिन्ड्रोम (टिटिएस) भनिन्छ ।

कसलाई यस्तो समस्या देखिन्छ ?

जतिबेला खोप लगाउने कार्य रोकिएको थियो । त्यतिबेला टीटीएसका ६ वटा घटना देखिएका थिए, जसमा एकजनाको मृत्यु समावेश थियो । यी सबै घटना १८ देखि ४८ वर्ष उमेर समूहका महिलामा देखिएको थियो । जे एन्ड जे कोभिड १९ खोप लगाएको १ वा दुई सातापछि टिटिएस देखिन थालेको स्रोतले जनाएको थियो ।

के खोप फेरि लगाउन थालियो ?

हो, २३ अप्रिल २०२१ मा यो खोप फेरि लगाउन थालियो । रगत जम्ने विषयमा रिपोर्टमा आएका गुनासाहरु सम्बन्धमा डाटा–रिभ्यु गरिएपछि सिडिसी र एफडिएले जे एन्ड जे खोपका सम्भावित खतराको दाँजोमा यसको प्रभावकारिता र फाइदा धेरै महत्त्वपूर्ण रहेको निष्कर्ष निकालेको थियो ।

के म चिन्तित हुनुपर्छ ?

टिटिएस निकै दुर्लभ साइड इफेक्ट हो । सिडिसीको विश्वस्त स्रोतको हवाला दिँदै हेल्थलाईन डटकमले  १८ देखि ४९ वर्षका उमेरका १० लाख महिलामध्ये केवल ७ जनामा यस्तो समस्या देखिएको जनाएको छ । पूरुष र ५० वर्षमाथिका महिलाका हकमा खतरा अझै कम छ ।

यदि तपाई ५० वर्षमुनीको महिला हुनुहुन्छ भने तपाई ब्लक क्लटको खतरा र त्यसका सम्भावित लक्षणबारे सचेत भने हुनुपर्छ । यदि, तपाईलाई जे एन्ड जे कोभिड १९ खोप लगाउनु छै भने अन्य त्यस्ता कोभिड १९ खोप पनि उपलब्ध छन्, जसको सम्बन्ध यो साइड इफेक्टसँग छैन ।

जे एन्ड जे खोप कति सुरक्षित छ ?

आपतकालिन प्रयोगको स्वीकृति दिनका लागि एफडिएले खोप सुरक्षित र प्रभावकारी रहेको पुष्टि गर्नैपर्छ । यस एजेन्सीले ४० हजारभन्दा धेरै सहभागीबाट प्राप्त क्लिनिकल डाटा तथा जोन्सन एन्ड जोन्सनले उपलब्धि गराएको उत्पादन सम्बन्धी सूचनाको रिभ्यु गरेको थियो । २७ फेब्रुअरी २०२१ मा एफडिएले यसलाई आपतकालिन प्रयोगको अनुमति दिएको थियो । त्यस्तै विश्व स्वास्थ्य सङ्गठन र युरोपेली मेडिकल एशोसियसन (ईएमए) को अध्ययनले पनि जे एन्ड जे कोभिड १९ खोप सुरक्षित र प्रभावकारी रहेको देखाएको थियो ।

सामान्य साइड इफेक्टहरु के–के छन् ?

जे एन्ड जे खोपको तेस्रो चरणको क्लिनिकल ट्रायलमा देखिएअनुसार मान्यता पाएका अन्य खोपमाजस्तै यसमा पनि सामान्य साइड इफेक्टहरु देखिएका छन् । ६० वर्षमुनीमा मानिसहरुमा यो साइड इफेक्ट स्वाभाविकजस्तै थियो । यसमा सुई लगाएको ठाउँमा हुने प्रतिक्रिया अर्थात् दुख्ने, छाला रातो हुने सुन्निनेलगायत छन् । त्यस्तै, टाउको दुखाई, थकान, दुखाई, वाकवाकी लाग्ने र ज्वरो छन् । खोप लगाएको एक वा दुईदिनभित्र यस्ता लक्षण देखिन्छन् र केही दिनमै हराउँछन् । यो तपाईको शरीरले प्रतिरोध प्रणाली निर्माण गर्दैछ भन्ने सङ्केत हो र स्वाभाविक हो ।

दुर्लभ साइड इफेक्ट के छन् ?

तेस्रो चरणको परीक्षणमा केही दुर्लभ साइड इफेक्ट पनि देखिएको थियो । खोप लगाएका २१ ह्जार ८ सय ९५ जनामध्ये ७ जनामा यस्ता दुर्लभ लक्षण देखिएको थियो, जसको सम्बन्ध खोपसँग रहेको बताइएको छ । परीक्षणमा सहभागी शून्य दशमलव शून्य तीन प्रतिशतमा देखिएका लक्षण यसप्रकार छन् :

गम्भीर एलर्जी

खोप लगाइसकेपछिको सिन्ड्रोम : टाउको दुख्ने, ज्वरो आउने र कमजोरी

बेल्स पल्सी : अस्थायी कमजोरी वा अनुहारको मसल्स प्यारालाईसिस हुने

गियान बार सिन्ड्रोम

पेरिकार्डिटिस

ब्रेकियल र्याकिकुलिटी

जे एन्ड जे खोपले कसरी काम गर्छ ?

जे एन्ड जे कोभिड १९ खोप भाइरल भेक्टर खोप हो । यसको अर्थ यसले खोपको तत्वहरु पु¥याउनका लागि भाइरसको प्रयोग गर्छ । यसलाई थप विस्तृतमा यसरी बुझौँ :

भेक्टरको सिर्जना

जे एन्ड जे कोभिड १९ खोपका लागि एडेनो भाइरस भेक्टरको प्रयोग गरिएको छ । एडोनोभाइरसले मानिसमा स्वासप्रश्वास सम्बन्धी संक्रमण पैदा गर्छ ।

यद्यपी, खोपमा एडेनोभाइरसलाई सुधारेर प्रयोग गरिएका हुन्छ, जसकारण सेल्सभित्र यो पुनःउत्पादन हुनसक्दैन । यसको अर्थ यसले बिरामी बनाउँदैन । यसले तपाईको सेल्समा खोपको तत्त्वलाई पु¥याउन सहयोग गर्छ ।

खोप बनाउनका लागि नोबेल कोरोना भाइरस स्पाइक प्रोटिनको जिनलाई एडेनो भाइरसको अनुवांशिक सामाग्रीमा मिसाइन्छ ।

ठ्याक्कै कसरी काम गर्छ 

जब जे एन्ड जे खोप दिइन्छ, तब सुधारिएको एडेनोभाइरस तपाईको शरीरको कोषिकामा छिर्छ र त्यसको जेनेटिक मेटेरियल रिलिज गर्छ । भाइरल भेक्टरले स्पाइक प्रोटिन उत्पादनका लागि दिएको जुन निर्देशन जेनेटिक मेटेरियलमा हुन्छ, त्यो दिर्नेशनलाई तपाईको कोषिकाले प्रयोग गर्छ, त्यसपछि यसलाई कोषिकाको सतहमा प्रवाह गराउँछ ।

तपाईको प्रतिरोध प्रणालीले कोषिका सतहमा स्पाईक प्रोटिन देख्नसक्छ र यसलाई विदेशीका रूपमा पहिचान गर्छ । यसले इम्युन प्रतिक्रिया उत्पन्न गर्छ । यस दौरान एन्डिबडी र इम्युन कोशिकाले स्पाईक प्रोटिन बनेको छ भनेर पहिचान गर्छ । यदि, तपाई नोबेले कोरोना भाइरसको सम्पर्कमा आउनुभयो भने तपाईको इम्युन प्रणाली यसको पहिचान गर्न र यसविरुद्ध रक्षा गर्ने उच्च अवस्थामा हुन्छ । यसो हुँदा तपाईमा कोभिढ १९ विकास हुँदैन ।

किन एकै डोजको ?

जे एन्ड जे खोप एकै डोज लगाए पुग्छ भन्ने तपाईलाई थाहै होला । किन यस्तो भयो त ?

सुरुवाती परीक्षणका दौरान एक डोज र दुई डोज लगाउनुपर्ने दुवै खोपबारे अनुसन्धान गरिएको थियो । खोप लगाएका ९० प्रतिशत सहभागीहरूमा पहिलो डोज लगाएको २९ दिनपछि स्वत न्युट्रालाईजिङ एन्टिबडिज रिबुस्ट भएको पाइयो । एन्डिबडिजको यस्तो स्तर पहिलो डोज लगाएको ७१ दिनपछि स्थिर रहेको अनुसन्धानकर्ताहरुले पत्ता लगाए । प्रतिक्रियाको लामो अवधि र स्थिरताका कारण नै अनुसन्धानकर्ताहरु एकै डोजको खोप निर्माणमा अग्रसर भए । दुई डोजको जे एन्ड जे खोपको परीक्षण पनि चलिरहेको छ ।

अन्य खोपको दाँजामा के फरक छ ?

फाइजर बायोएनटेक र मोर्डना खोपहरुभन्दा जे एन्ड जे खोप कसरी फक छ । आउनुस् यी तीन बुँदाबारे चर्चा गरौं ।

आवश्यक डोज : फाइजर र मोर्डना खोप तीन वा चार साताको अन्तरमा दुई डोज लगाउनुपर्छ । जे एन्ड जे एकै डोज लगाए पुग्छ ।

प्रविधि : जे एन्ड जे खोपले भाइरल भेक्टर प्रविधि प्रयोग गरेको छ । फाइजर र मोर्डनाले एमआरएनए प्रविधि प्रयोग गरेका छन् ।

भण्डारण : जे एन्ड जे खोपलाई रेफ्रिजेरेटरको सामान्य तापक्रम अर्थात् २ डिग्रीदेखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । फाइजर र मोर्डनालाई अति चिसोमा भण्डारण गर्नुपर्छ । 

प्रभावकारीताको फरकबारे हामीले किन चर्चा गरेनौं भन्ने पनि तपाईलाई लाग्छ । यस्तो किनकी :

 – महामारीको फरक समयमा फरक खोपहरुको परीक्षण गरिएको थियो ।

– खोपहरुको परीक्षण फरक भौगोलिक स्थानमा गरिएको थियो ।

– फरक अध्ययन प्रोटोकल प्रयोग गरेर परीक्षण पूरा गरिएको थियो ।

एफडिएको विश्वस्त स्रोत भन्छ : हेड टु हेड क्लिनिकल परीक्षण गरेपछि मात्रै यी खोपहरुबीच प्रत्यक्ष तुलना गर्न संभव हुन्छ । सबै तीनवटै कोभिड खोपहरू कोरोना नियन्त्रणमा प्रभावकारी रहेका छन् ।

जे एन्ड जे कति प्रभावकारी छ ?

विश्वभरका धेरै स्थानका मानिसहरुमा जे एन्ड जे खोपको तेस्रो चरणको क्लिनिकल परीक्षण गरिएको थियो ।  जसअनुसार हल्का, मध्यम र गम्भिर संक्रमणलाई रोक्नसक्ने क्षमता यसमा देखियो । खोप लगाएको १४ दिनपछि यसको प्रभावकारिता यस्तो देखियो :

समग्रमा : ६६ दशमलव ३ प्रतिशत

अमेरिकामा : ७४ दशमलव ४ प्रतिशत

ब्राजिलमा : ६६ दशमलव २ प्रतिशत

दक्षिण अफ्रिकामा : ५२ प्रतिशत

संक्रमण भइहाले पनि गम्भिर हुनबाट जोगाउन समेत यसले काम गरेको देखियो । गम्भिर लक्षण हुनबाट रोक्न यसको प्रभावकारिता :

समग्रमा : ७६ दशमलव ३ प्रतिशत

अमेरिकामा : ७८ प्रतिशत

ब्राजिलमा : ८१ दशमलव ९ प्रतिशत

दक्षिण अफ्रिकामा : ७३ दशमलव १ प्रतिशत ।

यी तथ्यहरु यसकारण पनि महत्त्वपूर्ण छन् किनकी यसल फरक  भेरियन्टहरुविरुद्ध खोपको प्रभावकारीताबारे जानकारी दिन्छ । जस्तो, दक्षिण अफ्रिकामा बी.१३५१ भेरियन्ट पहिलोपटक देखिएको थियो भने ब्राजिलमा पी.२ भेरियन्ट पहिलोपटक देखिएको थियो ।

ब्राजिल र दक्षिण अफ्रिकामा परीक्षणका क्रममा पहिचान भएका धेरैजसो भाइरसहरु भेरियन्ट (कोरोनाकै नयाँ स्वरुप) रहेको अनुसन्धानकर्ताहरुले जनाएका थिए । परीक्षणको नतिजाले जे एन्ड जे कोभिड खोप ती भेरिएन्टहरुमा पनि प्रभावकारी रहेको संकेत गर्यो‍ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप