मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

गच्छदारलाई भित्र्याउँदा कांग्रेसलाई हात लाग्यो शून्य

मङ्गलबार, ०७ कात्तिक २०७४, २० : ५३
मङ्गलबार, ०७ कात्तिक २०७४

एसके यादव

सिरहा– मधेशमा आफ्नो संगठन अझै बलियो बनाउन र मधेशी मत तान्नका लागि नेपाली काँग्रेसले विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमसँग एकता गरे पनि हात लाग्यो शून्य भएको छ । 

गच्छदारले आफ्नो पार्टी नेपाली काँग्रेससँग मिलाएसँगै मधेसमा उनको साथ छाड्ने लहर नै चलेको छ । जिल्ला समितिका नेता तथा कार्यकर्ताहरु धमाधम अन्य पार्टीमा प्रवेश गरिरहेका छ । धमाधम गच्छदारको साथ छाडेपछि गच्छदार आफ्नो साख जोगाउन नेता कार्यकर्ता संरक्षणका लागि जिल्ला दौडाहामा छन् ।

जिल्ला जिल्लामा गएर आफ्ना पार्टीका नेताहरुलाई रोक्ने प्रयास गरिरहेका छन् । उनले मधेशको मुक्ति अब काँग्रेसबाट नै सम्भव भएका हुनाले काँग्रेसमा आवद्ध हुन आग्रह गरिरहेका छन् । सोमवार सुनसरीमा आयोजना गरेको कार्यकर्ता भेला तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले अन्य मधेशवादी दलहरुका नेताहरु पनि आफ्नो पार्टीमा फर्किन लागेको दावी गर्दै आफ्ना पार्टीका नेताहरुलाई फकाउने प्रयास गरे । 

गच्छदारकाे दाबी– महन्थ र शरतसिंह काँग्रेसमा, महेन्द्र राय र उपेन्द्र एमालेमा जान्छन्

गच्छदारले महन्थ ठाकुर, शरतसिंह भण्डारी काँग्रेसमा, महेन्द्र राय यादव, उपेन्द्र यादव एमालेमा र अन्य नेताहरु अरु ठूला दलहरुमा जान लागेको समेत दाबी गरे । उनले भनेका थिए,– ‘हेर्दै जानुहोला अहिलेका मधेशवादी दल बनाउँदाहरु कोही बाँकी रहदैन, सबै ठूला दलमा मिसिनेछन् ।’

तर उनको यो दावीलाई स्वीकार गर्ने पक्षमा जिल्लाका नेताहरु तयार देखिएका छैनन् । उनीहरुले गच्छदारबाट मधेशलाई धोका भएको आरोप लगाइरहेका छन् । पार्टीले संघर्ष गरेर मधेशलाई यो अवस्थामा ल्याइदिया, जब समान्य समय भयो अनि पार्टी काँग्रेससँग मिसिनु मधेशका लागि धोका भएको उनीहरुको दावी छ । 
लोकतान्त्रिक फोरमका दुई नम्बर प्रदेशका इन्चार्ज उमाशंकर अररीयाले मधेशका लागि आफूहरुले १० वर्षसम्म संघर्ष गरेको तर आज त्यसलाई कार्यान्वयन गर्ने समयमा काँग्रेसमा मिसिनु उचित नलागेर आफूले पार्टी छाडेको बताए । 

नेता कार्यकर्ता धमाधम अन्यत्र पार्टीमा 

गच्छदारको पार्टी एकता घोषणापछि नेता कार्यकर्ताले धमाधाम कित्ता बदल्दै अन्य पार्टीमा प्रवेश गरिरहेका छन् । 

धनुषा जिल्लाका अररिया उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरिसकेका छन् । उनले भने,– ‘गच्छदारजीसँग मलाई काम गर्न कुनै गाह्रो थिएन, मान सम्मान पनि त्यतिकै थियो त्यहाँ, म उहाँसँग काँग्रेसमा गएको भए राम्रै ठाउँ पाउँथे, उहाँले आफूसँग लग्न धरै प्रयास पनि गर्नुभयो । तर मधेशको मुद्दा र पहिचानका लागि म काँग्रेसमा गइन ।’

गच्छदारले मधेश आन्दोलनभन्दा पनि सत्तालाई बढी प्राथमिकता दिएको कारण पार्टीमा यसअघि नै असन्तुष्टी बढ्दै गएको थियो । सरकारमा सहभागिताकै विषयलाई लिएर मधेस आन्दोलनका बेला पार्टी झण्डै विभाजित भइसकेको थियो । पार्टीमा नेता नभएको अवस्थामा चुनावमा गाह्रो हुने अवस्था देखेर नै गच्छदारले पार्टीलाई काँग्रेसमा विलय गरेको राजनीतिज्ञहरु बताउँछन् । 
 

मेहतालाई गच्छदारको आश्वासन 

काँग्रेससँग पार्टीसँग एकीकरण भइरहेको थाहा पाएर सुनसरीका नारायण मेहताले काठमाडौं नै पुगेर गच्छदार समक्ष राजीनामा दिएका थिए । मेहता कुनैबेला काँग्रेसकै कार्यकर्ता थिए तर काँग्रेसले उनका परिवारसँग गरेको ब्यवहारले गर्दा उनी काँग्रेस पार्टीको नाम पनि सुन्न चाहँदैनथिए । गच्छदारले काँग्रेससँग पार्टी एकीकरण गर्दैछ भनि थाहा पाएपछि राजिनामा दिएर फर्केका मेहता सोमवार मात्र काँग्रेसमा प्रवेश गरे । 

२०४६ साल मा भएको जनआन्दोलनमा उनका बुवा घाइते भएका थिए । घाइते भएपछि काँग्रेसले कुनै वास्ता नगरेको भन्दै उनले पार्टी छाडेका थिए । काँग्रेसमा कहिल्यै नफर्किने भनि मधेश राजनीतिमा लागेका मेहतालाई बुवाको सम्मान गर्ने गच्छदारले प्रतिवद्धता जनाउँदै कांग्रेसमा फर्काएका हुन् । तर, त्यही ठाउँका मधेस आन्दोलनका शहीद श्यामसुन्दर मेहताका बाबु शिवनारायण गच्छदारसँग काँग्रेसमा जान रुचाएनन् । 

उनी भन्छन्,– ‘२०६३ सालमा काँग्रेसको नेतृत्वमा सरकार भएको बेला मधेश आन्दोलन भयो, सोही आन्दोलनमा मेरो छोराको हत्या भयो, अहिले म त्यही पार्टीमा कसरी जानसक्छु ?’ गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र कृष्णप्रसाद सिटौला गृहमन्त्री भएकाबेला छोराको हत्या भएको भन्दै उनी अहिलेसम्म पनि रुष्ट छन् । 
लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्यसमेत रहेका शिवनारायण काँग्रेस, एमाले र माओवादी केन्द्र कहिले पनि मधेशप्रति सकारात्मक नभएको भन्दै मधेशको मुक्ति ती दलबाट हुन्छ भनि कल्पना समेत गर्न नसकिने बताउँछन् । 

आफूलाई पार्टीको केन्द्रीय सदस्य तर काँग्रेससँग एकीकरण हुँदैछ भनि थाहा पनि नभएको र त्यसको कुनै छलफल पनि नभएको उनी बताउँछन् । सुनसरी आएर गच्छदारले आफूलाई कांग्रेसमा सम्मानजनक स्थान दिने भनी विभिन्न प्रलोभन दिएको पनि मेहताले गुनासो गरे । 
 

मुस्ताक आलमले एमाले रोजे

एमालेमा प्रवेश गरेका मुस्ताक आलमले भने पार्टीमा कुनै अप्ठ्यारो नभएको र राम्रै  तरिकाले पार्टी सञ्चालन भइरहेकाबेला तर एकाएक आफूसँग कुनै सल्लाह नगरिकन गच्छदारले पार्टी कांग्रेसमा एकीकरण गर्ने निर्णय लिएपछि आफूले एमाले रोजेको बताए । 

पार्टीमा भएको छलफलअनुसार काँग्रेससँग चुनावी तालमेल गर्ने मात्र सहमति भएको र पार्टीमा पनि त्यही अनुसार सर्कुलर गरिएको थियो तर त्यसलाई एकाएक एकीकरणमा परिवर्तन गरिएको आलमको आरोप छ । ‘एकीकरणको बारेमा पार्टीमा कुनै छलफल भएन, अध्यक्ष गच्छदार आफ्नो राजनीतिक सुरक्षाका लागि काँग्रेसमा जानु भएको हो, मैले पनि आफ्नो राजनीतिक सुरक्षाका लागि यो निर्णय लिएको हुँ ।’– आलमले भने । 

सिरहाका अर्का केन्द्रीय सदस्य कवुली पासवान पनि पार्टीले काँग्रेससँग एकीकरण गर्ने निर्णय अस्वीकार गरेका छन् । उनले भने,–‘म पार्टीको केन्द्रीय सदस्य हुँ, पार्टीले यति ठूलो निर्णय लियो तर त्यसको बारेमा जानकारी पनि भएन, यस अवस्थामा काँग्रेसमा जान सकिदैन ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप