शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जोन्सन एन्ड जोन्सन खोप लगाएका व्यक्तिमा देखियो यस्तो दूर्लभ सिन्ड्रोम

मङ्गलबार, २९ असार २०७८, २० : ५३
मङ्गलबार, २९ असार २०७८

अमेरिकाको खाद्य तथा औषधि विभाग (एफडिए) ले गियान बार सिन्ड्रोम (जीबीएस)को खतराबारे जोन्सन एन्ड जोन्स कोभिड खोपलाई नयाँ चेतावनी जारी गरेको छ । यस खोप लगाएका केही व्यक्तिहरुमा  यस्तो न्युरोलोजिकल डिसअर्डर देखिएको भन्दै एफडिएले सचेत गराएको हो ।

खोप लगाएका १ करोड करोड २५ लाखमध्ये झन्डै १ सय जनामा यस्तो सिन्ड्रोम देखिएको गुनासो आएको एफडिएले जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै एफिएडले भनेको छ, ‘कुल बिरामीमध्ये ९५ जना गम्भिर देखिए र अस्पताल भर्ना गर्नुप¥यो, एकजनाको मृत्यु भएको छ ।’ 

यद्यपी, खोप लगाएकै कारणले उनीहरुमा समस्या देखिएको पुष्टि गर्ने पर्याप्त प्रमाण भेटिएको छैन । ‘उपलब्ध प्रमाणले जोन्सन खोप र जीबीएसको बढ्दो खतराको संकेत गरेपनि यी दुईबीचको सम्बन्ध स्थापित गर्न भने यो अपर्याप्त छ,’ एफडिएले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा यसका संभावित खतराको दाँजोमा यसबाट प्राप्त भइरहेका लाभ महत्वपूर्ण रहेको पनि उल्लेख गरिएको छ ।  खोप लगाइसकेपछि कमजोरी हुने वा हात–खुट्टामा केही अनुभव नहुने, हिंड्न समस्या हुने, अनुहारको हाउभाउमा समस्या हुने, बोल्न, चपाउन वा निल्न समस्या हुने, कुनै वस्तु दुईवटा देखिनेलगायत समस्या देखिए तत्कालै चिकित्सकलाई देखाउन पनि एफडिएले सुझाव दिएको छ । यस्ता दुर्लभ लक्षणबारे जोन्सन एन्ड जोन्सनले एफडिए र अन्य नियामक संस्थासँग छलफल गर्ने जनाएको छ । ‘यस्तो हुने संभावना धेरै कम छ । र, थोरै घटनामात्र रिपोर्ट भएका छन्,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । त्यस्ता लक्षण देखिएमा पहिचान र उपचार गर्न कम्पनीले पनि सुझाएको छ । 

जोन्सन एन्ड जोन्स खोप लगाएपछि जीबीएस देखिएको विषयमा अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) र एफडिएले निगरानी गरिरहेको सिडिसीका प्रवक्ताले जनाएका छन् ।  सिडिसीका अनुसार जब मानिसको प्रतिरोधी प्रणालीले  नशालाई क्षति पुर्याउँछ, तब जीबीएस हुन्छ । यस्तो हुँदा मांशपेशी कमजोर हुन्छ र केही अवस्थामा प्यारालाईसिस पनि हुन्छ ।

जीबीएसका लक्षणहरु केही सातादेखि वषौंसम्म पनि रहनसक्छन् । धेरैजसो व्यक्तिहरु यस रोगबाट पूर्ण निको हुने भएपनि केही व्यक्तिहरुमा स्थायी रुपमा स्नायुमा क्षति पुग्छ । अमेरिकामा फ्लु सिजनमा पनि यस्ता घटनाहरु देखिने गरेका छन् । फ्लुको खोप लगाएका प्रत्येक १० लाखमध्ये १ वा दुई जनामा यस्ता घटनाहरु देखिने गरेको अध्ययनहरुले देखाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप