मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

अविरल वर्षाले चामे–झोलुङ्गे पुल उच्च जोखिममा

मङ्गलबार, २९ असार २०७८, १६ : ४७
मङ्गलबार, २९ असार २०७८

–नवीन लामिछाने
लगातारको अविरल वर्षाले मर्स्याङ्दी नदीमा रहेको पुल उच्च जोखिममा परेको छ । जिल्लाको माथिल्लो मनाङ जोड्ने एकमात्र चामे झोलुङ्गे पुल जोखिममा परेको छ । चामे गाउँपालिका–४ र ५ जोड्ने सो  पुल मर्स्याङ्दी नदीमा आएको बाढीले धार काट्दै लगेपछि जोखिममा परेको सो गाउँपालिकाका सूचना अधिकारी लक्ष्मण गौलीले जानकारी दिए ।

उनले भने, “जिल्लाको चामे ४ र ५ जोड्ने झोलुङ्गे पुल उच्च जोखिममा रहेको छ । गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षापछि मर्स्याङ्दी नदीमा बाढी आएको छ । नदीको वहाव अझै उस्तै छ, घटेको छैन । नदीमा आएको बाढीले धार काट्दै लगेको छ । यस कारणले पुलको एकतिरको भाग ढल्किएको छ । झोलुङ्गे पुलसम्म पानी आएको र ढल्किएपछि स्थानीयवासीको आवतजावत रोकिएको छ ।”

नदीमा आएको बाढीले यही असार ४ गते माथिल्लो मनाङ जोड्ने मोटरेवल पुलमासमेत असर पुर्याएको थियो । अहिले पुलबाट आवातजावत बन्द छ । स्थानीयवासी यसपछि चामे झोलुङ्गे पुलबाट आवतआवत गर्दै आएका छन् । अहिले यो पुलमासमेत बाढीले क्षति पुर्याएपछि माथिल्लो मनाङसँगको सम्बन्धविच्छेद हुने सम्भावना बढेको उनले बताए ।

उनले भने, ‘यो पुल नदीको बाढीले बगायो भने माथिल्लो मनाङसँगको सम्बन्धविच्छेद हुन्छ । ङिस्याङ गाउँपालिका–९ खाङसारस्थित विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताललगायतका पर्यटकीय क्षेत्रबाट सम्बन्ध टुट्नेहुन्छ ।’ 
त्यस्तै नदीको बाढीले जिल्लाका दर्जनौँ पुल बगाएका छन् । जिल्लामा अविरल वर्षासँगै आएको बाढीपहिरोले करोडौँको भौतिक क्षति पु¥याएपछि यतिवेला मनाङवासी पीडामा छन् । मस्र्याङ्दी नदीलगायत अन्य सहायक खोलामा आएको बाढीले जिल्लामा घर, सडक, चैत्य, गुम्बा, पुललगायतका संरचनामा क्षति पुगेको छ । जिल्लाको चार स्थानीय तह नै बाढी पहिरोबाट पूर्णरुपमा प्रभावित भएको छ । नासो, चामे र ङिस्याङ गाउँपालिका बाढीपहिरोबाट क्षतिग्रस्त भएको छ, भने नार्पाभूमि गाउँपालिका पहिरोबाट प्रभावित बनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप