विश्लेषण

देउवाको चुनौती, माधवको धोका र ओलीको पतन

person explore access_timeअसार २९, २०७८ chat_bubble_outline0



नेपाली काँग्रेसले ५ वर्ष प्रतिपक्षमा बस्ने जनादेश पाएको हो । तर, परिस्थितिले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइदियो । अब, देउवाको चुनौती ठुलो छ ।


तीन–चारवटा ब्लकलाई लिएर गठबन्धन बनाउनुभएको छ । प्रचण्ड नेतृत्वको माओवादीको एउटा ब्लक, उपेन्द्र यादवको अर्को मधेसवादी ब्लक, एमालेभित्रकै झलनाथ–माधव समूह र आफ्नै पार्टीभित्रका दुई–तीनवटा ब्लक । यी सबै ब्लक र यसबाट उत्पन्न भएको परिस्थितिअनुसार उहाँले आज प्रधानमन्त्रीको शपथ लिँदै हुनुहुन्छ ।



तर, उहाँले यी ब्लकहरूलाई व्यवस्थापन गरेर जानुपर्छ । यसलाई संयोजन गरेर नेतृत्व दिन सहज छैन । ०५२ सालतिर देउवाजी प्रधानमन्त्री हुँदा जस्तो हुनुहुन्थ्यो, त्यसको दाँजोमा अहिले उहाँ शारीरिकरुपमा थकित र सुस्त देख्छु ।



भोलिको दिनमा आउने पहिलो चुनौती विश्वासको मत लिने हो । संविधानको धारा ७६ (५) बमोजिम उहाँले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ र त्यसका लागि सबैभन्दा ठुलो चुनौती एमालेभित्रको झलनाथ–माधव समूहबाट छ । उसै पनि माधव समूहले यो गठबन्धनमा बस्दिनँ भनेर हिजो सङ्केत गरिसक्नुभएको छ ।



अब विश्वासको मत कसरी लिने ? विश्वासको मत नपाएपछि के गर्ने ? उहाँसामु विश्वासको मत लिन नसक्दा दुई वटा मात्रै बाटो रहन्छ : या राजीनामा दिएर बाटो खुला गर्ने या वा धारा ७६ (५) अनुसार संविधानअनुसार निर्वाचनमा जान सक्नुहुन्छ ।



उहाँको पार्टीले महाधिवेशन नपाएको साढे ५ वर्ष भयो । पार्टीभित्रको आन्तरिक समस्यालाई उहाँले कसरी व्यवस्थापन गर्नुहुन्छ ? यो प्रश्न पनि छ । यति बेला जनता कोरोनाबाट पीडित छन् । बेरोजगार छन् र भ्रष्टाचार मौलाएको छ । सेवाक्षेत्रहरु ध्वस्त भइसकेका छन्  । भूराजनीतिको कुरा गर्ने हो भने संसारका सबै हामीसँग रिसाएको अवस्था छ । दया–माया गरेर अलि–अलि कोरोनाको खोपसम्म आउने हो ।

विश्वासको मत पाए पनि देउवाका लागि सरकार सञ्चालन गर्न सहज हुँदैन । एमसीसी उहाँले के गर्नुहुन्छ ? एमसीसी पास गर्ने  सवालमा झलनाथ–माधव समूहका केही व्यक्ति र प्रचण्डको ठुलो विरोध छ ।

मसिनो गरी केलाउने हो भने यो गठबन्धनको रोडम्याप तय भइसकेको रहेनछ । यो गठबन्धन काँचो–कचिलो देखियो । किनभने संसद् पुनर्स्थापना हुन्छ भन्ने थाहा थियो, सरकार बनाउने अवसर आउँछ भन्ने थाहा थियो । वैकल्पिक सरकारका लागि १३६ सिट चाहिन्छ भन्ने पनि थाहा थियो । त्यो प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादव र जनमोर्चालाई पनि थाहा थियो । १३६ मत जुटाउने जिम्मा शेरबहादुरजीको मात्र त होइन नि । अब यति बेला गठबन्धनबाट कोही अलग हुन खोजिरहेको छ भने त्यो संविधानका लागि र देशका लागि पनि विडम्बना हुनेछ ।

माधव नेपालले दिएको धोका

झलनाथ–माधवले फेरि ओलीसँग ओत लाग्न जाँदाखेरि ओलीको निरङ्कुशताविरुद्ध लड्न यत्रो साथ दिने नागरिक समाज, अदालतमा बहस गर्ने वकिलहरू, ती डाक्टर, पेशाकर्मी युवाहरूले के भन्लान् भनेर सोच्नुपर्ने हुन्छ ।

यो सरकार बन्ने क्रममै म गठबन्धनमा छैन भन्ने माधवजीको सङ्केत ती सबैमाथिको घात हो ।  माधवजीको यस्तो इतिहास विगतमा पनि छ । उहाँले यसैगरी आफ्नो इतिहास कैयनपटक धुमिल पार्नुभएको छ र उहाँलाई ओलीले पेलेर सिध्याउन खोजेको पनि यही कारण हो ।

विगतमा पनि राजदरबार हत्याकाण्डको छानबिनमा तारानाथ रानाभाट चिफ जस्टिस भएको कमिटीमा बस्छु भन्नुभयो । माधव नेपालले त्यसमा बसेर घर जान नपाई छाड्नुभयो । राजा ज्ञानेन्द्रको तत्कालीन’ ‘कु’ पछि प्रतिगमन सच्चियो भन्दै हिँड्नुभयो । माधव नेपालजीले आफ्नो त्यही इतिहासको निरन्तरता गर्दै हुनुहुन्छ, जहाँ उहाँ बदनाम हुनुभएको थियो ।

माधवजीसँग ३५ वर्षदेखि सङ्गत गरेका उहाँकै साथीहरूले बेला–बेलामा खराब टिप्पणी गर्नुहुन्छ ः उहाँ नेता हुन सक्नुहुन्न, एउटा बैङ्कको म्यानेजरजस्तो व्यवस्थापकसम्म हुन सक्नुहुन्छ । राजनीतिक निर्णय लिन सक्ने क्षमता उहाँसँग छैन भनेर साथीहरूले गरेको त्यो टिप्पणी अहिले सही देखियो । संसद् पुनर्स्थापना भएकै दिन यो गठबन्धनमा छैन भन्ने नैतिक शक्ति उहाँमा कहाँबाट आयो ? त्योभन्दा अनैतिक कुरा म केही देख्दिनँ । हिजो एउटा संसद् पुनर्स्थापना भएको छ, उहाँ जेका लागि लड्नुभएको थियो, त्यसले सार्थकता पाएको छ । नयाँ सरकारको नेतृत्वमा शेरबहादुर देउवाजीलाई विश्वासको मत दिने काम बाँकी नै छ, अनि हिजै उहाँले गठबन्धनबाट अलग्गिएँ भनेपछि उहाँको पक्षमा बहस गर्ने वकिलहरूले के भने ? उहाँको पक्षमा हस्ताक्षर गर्ने ती २७ जनालाई कसरी कन्भिन्स गर्नुहुन्छ ?

शेरबहादुरजीको इच्छाविपरीत ‘तपाई कस्सिनुस् हामी सहयोग गर्छौं भनेर’ माधवजीले उहाँलाई अघि बढाएको हो । शेरबहादुरजीलाई मसँग शक्ति र सङ्ख्या छैन भन्ने थाहा थियो । म प्रधानमन्त्री हुन इच्छुक छैन भन्नुभएको थियो । माधवजीले तपाई संविधानको रक्षाका लागि दौडिनुपर्यो भन्नुभयो ।

प्रधानमन्त्री हुनका लागि जे पनि गर्नुपर्छ भनेर आरोप लागेको मानिस यस पटक माधव नेपालकै समर्थनपछि मन नलागी–नलागी प्रधानमन्त्रीका लागि इच्छुक हुनुभएको हो । आज काङ्ग्रेससँग माधवजीले यो व्यवहार गर्नुहुन्छ भने भोलिको राजनीतिमा नेपालमाथि कसैले विश्वास गर्दैन । ओलीले माधवजीमाथि लगाएका आरोप पुष्टि हुने अवस्था आउँछ ।

न्यूनतम रूपमा विश्वासको मत लिने बेलासम्म यो गठबन्धन एक ढिक्का रहनुपर्छ । निरङ्कुशताविरुद्ध लडिन्छ भने लड्नेहरूले एउटा रोडम्याप त बनाउँछन् नि । संसद् पुनर्स्थापना भयो, ठिक छ । ओलीको निरङ्कुशताको अन्त्य हुन्छ, त्यो पनि भयो । तर, ती सबै कुराहरू त्यतिबेला सार्थक हुन्छन्, जब देशले अर्को प्रधानमन्त्री पाउँछ ।

बरु माधव नेपालले सक्नुहुन्छ भने  हिजो हामीले शेरबहादुरजीलाई अघि सार्याैँ । आज सम्पूर्ण एमाले मसँग आयो । म नै प्रधानमन्त्री बन्छु, मलाई विश्वासको मत दिनुस् भन्न सक्नुहुन्छ । पार्टी मिलाएर म अब आफैँ नेतृत्व गर्छु भन्न सक्नुहुन्छ । तर, म यो गठबन्धनमै रहन्न भनेर अराजनीतिक भाषा प्रयोग गर्न हुँदैन । यसले उहाँमाथि राजनीतिक नेता होइन भन्ने आरोप लाग्छ । ओलीको विकल्पमा मुलुकले नयाँ नेतृत्व पाउनुपर्यो, देश ओलीमुक्त हुनुपर्यो भन्ने नै अहिलेको जनभावना र विपक्षी गठबन्धनको लक्ष्य हो ।

केपी ओलीले गुमाएको अवसर

ओलीको राजनीतिक भविष्य निकै माथि पुगेको थियो । त्यो सफलतालाई उहाँले ह्यान्डल गर्न सक्नुभएन । सफलता हासिल गरेपछि उहाँ यसरी पतन हुनुभयो कि अब उहाँको जीर्ण र रोगी शरीर फेरि माथि उठ्ला भन्ने मलाई लाग्दैन ।

अबको राजनीतिक भविष्यमा जनताले ओलीलाई कम्युनिस्ट आन्दोलनको खलनायक नै भनेर सम्झनेछन् । यत्रो कम्युनिस्ट एकता गरेको, दुई तिहाई मत पाएको, महाशक्ति राष्ट्र चीनसमेत सहयोग गर्न अग्रसर भएको, भारतले पनि सहयोग गरेको अवस्थामा उहाँ पतन हुनुभयो ।

कम्युनिस्ट पार्टी फुटाउनुभयो । नेपाली जनताको आशा र भरोसामा तुसारापात गर्नुभयो । गरिब, अभावमा बाँचेका , दलित मधेसी, जनजाति, आदिवासी ती सबैले अब त हाम्रै सरकार आयो, गरिबको कम्युनिस्ट सरकार आयो, अब केही हुन्छ भनेर सोचेका थिए । उहाँले ती सबै कुरालाई तुसारापात गर्नुभयो ।

धेरैले आफ्नो इतिहासको पुनर्लेखन गरेका छन् । गिरिजाबाबुले उत्तरार्द्धमा आएर प्रचण्डजीजस्तो बन्दुक बोकेको मानिसलाई राजनीतिमा ल्याउनुभयो, राजतन्त्र फाल्नुभयो र नयाँ इतिहास लेख्नुभयो । गणेशमानजीले जीवनको उत्तरार्द्धमा कम्युनिस्टसँग मिलेर ०४६ सालको जनआन्दोलन सफल बनाउनुभयो । त्यसपछि राजाबाट प्रधानमन्त्रीको अफर आउँदा अस्वीकार गरेर त्यागको नयाँ इतिहास लेख्नुभयो ।

यो देशमा विश्वेश्वरप्रसाद कोइरालाजस्ता, मनमोहन अधिकारीजस्ता मानिस पनि थिए भनेर जनताले सम्झन्छन् । तर, आफ्नै नयाँ इतिहास निर्माण गर्ने, कम्युनिस्ट पार्टीको नयाँ इतिहास बनाउने, जनताको आशा–भरोसालाई टिकाउने कुरामा प्रधानमन्त्री ओली असफल हुनुभयो । उहाँले राष्ट्रपतिसँग मिलेर विधि र विधान कुल्चनुभयो र कम्युनिस्ट आन्दोलनलाई विघटन र विखण्डनतर्फ लैजानुभएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।