कोरलिए गोहीका २६५ बच्चा
चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा २६५ वटा बच्चा कोरलिएका छन् । राप्ती र नारायणी नदी किनारबाट सङ्कलन गरिएका अण्डा प्रजनन केन्द्रमा लगेर कोरलिएको हो ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार राप्तीको दुधौरा, हात्तीडाँडी (खोरसोर) लगायतका क्षेत्रबाट २३८ वटा अण्डा सङ्कलन गरिएको थियो । नारायणी नदीको भेलौजी र शिसुवारबाट २१० वटा अण्डा सङ्कलन गरिएको हो । कूल ४४८ अण्डा सङ्कलन भएकामा ११ वटा न्याउरी मुसाले खाएको उहाँले जानकारी दिनुभयो ।
ती अण्डामध्ये १० अण्डा विदेशी अनुसन्धानकर्ताले इन्कुभेटरमा राखेका थिए । त्यहाँबाट सातवटा बच्चा र अन्यबाट २५८ वटा बच्चा कोरलिएका हुन् । कूल अण्डाको ५९ प्रतिशत बच्चा कोरलिएको अधिकारीले बताए ।
वैशाखको पहिलो साता अण्डा सङ्कलन गरिएको थियो । असार पहिलो साताबाट क्रमशः बच्चा कोरलिएका हुन् । प्रजनन केन्द्रमा गोहीका बच्चा हुर्काएर नदीमा छाड्ने गरिन्छ । राप्ती, नारायणीलगायतका नदीमा हालसम्म एक हजार ५१५ गोहीका बच्चा छाडिसकिएको छ ।
पछिल्लो गणनाअनुसार नेपालका नदीमा १९८ वटा गोही भेटिएका थिए । पानीको बहाव भारततर्फ जाने भएकाले यहाँ हुर्काएर नदीमा छाडिएका अधिकांश गोही भारत पुगेको बताइन्छ । हाल प्रजनन केन्द्रमा नयाँ बच्चाबाहेक ५०२ गोही छन् ।
प्रजनन केन्द्रमा भालेको अभावमा गोहीका बच्चा कोरलिन सकेका छैनन् । गत वर्ष र यस वर्ष अण्डा पारे पनि बच्चा नकोरलिएको निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए । उनका अनुसार प्रजनन केन्द्रमा १२ वटा वयस्क पोथी भए पनि भाले भने एउटा मात्रै छ । सो भाले विसं २०३५ यता रहेको उनको भनाइ छ ।
राप्ती नदीको दुधौरा क्षेत्रमा १८१ वटा बच्चा देखिएका छन् । अन्य क्षेत्रमा पनि प्राकृतिकरूपमा बच्चा कोरलिएको पौडेलले जानकारी दिए । निकुञ्जले केही अण्डालाई प्राकृतिकरूपमा छाडेर केहीलाई प्रजनन केन्द्रमा ल्याउने गर्दछ । विश्वमा नै लोप हुने अवस्थामा पुगेपछि नेपालले पनि गोहीको संरक्षण गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन