सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

क्युवामा दशकौंयताकै ठूलो प्रदर्शन, प्रदर्शनकारीसँग लड्न समर्थकलाई राष्ट्रपतिको आग्रह

मङ्गलबार, २९ असार २०७८, ०८ : ३४
मङ्गलबार, २९ असार २०७८

क्युवामा दशकौंयताकै ठूलो जनप्रदर्शन भएको छ । यसक्रममा दर्जनौं मानिसहरु समातिएका छन् । 

अर्थतन्त्रको कोल्याप्स तथा खाद्यान्न र औषधीको संकटपछि कम्युनिष्ट सरकारविरुद्ध जन प्रदर्शन सुरु भएको हो । यता, क्युवाका राष्ट्रपतिले प्रदर्शनकारीसँग लड्न आफ्ना समर्थकहरुलाई आदेश दिएका छन् । 

राजधानी हभानासहित क्युवाका अधिकांश स्थानमा प्रदर्शन भएका छन् । प्रदर्शनकारीहरुले ‘स्वतन्त्रता’ र ‘तानाशाही अन्त्य गरौं’ जस्ता नारा लगाएका छन् । 

सादा पोशाकमा रहेका सुरक्षाकर्मीको सहयोगमा प्रहरीले दर्जनौं प्रदर्शनकारीहरुलाई पक्राउ गरेको छ । प्रदर्शन चर्किएपछि क्युवामा केही समयका लागि इन्टरनेट बन्द गरिएको थियो । एशोसियटेड प्रेसका फोटोग्राफर रामोन स्पिनोसा यस प्रदर्शनमा घाइते भएका छन् । 

यस प्रदर्शनपछि राष्ट्रपति मिगुईल डियाज कानेलले राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै संकटका लागि अमेरिका जिम्मेवार रहेको आरोप लगाएका छन् । 

सन् १९६२ यता अमेरिकाले लगाउँदै आएको कडाखाले नाकाबन्दी आर्थिक सकसको कारण रहेको उनले बताए । उनले देशमा अस्थिरता निम्त्याउनका लागि अमेरिकाबाट भाडामा प्रदर्शनकारी ल्याइएको दाबी पनि गरे । 

उनले आफ्ना समर्थकहरुलाई क्रान्तिको रक्षा गर्न आग्रह गरे । क्युवामा १९५९ मा भएको आन्दोलनले कम्युनिष्ट सत्ता स्थापना गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप