बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

निषेधाज्ञाका बाबजुद बस सञ्चालन गर्ने चेतावनी

सोमबार, २८ असार २०७८, २० : ३२
सोमबार, २८ असार २०७८

 पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले आगामी बिहीबारदेखि लामो दुरीका बस सञ्चालन गर्ने तयारी थालेको छ । स्थानीय प्रशासनले निषेधाज्ञा थप हुने वा नहुने भन्ने निर्णय गर्न बाँकी रहे पनि व्यवसायीहरुले बिहीबारदेखि लामो दुरीका सेवा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

लामो समयसम्मको निषेधाज्ञाले व्यवसायी र मजदुरको अवस्था नाजुक भएकाले बाध्य भएर सार्वजनिक सवारी सञ्चालन गर्न बाध्य भएको व्यवसायीको भनाइ छ ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि अध्यक्ष योगेन्द्रबहादुर केसीले आउँदो बिहीबारदेखि लामो दुरीका सवारी सञ्चालन हुने जनाए । सरकारले लागु गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण रुपमा पालना गरी बस सञ्चालन गरिने उनको भनाइ छ ।

निषेधाज्ञा लम्बिएको अवस्थामासमेत आफूहरुले बस सञ्चालन गर्ने उनले बताए । बस सेवा सञ्चालन गर्दा प्रशासनले गिरफ्तार गरे आफूहरु गिरफ्तारी दिन पनि तयार रहेको भन्दै उनले निषेधाज्ञाका बीच निजी सवारी साधनलाई सञ्चालन गर्न दिने तर लामो दुरीका सार्वजनिक सवारी सञ्चालन गर्न नदिने राज्यको नीति नै पूर्वाग्रहपूर्ण रहेको आरोप लगाए ।

‘निजी सवारी साधनमा कोरोना नसर्ने, अनि हामीले चलाउने सार्वजनिक गाडीमा मात्रै कोरोना सर्ने ? त्यस्तो त दुनियाँमा कहीँ पनि हुँदैन,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

उनले कम्पनीमा रहेका १ हजार ४ सय सवारी साधनका मालिक र मजदुरको रोजीरोटी खोसिने अवस्था सिर्जना भएको पनि दुखेसो गरे । लामो समयदेखि बस ग्यारेजमा थन्क्याउँदा मजदुरहरुको रोजीरोटी र बैंक तथा बित्तीय संस्थाको दबाबले आफूहरुलाई समस्या भएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप