बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

प्रतिगमनको हार भएको छ : उपेन्द्र यादव

पञ्चायती व्यवस्था अन्त्यको खुशी जस्तै जनता खुशी छन् : रामेश्वर राय यादव
सोमबार, २८ असार २०७८, १५ : ४९
सोमबार, २८ असार २०७८

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतको आजको आदेशले संघीयता, लोकतन्त्र र संविधानको रक्षा भएको प्रतिकृया दिएका छन् । विपक्षी गठबन्धनका नेता समेत रहेका अध्यक्ष यादवले सर्वोच्चको आदेशपछि रातोपाटीलाई प्रतिकृया दिँदै भने, ‘एकपटक पुनः प्रतिगमनको हार भएको हो र अग्रगमनको जित भएको छ ।’ प्रतिगमनकारीहरुले अझै षड्यन्त्र गर्न सक्नेतर्फ सचेत गराउँदै उनले त्यसका लागि सतर्क रहनुपर्ने बताए ।

उनले अब गठबन्धनले संविधान, लोकतन्त्र र संघीयताको रक्षाका लागि काम गर्ने स्पष्ट पारे । ‘गठबन्धनको काँधमा ठूलो जिम्मेवारी आएको छ, देशमा देखिएको अन्योलतालाई अन्त्य गरी सुशासन कायम गर्ने अभिभारा गठबन्धनको काँधमा आएको छ, गठबन्धनको अगामी यात्रा सहमति र सहकार्यको आधारमा अघि बढ्छ’ अध्यक्ष यादवले भने ।

त्यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सदस्य रामेश्वर राय यादवले सर्वोच्च अदालतले लोकतन्त्रको रक्षा गरेर जनताको विश्वास जितेको प्रतिकृया दिए । उनले संसद विघटन भएपछि देशमा एकखालको अन्योलता देखिएको र त्यसलाई अन्त्य गर्नका लागि सर्वोच्चको आदेशले महत्वपूर्ण भूमिका खेलेको प्रतिकृया दिए । 

अदालतको आदेशले एमाले अध्यक्ष केपी शर्मा ओली युगको अन्त्य भएको उनको भनाई छ । ओलीको निरंकुश शासनबाट जनता मुक्त भएकोमा देशमा खुसीयाली छाएको उनले बताए । ‘२०४६ मा निरंकुश पञ्चायती व्यवस्था र २०६२ मा शाही शासनबाट मुक्त हुँदा जसरी जनता खुशी भएका थिए, त्यसरी नै आज ओलीको शासनबाट मुक्त हुँदा नेपाली जनता खुशी भएका छन्’ उनको भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप